हैदरावादलाई हराउँदै सन्दीपको दिल्ली दोस्रो स्थानमा उक्लियो

तस्बिरः एजेन्सी

नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले हैदारावादलाई हराउँदै १२औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ।

आइतबार सनराईजर्स हैदरावादलाई ३९ रनले हराउँदै सन्दीपको टिम दिल्ली लिगको दोस्रो स्थानमा उक्लिएको हो। यद्यपि हैदरावादविरुद्ध सन्दीपले प्लेइङ सेटमा खेल्ने मौका पाएनन्।

हैदरावादस्थित राजिब गान्धी क्रिकेट मैदानमा दिल्लीले दिएको १५६ रनको लक्ष्य पछ्याएको घरेलु टोली १८.५  ओभरमा अलआउट हुँदै ११६ रनमा समेटियो।

हैदरावादका डेभिड वार्नरले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङस र जोनी बियर्स्ट्रोले ४१ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्।

अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

हैदारावादलाई रोक्न दिल्लीका कागिसो राबदाले सर्वाधिक ४ विकेट लिए।यस्तै क्रिस मोरिसले १८औं ओभरको खेलमा एकै ओभरमा तीन विकेट लिएका थिए।सन्दीपको स्थानमा खेलेका किमो पाउलले पनि किफायती बलिङ गर्दै ४ ओभरमा १७ रन खर्चिएर ३ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको थियो।

दिल्लीका लागि कप्तान श्रेयस आयरले ४५ तथा कोलिन मुन्रोले ४० रन बनाए। ऋषब पन्तले २३ रन जोड्दा अक्षर पटेल १४ रन बनाएर नटआउट रहे।

हैदरावादका खालिद अहमेदले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिए।

यो जीतसँगै दिल्लीले लिगमा आठ खेलबाट पाँचौ जीत दर्ता गरेको छ।३ खेलमा हारेको दिल्लीले १० अंक जोड्दै शीर्ष स्थानको चेन्नई सुपर किङ्ससँगको अंक दूरी छोट्याएको छ। शीर्ष स्थानमा रहेको चेन्नईको समान खेलबाट १४ अंक पुगेको छ।

दिल्लीसँग पराजित हैदरावाद चौंथो हार व्यहोर्दै ७ खेलबाट ६ अंक जोडेर छैठौं स्थानमा छ।

प्रकाशित मिति: : 2019-04-15 00:18:37

प्रतिकृया दिनुहोस्