कर्णाली प्रिमियर लिगः मध्यपश्चिम र एपीएफ विजयी, लिगमा राहुलको ह्याट्रिक

तस्बिरः बिएल

सुर्खेतमा जारी कर्णाली प्रिमियर लिग–२ अन्तर्गत चौथो दिन मध्यपश्चिम क्रिकेट क्लब र शशस्त्र प्रहरी बल (एपीएफ) विजयी भएका छन्।

चौथो दिनको पहिलो खेलमा लालीगुराँस क्रिकेट एकेडेमीलाई ७ विकेटले हराउँदै मध्यपश्चिम क्रिकेट क्लबले जित हात पार्दा दोस्रो खेलमा न्यू होराईजन बुटवललाई ३८ रनले पराजित गर्दै शशस्त्र प्रहरी बल (एपीएफ) लगातार तेस्रो जित निकाल्यो।

पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको लालीगुराँसले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १११ रन बनाएको थियो। लालीगुराँसको लागि ब्याटिङमा प्रकाश पटेलले सर्वाधिक ३० तथा धनुष थापाले १८ रन बनाएका थिए।

मध्यपश्चिमका आकाश बिस्ट र अजय साहनीले ३/३ विकेट लिए।

११२ रनको लक्ष्य मध्यपश्चिम क्रिकेट क्लबले ३ विकेट गुमाएर १६.१ ओभरमा पूरा गर्‍यो ।

मध्यपश्चिमलाई जिताउन शैलेन्द्र यादवले अविजित ५३ तथा बिशाल गुप्ताले अविजित ४५ रन बनाए। सैलेन्द्रले ३५ बलमा ९ चौका र १ छक्का तथा बिशालले ४३ बलमा ५ चौका प्रहार गरे ।

यस्तै आजै भएको दोस्रो खेलमा एपीएफले टस जितेर पहिले ब्याटिङ गर्दै दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा न्यू होराइजनले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन मात्रै बनाउन सक्यो।

न्यु होराइजनका ब्याट्सम्यान सुरज दराईले ४० तथा निश्चल चौधरीले २१ रन बनाएका थिए। दराईले ३७ बलमा ४ चौका र १ छक्का प्रहार गरे। एपीएफको लागि बलिङमा यज्ञमान कुमालले सर्वाधिक ३ विकेट तथा भुवन कार्की र शरद भेसावकरले समान २/२ विकेट लिए।

यसअघि एपीएफले २० ओभरमा ८ विकेट गुमाएर १५३ रनको योगफल तयार गरेको थियो। उसको लागि शंकर रानाले सर्वाधिक ४८ रन तथा शरद भेसावकरले ४१ रन बनाए। शंकरले आक्रामक इनिङ खेल्ने क्रममा २८ बलमा ४ छक्का र १ चौका प्रहार गरे भने शरदले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गरे। अनिल साहले २६ रन बनाए।

न्यु होराइजनका बलर राहुल प्रजापति र अर्जुन रायमाझीले समान ३/३ विकेट लिए । राहुलले ३ विकेट लिने क्रममा १९ औं ओभरमा ह्याट्रिक विकेट लिएका थिए। त्यस क्रममा उनले अमर सिंह रौटेला, सन्दिप जोरा र सुमित महर्जनलाई ओभरको चौथो, पाँचौ र छैठौं बलमा आउट गरेका थिए।

प्रकाशित मिति: : 2019-04-29 00:37:34

प्रतिकृया दिनुहोस्