 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
सयपत्री फूलले बारी पहेँलपुर भैसकेको थियो। आकाश नीलाम्मे थियो।
यसो भनौं, तिहारको रमझम सुरू हुनै लागेको थियो। हामी (हल्याण्डका २ मित्र र म) गुरिल्ला पदमार्ग हुँदै रोल्पाको थवाङ गाउँ पुग्दा मध्य दिन, घाम झलल लागिररहेको थियो। सधैं चहलपहल देखिने गाउँ अलिक सुनसान लाग्यो। पर्वले छोपेका बेला किन सुनसान भयो, बुझ्न सकिनँ।
थबाङ विद्रोही चेतनाले ओतप्रोत गाउँ। थुपैं बिद्रोही जन्माएको छ यसले। क्रान्तिको बिगुल फुक्ने गाउँ। गाउँलेको सहासको कथा बेग्लै छ। यतिबेला म यस क्षेत्रको स्वास्थ्य सेवामा जुटिरहेका डा.र्युचिकी इशिदाको कुरा गर्दैछु।
केही समय अघि मैले यात्रा (बुद्व एयरको इन्फ्लाइट म्यागेजिन) मा उनको विषयमा लेखेको थिएँ। त्यो स्टोरी पढेका हल्याण्डका मित्र उनलाई भेट्न आतुर थिए। मलाई पनि भेट्नु थियो। किनभने पुरानो नै सही, उनलाई यात्रा म्यागेजिन दिनु थियो। सबैभन्दा ठूलो कुरो, उनको कथा सुनेर झन् प्रेरित हुनु थियो।
काठमाडौंबाट हिँडेको चौंथो दिनमा थवाङ पुगे लगत्तै होमस्टेमा झोला बिसाएर हामी सोझैं अस्पतालतिर लाग्यौं। चाड परेकाले होला, त्यहाँ भीड थिएन। डा. इशिदा क्टवाटरमै रहेछन्। खुसी लाग्यो उनलाई भेट्न पाउँदा।
मैले दुवै हात जोडेर भनें, ‘मोशी मोशी।’
मन्द मुस्कान छर्दै उनले पनि हात जोडे– मोशी ! मोशी, नमस्ते।’

सन् १९९३ मा श्रीमती र छोरीसहित डाक्टर इसिदा जापानमा
हामी आँगनमा राखिएको काठे बेन्चमा बस्यौं। मैले साथीहरूसँग उनको परिचय गराएँ। डाक्टरलाई म्यागेजिन दिएँ। उनले खुसी हुँदै पल्टाए।
केही वर्षअघि पहिलोपटक भेट्दा नै मैले उनको कथा सुनेको थिएँ। सुनेको मात्र होइन, प्रभावित बनेको थिएँ। जापानको सुख त्यागेर बर्सेनी नेपाल आउँछन् उनी। केही महिना यतै थबाङतिरै बस्छन्। रोगीको उपचार गर्छन्। र, फर्कन्छन्।
समाजसेवी त हुँदै हुन्, बोली बचन पनि कति नम्र ! उनका कुरा सुन्दा घन्टौं बितेको पत्तै हुन्न। जबजब उनलाई भेट्छु, श्रद्धाले शीर झुक्छ। मुलुकमा केही गरौं भन्ने भावना जाग्छ।
उनी हाड तथा जोर्नी बिशेषज्ञ हुन्। लामो समय जापानमा चिकित्सा क्षेत्रमा काम गरेपछि उनको रिटायर्ड लाइफ थबाङमा बित्दै आएको छ। त्यसो त घुम्नै भनेर उनी २१ वर्षको उमेरमा पहिलो पटक नेपाल आएका थिए। त्यतिबेलै नेपालसँग उनको पिरती बस्यो। तर, नेपालको सेवा गर्ने वातावरण भने अवकास पछि मात्र मिल्यो।
हिजोका कुरा गर्दा हिँडेरै पाल्पा, बागलुङ, रोल्पा, रुकुम, जाजरकोट र जुम्लासँग पुगेका कथा सुनाउँछन् उनी। महिनौंसम्म हिँडेका अनुभव छन्। पोखरादेखि तानसेनसम्म कालीगण्डकीको तिरैतिर ५ दिन हिँडेको क्षण पनि आलै छन्।
स्वस्थ्य सम्बन्धी अध्ययन अनुसन्धानको सिलसिलामा नेपालको ग्रामीण भेगमा न्यूनतम स्वास्थ्य सुविधा पनि नपुगेको देख्दा उनलाई दुःख लाग्यो। त्यसैले ग्रामीण जनतालाई सेवा दिने भावना उनभित्र जागृत भयो। उनले विगतमा तानसेन मिसन हस्पिटल, रुकुमको चौरजहारी र रोल्पाकै घोरनेटीको स्वास्थ्य संस्थामा पनि स्वयंसेवी भएर काम गरे। थबाङ आएपछि उनको मनले भन्यो, ‘तिमीले यतै बसेर सेवा गर्नु पर्छ।’
थबाङ नै किन रोजेको ?
मेरो जिज्ञासामा उनी खुल्दै गए ‘यहाँ जनजातिको बाहुल्यता छ। सोझा एवं इमान्दार मगर र दलित समुदायको बसोबास छ। र, राज्यको नजरबाट टाढा रहेको, स्वास्थ्य सेवाबाट बञ्चित भएको ठाउँ भएकाले।’
पहिलोपटक उनी थबाङ आउँदा यहाँ सानो सरकारी स्वास्थ्य केन्द्र थियो। सिमित जनशक्ति र औषधि थियो। गाउँलेहरू बिरामी बोकेर दुई दिन लगाएर सहर पुग्नुपर्ने बाध्यता थियो। कतिपय त बाटोमै बित्थे। यस्तो कारूणीक कथा सुनेपछि उनको मन थबाङमै टक्क अडियो। .
गाउँमा विसं २०६७ मा मन प्रसाद बुढाको अध्यक्षतामा जलजला स्वास्थ्य सहकारी संस्था स्थापना भयो। विसं २०६९ मा जयप्रकाश रोका मगरको अध्यक्षतामा जलजजला सामुदायिक स्वास्थ्य केन्द्र बन्यो। र, २०७३ सालमा विन प्रसाद पुनको अध्यक्षतामा जलजला सामुदायिक अस्पताल र अनुसन्धान केन्द्रमा रुपान्तरण भयो।
अस्पतालका इन्चार्ज राककुमार बुढा मगरका अनुसार यसको स्थापना कालदेखि नै डा. इशिदाको योगदान महत्वपूर्ण रहँदै आएको छ। उनले जापानमा अबकाश पछि पाएको रकममा थपथाप पारे। बेलायती गोर्खा सैनिकले पनि हातेमालो गरे। थवाङीको सहयोग र सक्रियतामा आज अस्पतालको रुपमा सञ्चालन गर्ने अबस्था आउनु सुखद् विकास क्रम हो।
अस्पतालमा ओपिडी, फार्मेसी, ल्याब, मिनि ओपेरेसन थियटर, एक्स–रे, भिडियो एक्स–रे र वार्ड सुविधा छ। आवश्यक उपकरण जुटाउन डा. इशिदाले निकै मेहेनत गरेका छन्। आज अस्पताल थबाङ गाउँपालिकाको स्वामित्वमा छ। निकट भविश्यमै १५ शैय्याको बेड राख्ने तयारी भैरहेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती मगरले बताए।
अस्पताल र डा. इशिदाको स्वस्थ्य सेवा सुनेर हल्याण्डका मित्रहरू भावुक बने। नेपालको अबस्था कस्तो छ भने सरकारी दरबन्दीका डाक्टर समेत दुर्गम जिल्लाका सदरमुकाममा रहेका अस्पतालमा सरुवा भएर जान मान्दैनन्। तर, डा. इशिदा जापानको सुख र आधुनिकता त्यागेर कुनाको एउटा गाउँमा सेवा गर्दैछन्। साँच्चै थबाङका भगवान हुन् उनी।
रिटायर्ड लाइफमा नेपाल आएर डा. र्युचिकी इशिदा रोल्पालीको उपचारमा खटिइरहेका छन्। उनी थवाङी जनताका देवता हुन्। ७२ वर्षको उमेरमा समेत उत्तिकै सक्रिय इशिदालाई भेट्दा श्रद्धाले शीर झुक्छ।
हिजो भन्दा आज विकास हुँदैछ। रोल्पाको सदरमुकाम लिवाङ र दाङ जिल्लाबाट थबाङ सडक सञ्जालमा सजिलो भए पछि केही सजिलो भएको अनुभव सुनाए इशिदाले। ‘अचेल हामी प्राथमिक उपचार गरेर गम्भीर बिरामीलाई नजिकका सहरमा रिफर गछौं’, उनले भने, ‘सबै स्थानीयको सहयोगले हामी यहाँसम्म आइपुगेका छौं। यसमा अस्पतालका इन्चार्जसमेत रहेका अहेब राजकुमार बुढा मगरको ठूलो साथ मिलेको छ।’
 
इशिदाको परिवार जापानमै बस्छ। उनकी श्रीमती, तीन छोरा र १ छोरी छन्। वर्षका केही महिना उनी श्रीमतिसँग जापानमा बिताउँछन्। उनको नेपाल प्रेमबाट चकित भएर छोराछोरी रोल्पा घुम्न आइसके। ‘बाबा के गर्दैछन्, कस्तो ठाउँमा बसेका छन् भनेर हेर्न आएका’, इशिदा मुस्कुराए। श्रीमति पनि एकचोटि यहाँ आइसकेको बताए।
डा. इशिदाको बुढेसकाल उदाहरणीय बनेको छ। उनी बेलाबेलामा छिमेकी जिल्ला रुकुम (पूर्व) को झुम्लाबाङ पुगेर स्वास्थ्य सेवा दिन्छन्। झुम्लाबाङ भिलेज फाउडेशनको सहकार्यमा निःस्वार्थ सेवा गर्छन्। फाउन्डेशनका कार्यकारी निर्देशक अजय मगर भन्छन्, ‘डा. इशिदा हाम्रा भगवान हुन्।’
थबाङमा नुमना चिकित्सा अध्ययन केन्द्र बनाउने सपना देखेका रहेछन् उनले। कुराकानीको बिट मार्ने बेला मैले उनलाई सोधें, ‘भविश्यको बारेमा के सोच्नु भएको छ?’
‘अन्तिम सास रहुँन्जेल यहाँका बिरामीको सेवा गर्न पाउँ’, उनले मुस्कुराउँदै डाँडातिर इशारा गरे, ‘ यही थवाङको डाँडातिर यो शरीरले आराम लिन पाओस्।’ उनको चाहना पुरा होस्।
निस्वार्थ खटिएका डा. इशिदा थबाङका मेडिकल मशिहा हुन्। दुर्गममा स्वास्थ्यको दियो जलाउने भगवान हुन्। हरेक थबाङीले उनलाई मनैदेखि सम्मान गर्छन्। अब राज्यले पनि उनको योगदानको मुल्याङकन गरेर राष्ट्रिय सम्मान दिनुपर्छ।
अस्पतालबाट फर्कने बेला मेरो मनले सोध्यो–थबाङ गाउँपालिकाले यस अस्पतालको नाम ‘डा. र्युचिकी इशिदा अस्पताल’ भनेर नामाकरण गरिदिए उनको योगदानको कदर हुन्थ्यो !
डा. इशिदा ! हाम्रो मन मुटुमा तिमीप्रति अथाहा श्रद्धा छ। हाम्रो माया तिमीले पाइरहनेछौ। तिमीलाई हृदयभरिको धन्यवाद !
आरिगतो गोजाई माशिता डाक्टर साब।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया