पाँचौ जितसहित विराटको बेंगलोरले आइपिएल टुंग्यायो, हैदरावादलाई धक्का

तस्बिरः एजेन्सी

विराट कोहलीको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बेंगलोरले भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा सुखद अन्त्य गरेको छ।

शनिबार घरेलु मैदानमा भएको रोमाञ्चक खेलमा सनराइजर्स हैदरावादलाई ४ विकेटले हराउँदै प्रतियोगिताको सुखद अन्त्य गरेको हो।

१ सय ७६ रनको लक्ष्य पछ्याएको बेंगलोरले ४ बल बाँकि छँदैमात्र ६ विकेट गुमाएर भेट्टायो।

बेंगलोरको जितमायुवा खेलाडी शिम्रन हिटमायरले ७५ रनको उत्कृष्ट इनिङ्स खेले। ४७ बल खेलेका उनले ४ चौका र ६ छक्का प्रहार गरेका थिए।

चौथो विकेटका लागि गुरकीरतसिंह मान र हिटमायरले १ सय ४४ रनको कीर्तिमानी साझेदारी गरेपछि हैदरावाद पराजित हुन पुगेको हो। चौथो विकेटका लागि गरेको यो आईपीएलको इतिहासमै उच्च साझेदारी हो ।

उत्कृष्ट ब्याटिङ गरेका गुरकीरतसिंह ४८ बल खेलेर ८ चौका र १ छक्का प्रहार गर्दै ६५ रनमा आउट भए।

खराब सुरूवात गरेको बैंलोरको एक समय २० रनमै ३ विकेट गुमाएको थियो।

पहिलो ओभरको तेस्रो बलमै पार्थिव पटेल शून्य रनमा आउट भए। दोस्रो ओभरको पाँचौ बलमा कप्तान विराट कोहली ७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १६ रन जोडेर आउट भए। एक ओभरपछि एवी डि भिलियर्स पनि १ रनमा आउट भएपछि बैंलोर धरमराएको थियो। तर गुरकीरतसिंह मान र हिटमायरले सतकीय कीर्तिमानी साझेदारी गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए।

हैदरावादका खलिल अहमदले ३ विकेट लिँदाभुवनेश्वर कुमारले २ र राशिद खानले १ विकेट लिए।

यसअघि बेंगलोरको घरेलु मैदान चिन्नास्वामी स्टेडियमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो ।

हैदरावादका लागि कप्तान केन विलियम्सनले अर्धसतकीय इनिङ्स खेले। ४३ बल खेलेका उनले ५ चौका र ४ छक्कासहित ७० रनमा नटआउट रहे।

विलियम्सन बाहेक हैदरावादका अन्य कुनै पनि ब्याट्सम्यानले जिम्मेवारीका साथ ब्याटिङ गर्न सकेनन् । सर्वाधिक रन बनाउने ओपनर डेविड वार्नर र जोनी बयरस्टो अष्ट्रेलिया फर्किएपछि हैदरावाद ठूलो समस्यामा पर्‍यो।

रिद्धीमान शाहले २० रन जोड्दा मार्टिन गुप्टिल ३० रनमा आउट भएका थिए। मनिष पान्डे ९ र विजय शंकर २७ रनमा आउट भए।मोहम्मद नाबी ठूलो शट खेल्ने धुनमा ४ रनमा क्याच आउट भएका थिए।

बेंगलोरका वाशिन्टन सुन्दरले ३,नन्दीप सैनीले २,युजवेन्द्र चाहलले १ विकेट लिए ।

योसँगै हैदरावादको अघिल्लो चरण प्रवेश सम्भावना कठिन बनेको छ। आईतबार मुम्बईसँग कोलकता फराकिलो अन्तरले पराजित भए नेट रन रेटमा हैदरावाद र कोलकता मध्ये एक टोली प्ले अफ पुग्नेछ। कोलकता विजयी भए हैदरावादको अघिल्लो चरण समाप्त हुनेछ।

चेन्नई,मुम्बई र दिल्ली प्ले अफमा पुगिसकेका छन् । बेंगलोरले १४ खेलमा ५ मा जित र ८ मा हारका साथ सातौं स्थानमा रहँदै यो संस्करणको आईपीएल अन्त्य गरेको छ।

प्रकाशित मिति: : 2019-05-05 00:31:43

प्रतिकृया दिनुहोस्