नवरात्री महिमा

दशैंको आठौँ दिनकी देवी– महागौरी

श्वेते वृषे समारुढा श्वेताम्बरधरा शुचीः।

महागौरी शुभं दद्यान्महादेवप्रमोददा।।

माता दुर्गाको आठौं शक्तिको नाम महागौरी हो। यिनको वर्ण पूर्णतः गौर छ। यस गौरताको उपमा शङख, चन्द्र र कुन्दको फूल समान मानिएको छ। यिनको आयु आठ वर्षको मानिन्छ– अष्टवर्षा भवेद् गौरी। यिनका समस्त वस्त्र तथा आभुषण आदि पनि श्वेत छ। यिनका चार भुजाहरु छन।

यिनको वाहन वृषभ हो। यिनको दाहिने तर्फको माथिलो हातमा अभय मुद्रा तथा तल्लो हातमा त्रिशूल छ। त्यस्तै देब्रेतर्फको माथिलो हातमा डमरु छ भने तल्लो हातमा अभय मुद्रा छ। यिनको मुद्रा अत्यन्त शान्त छ। आफ्नो पार्वती रुपमा यिनले भगवान शिवलाई पतिरुपमा प्राप्त गर्नको लागि कठोर तपस्या गरेकी थिइन। यिनको प्रतिज्ञा थियो –ब्रियेडहं वरदं शम्भुं नान्यं देवं महेश्वरात(नारद पाञ्चरात्र)। यस कठोर तपस्याको कारण यिनको शरीर कालो हुन गएको थियो। यिनको त्यस कठोर तपस्याबाट प्रसन्न र संतुष्ट भएर भगवान शिवले यिनको शरीरलाई गाङ्गाजीको पवित्र जलले मलेर धुँदा यिनका अङ्गहरु विद्युत प्रभाको समान अत्यन्त कान्तिमान –गौर–हुन पुग्यो। त्यसै बेलादेखि यिनको नाम महागौरी प्रचलित भयो।

नवरात्रको आठौं दिन महागौरीको पूजा अराधनाको विधान छ। यिनको शक्ति अमोघ तथा सद्यः फलदायी छ। यिनको उपासना गर्नाले भक्तहरुको सम्पूर्ण कल्मषहरुको नाश हुन्छ भन्ने मान्यता छ। भक्तहरुको पूर्व संचित पापहरु विनष्ट भईहाल्दछ। भविष्यमा पाप–संताप, दैन्य–दुःख उसको नजिक आउदैन। भक्त सबै प्रकारले पवित्र तथा अक्षय पुण्यहरुको अधिकारी बन्न पुग्दछ। माता महागौरीको ध्यान, स्मरण, पूजा अराधना भक्तहरुको लागि सर्वविध कल्याणकारी छ। यिनको कृपाले अलौकिक सिद्धिहरुको प्राप्ति हुन्छ। यिनी भक्तहरुका कष्टहरुलाई अवश्य हरण गर्दछिन्। यिनको अराधना गर्नाले आत्र्तजनहरुको असम्भव काम पनि सम्भव हुन पुग्दछ। पुराणहरुमा माता महागौरीको महिमाको व्यापक बखान गरिएको पाइन्छ। माता महागौरी मानिसको वृतिहरुलाई सत्तिर प्रेरित गरेर असत्को विनाश गर्दछिन।

मन्त्रजपको सम्बन्धमा शिवजी भन्नु हुन्छ–शृणुदेवी प्रवक्ष्यामी कुञ्जिकास्तोत्रमुत्तमम्। येन मन्त्रप्रभावेण चण्डीजापः शुभो भवेत्।। कवच, अर्गला, कीलक, रहस्य, सूक्त, ध्यान, यहासम्म कि अर्चन पनि आवश्यक छैन। केवल कुञ्जिकास्तोत्रको पाठले नै दुर्गा पाठको फल प्राप्त भईहाल्छ। यो मन्त्र गुप्त तथा देवताहरुको लागि पनि दुर्लभ छ। हे पार्वती, यसलाई स्वयोनिझैं प्रयत्नपूर्वक गुप्त राख्नु पर्दछ। यस उत्तम कुञ्जिकास्तोत्रको केवल पाठ मात्रद्वारा नै मारण, मोहन, वशीकरण, स्तम्भन तथा उच्चाटन आदि आभिचारिक उदेश्यहरुलाई सिद्ध गर्न सक्दछ। मन्त्र यस प्रकार छ–ॐ ऐं हीं  क्लीं चामुण्डायै विच्चे।। ॐ ग्लौं हुं क्लीं जूं सः ज्वालय ज्वालय ज्वल ज्वल प्रज्वल प्रज्वल ऐं हीं क्लीं चामुण्डायै विच्चे ज्वल हं सं लं क्षं फट् स्वाहा।। यस मन्त्रमा आएका बीजहरुको अर्थ जान्न न त  संभव छ, न आवश्यक, न वाञ्छनिय। केवल जाप मात्र प्रर्याप्त छ।

यस स्तोत्रको प्रति दिन प्रातः कालमा जाप गर्नाले सबै बाधा–विघ्नहरुको नाश हुन्छ। सिद्धकुञ्जिकास्तोत्र र देवीसूक्तको साथमा सप्तशतीको पाठ गर्नाले परम सिद्धि प्राप्त हुन्छ। मारण–कामक्रोधनाश, मोहन–इष्टदेवमोहन, वशीकरण–मनको वशीकरण, स्तभन–इन्द्रियहरुकोसांसारिक विषयहरुप्रति उपरति तथा उच्चाटन–मोक्षप्राप्तिकोलागि छट्पटी यी जम्मै यस स्तोत्रको जाप गर्नाले सफल हुन्छन। हे माता –मत्समः पातकी नास्ति पापघ्नी त्वत्समा न हि। एवं ज्ञात्वा महादेवी यथायोग्यं तथा कुरु।।

प्रकाशित मिति: : 2022-10-03 06:05:00

प्रतिकृया दिनुहोस्