विश्व कप क्रिकेटका लागि बेलायततर्फ प्रस्थान गर्नुअघि भारतीय कप्तान विराट कोहलीले टिम इन्डियाको सबैभन्दा ठूलो प्रेरणाको श्रोत भारतीय सेना भएको बताएका छन्।
मंगलबार मुम्बईस्थित भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) को कार्यालयमा पत्रकारहरुको प्रश्नमा कोहलीले भने–तपाईहरु धेरै कुराबाट प्रेरणा लिन सक्नु हुन्छ। तर म सबैभन्दा बढी प्रेरणा भारतीय आर्मीबाट प्राप्त गर्दछु। जसरी भारतीय सेना देशको सेवामा जुट्ने गरेको छ, त्यसको तुलना हुनै सक्दैन।
विश्व कप क्रिकेट ३० मे देखि इंग्ल्यान्ड र वेल्सको संयुक्त आयोजनामा हुँदैछ। यसपालि भारतलाई उपाधिको दावेदार मानिएको छ। भारतले हालसम्म दुई पल्ट विश्व कप जितेको छ। अस्ट्रेलियाले सर्वाधिक ५ पल्ट उपाधिमा कब्जा जमाएको छ।
कप्तान कोहलीले विश्व कपको खेल खेल्दा आफ्नो दिमागमा भारतीय सेनाको बलिदान हुने बताए।
जम्मु कश्मीरको पुलवामा आतंकवादी आक्रमण हुँदा भारतीय क्रिकेट टिमले आफ्नो म्याच फी सेनाको शहिद परिवारलाई दिएका थिए। भारतीय टिमले अस्ट्रेलियाविरुद्ध भारतीय सेनाको टोपी लगाएर पनि क्रिकेट खेलिसकेको छ।
भारतीय टोली मंगलबार राती बेलायततर्फ लागेको थियो।