लालिगा च्याम्पियन बार्सिलोनाका लागि यो सिजन पीडादायी भएर सकिएको छ। कोपा डेल रे डिफेन्डिङ च्याम्पियन रहेको बार्साले त्यो उपाधि पनि जोगाउन सकेन। उसले कोपा डेल रेको उपाधि भ्यालेन्सियालाई २–१ ले सुम्प्यो।
शनिबार रियल बेटिसको मैदानमा भएको खेलमा भ्यालेन्सियाले पहलिो हाफमा नै दुई गोल गरेर अग्रता लियो। उसका लागि २१औँ मिनेटमा केविन गामेइरो र ३३औँ मिनेटमा रोड्रिगोले गोल गरेका थिए ।
पहिलो हाफमै २–० ले पछि परेको बार्साका लागि ७३ औँ मिनेटमा कप्तान मेस्सीले एक गोल फर्काए, तर त्यो गोल हार टार्न पर्याप्त भएन। अन्तत: कोपा डेल रे डिफेन्डिङ च्याम्पियन बार्साले भ्यालेन्सियालाई यो वर्षको उपधाधि सुम्यो।
बार्सा यो वर्ष च्याम्पियन्स लिग, कोपा डेल रे र ला लिगा तीनवटै उपाधि जित्न चाहन्थ्यो तर उसले लालिगामै चित्त बुझाउनु पर्यो।
च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा ३–० को अग्रता लिएर पनि दोस्रो लेगमा लिभरपुललाई नतिजा सुम्पेर सेमिफाइनलबाटै बाहिरिएको थियो भने कोपा डेल रे मा भ्यालेन्सियासँग फाइनलमा स्तब्ध भयो।
समग्रमा बार्सा र कप्तानका लागि यो सिजनको फुटबल नीलो पीडा दिएर बिदा भयो।