पाकिस्तानी कप्तान सरफराजले भने– चौथो नम्बरमा ब्याटिङ गर्दिन

Hindustan Times

पाकिस्तानी क्रिकेट टिमका कप्तान सरफराज अहमदले आफू चौथो नम्बरमा ब्याटिङ नगर्ने स्पष्ट पारेका छन्। 

शुक्रबार विश्व कपको ‘वार्म–अप’ खेलमा अफगानिस्तानसँग ३ विकेटले पराजित पाकिस्तानी कप्तान अहमदले भने, ‘चौथो नम्बरमा खेल्ने अन्य ब्याट्सम्यान पनि छन्।’

उनले पाँचौं नम्बरमा ब्याटिङ गर्ने बताए।

अफगानिस्तानविरूद्ध पाकिस्तानले ४७ दशमलव ५ ओभरमा २ सय ६२ रन बनाउने क्रममा सबै विकेट गुमाएको थियो। प्रत्युत्तरमा अफगानिस्तानले २ बल बाँकी रहँदा ७ विकेट गुमाएर लक्ष्य प्राप्त गर्यो।

उनले हारको कारण बताउँदै भने, ‘हामी १५–२० रन बढी बनाउन चुक्यौं।’

बाबर आजमले उत्कृष्ट ब्याटिङ गरेका थिए। उनले १० चौका र २ छक्काको सहयोगले १ सय १२ रन बनाएका थिए।

कप्तान अहमदले सुरुवातको १० ओभर खराब बलिङ भएको पनि बताए। उनले लगातारको पराजयले विश्व कप जित्ने आफ्नो अभियानमा धक्का लाग्न सक्ने आशंका पनि जनाए।

चौथों नम्बरमा ब्याटिङ गर्ने विषयलाई लिएर गरिएको प्रश्नमा सरफराजले भने, ‘यो अभ्यास खेल थियो। त्यसैले सबैले मौका पाउनु भन्ने उद्देश्य थियो। तर, मेरो हकमा म पाँचौं नम्बरमा ब्याटिङ गर्दा सजिलो अनुभव गर्छु। चौथो नम्बरमा हामीसँग राम्रा ब्याट्सम्यान छन्।’

अभ्यास खेलमा वहाव रियाजको प्रदर्शनबाट अहमद खुसी छन्। उनले भने,‘वहाव र मोहम्मद आमिर टोलीका दुई सफल र अनुभवी बलर हुन्। यसै कारण उनीहरूको छनोट भएको हो। वहावको प्रदर्शनबाट म खुसी छु।’

उनले ड्रेसिङ रुमको वातावरण राम्रो रहेको र एउटा जितले टिमको प्रदर्शन फेरिने बताए।

प्रकाशित मिति: : 2019-05-26 07:33:18

प्रतिकृया दिनुहोस्