भारतलाई हराएर पाकिस्तानले इतिहास रच्ने इन्जमामको दावी

तस्बिरः एजेन्सी

पाकिस्तानका पूर्व कप्तान तथा हालका मुख्य छनोटकर्ता इन्जमाम उल–हकले यसपालिको विश्व कपमा आफ्नो देशले भारतलाई पराजित गर्दै इतिहास रच्ने बताएका छन्।

उनले विश्व कपमा अहिलेसम्म भारतलाई जित्न नसकेको पाकिस्तानको इमेज परिवर्तन गर्न यसपालि सरफरराज अहमदको टोली सफल हुने विश्वास व्यक्त गरे।

भारत र पाकिस्तानबीच विश्व कपको खेल १६ जुन आइतबार हुँदैछ। पूर्व टेस्ट कप्तान इन्जमामले म्यानचेस्टरमा हुने खेल जितेर पाकिस्तानले इतिहास रच्ने दावी गरे।

उनले भने, ‘मानिसहरू भारत–पाकिस्तानको खेललाई गम्भीर रुपमा हेर्छन्। यसपालि धेरै जना पाकिस्तानले भारतलाई हराएको हेर्न इच्छुक छन्।’

उनले विश्व कपमा भारतविरूद्ध पराजयको लामो शृंखलालाई पाकिस्तानले भंग गर्ने विश्वास व्यक्त गरे।

पाकिस्तानबाट १ सय २० टेस्ट खेलेका इन्जमामले भारतलाई मात्र होइन, पाकिस्तान अन्य देशलाई पनि पराजय गर्ने ताकत राख्ने बताए। लगातार १० एकदिवसीय र पहिलो वार्म–अप म्याचमा पराजय भोगेको पाकिस्तान अहिले दवावमा छ। पाकिस्तान ३१ मेमा वेष्ट इन्डिजविरूद्ध पहिलो खेल खेल्दैछ।

पाकिस्तानले अन्तिम समय टिममा तीन खेलाडी परिवर्तन गरेको थियो। जसका कारण इन्जमाम आलोचनाको तारो बनेका छन्। उनले यस विषयमा टिप्पणी दिँदै भनेका छन्, ‘विश्व कप जस्तो प्रतियोगितामा राष्ट्रिय टोलीको छनोट गर्नु सजिलो काम होइन। सयौं खेलाडीबाट १५ जनाको छनोट गर्नुपर्ने हुन्छ। उदाहरणका लागि जुनेद खान, मोहम्मद आमिर र उस्मान खानलाई तपाईहरूले राम्रो बलिङ गरिरहेको देख्नु भएको छ।’

प्रकाशित मिति: : 2019-05-26 17:43:30

प्रतिकृया दिनुहोस्