भारतीय टिममा चौथो नम्बर ब्याटिङका लागि लोकेश राहुलको सम्भावना

Agency

विश्व कपको लागि करिब २ वर्षदेखि चौथो नम्बरमा खेल्ने ब्याट्सम्यानको खोजी गरिरहेको भारतले लोकेश राहुलको रुपमा चौथो नम्बरको ब्याट्सम्यान भेटेको छ।

मंगलबार कार्डिफमा बंगलादेशविरूद्ध चौथो नम्बरमा ब्याटिङ गर्न आएका राहुलले ९९ बलमा १ सय ८ रनको सतकीय इनिङ खेलेपछि विहिबारदेखि सुरु हुने विश्व कपमा उनी चौथो नम्बरमा उत्रिने सम्भावना बढेर गएको छ।

बंगलादेशविरूद्ध अभ्यास खेलमा भारत ९५ रनले विजयी भएको थियो। राहुल र पूर्व कप्तान महेन्द्रसिंह धोनीको सतकीय इनिङका कारण भारतले ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ५९ रन बनायो। यसमा राहुलले १२ चौका र ४ छक्का प्रहार गरेका थिए। बंगलादेश तीन बल खेल्न बाँकी रहेको अवस्थामा २ सय ६४ रनमै समेटियो।

भारतको जिमा स्पिनर कुलदीप यादव र युजवेन्द्रा सिंह चहलले ३–३ विकेट लिएका थिए। भारत आफ्नो पहिलो अभ्यास खेलमा न्युजिल्यान्डसँग ६ विकेटले पराजित भएको अवस्थामा मंगलबारको खेलले भारतीय खेलाडीमा आत्मविश्वास बढाएको छ।

भारतले विश्व कपअन्तर्गत पहिलो खेल दक्षिण अफ्रिकाविरूद्ध ५ जुनमा खेल्दैछ।

राहुल न्युजिल्यान्डविरूद्ध पहिलो खेलमा ६ रनमा आउट भएका थिए। बंगलादेशविरूद्ध उनले पुल कट र ड्राइभको उत्कृष्ट नमुना देखाएका थिए।

शिखर धवन (१) र रोहित शर्मा (१९)ं छिट्टै पवेलियन फर्किसकेको अवस्थामा राहुलले उत्कृष्ट खेल खेलेका थिए। अनुभवी विकेटकिपर धोनीले पनि १ सय १३ रन बनाए। कोहली (४७) र विजय शंकर (२) पनि छिट्टै आउट भइसकेको अवस्थामा भारतले १ सय २ रनमा ४ विकेट गुमाइसकेको थियो।

राहुलले पाँचौ विकेटका लागि धोनीसँग मिलेर १ सय ६४ रनको साझेदारी गरेका थिए। धोनीले पनि ७३ बलमा सतक बनाउँदा ८ चौका र ७ छक्का हिर्काएका थिए। धोनीले २ वर्षपछि सतक बनाएका हुन्। उनले पछिल्लो पल्ट २०१७ मा इंग्ल्यान्डविरूद्ध भारतको कटकमा सतक बनाएका थिए।

प्रकाशित मिति: : 2019-05-29 09:38:10

प्रतिकृया दिनुहोस्