कांग्रेस ब्रह्माण्डमा शेखर कोइराला: ‘नर्थ स्टार’ बन्ने अवसर

Break n Links
Break n Links

नीति र सिद्धान्त गिजोलिएर दिशाहीन गति समातेको नेपाली कांग्रेसले उसको इतिहास फर्केर हेर्नुपर्ने हो। तर त्यो दिशामा बहस र छलफल हुँदै भएको छैन। जुन सिद्धान्त बोकेर कांग्रेसको स्थापना भएको थियो, सत्ताको पराकम्पनले कांग्रेसको सिद्धान्तको जग हल्लिरहन्छ सधैं। 

कांग्रेसका पछिल्ला गतिविधि केवल सरकार केन्द्रित छन्। सत्तामुखी बनेको कांग्रेस के विपक्षमा बसेर संसदलाई उपयोग गर्नै नसक्ने भासमा डुबेको हो त? आम नागरिकको जनजिविका र व्यवस्था प्रति जनविश्वास कायम गराउन कांग्रेस किन धरमराएको छ।

नागरिक स्तरमा र कार्यकर्ताको तहमा यी सवालहरू उठिरहेका छन्। तर यस्ता विषयलाई सम्बोधन गर्नुको साटो नजरअन्दाज गरेर कांग्रेस किन अलमलको बाटोमा हिँडेको छ। 

केही दिन अघि कांग्रेसका केही पुराना नेताहरूले बदलिँदो परिवेशमा कोर्स करेक्सन गर्ने सुझाव कांग्रेसलाई दिएका छन्। सुझाव दिनेहरूमा कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङ, पूर्वमन्त्रीहरू ओमकारप्रसाद श्रेष्ठ, विपिन कोइराला, दीपकुमार उपाध्याय, पूर्वकेन्द्रीय सदस्यहरू लक्ष्मणप्रसाद घिमिरे, विनयध्वज चन्द, पूर्वराज्यमन्त्रीहरू रामचन्द्र अधिकारी, सुरेन्द्र हमाल र लोकेश ढकाल रहेकाछन्। के आफ्ना समकक्षी र अग्रजको सुझावलाई यतिबेलाको कांग्रेसले संज्ञानमा लिने प्रयास गर्ला त?

पटक पटक देशको समस्या समाधान र उपायको संवाहक भइसकेको कांग्रेस किन निदाए झैं गरिरहेको सुसुप्त अवस्थामा पुग्यो होला। लोकतन्त्र पक्षधर र स्वयं कांग्रेसका कार्यकर्ताहरूको चासोको विषय यही बनेको छ।
केही बेरलाई अलिकति फरक प्रसङ्गमा प्रवेश गराउँदैछु। खगोलको उत्तरी ध्रुवमा रहेको पोल स्टार अर्थात ध्रुव तारा वा नर्थ स्टार पृथ्वीबाट देखिने ४५ औं चम्किलो तारा हो। अन्तरिक्ष र पृथ्वीको खोज यात्राका लागि त्यो नर्थ स्टार महत्वपूर्ण स्थानमा रहेको मानिन्छ।

पृथ्वीबाट करिव ४ सय ४८ प्रकाश वर्षको दूरीमा रहेको ध्रुव ताराको महत्वका आयाम व्यापक छन्। खगोलविद र विज्ञान त्यस विषयमा गहन अध्ययन गरिरहेको छ।

पौराणिक आधारमा ध्रुव एक बाल थिए। जो भगवान विष्णुका परम भक्त थिए। उनको भक्तिबाट प्रसन्न भगवान विष्णुले उनलाई आकाशमा देखिनेगरी अमर बनाइदिए। ति ध्रुवको अर्थ अटल, अडिग र सँधै एकनासको रहने गुण बोकेको मानिन्छ।
यो प्रसङ्ग म यसकारण उल्लेख गर्दै छु कि आखिर सिद्धान्तमा स्खलन भईरहेको कांग्रेसलाई सहि बाटोमा डोर्याउने नेतृत्वको संकट हो वा पार्टीको विधान,नीति र रणनीतिमा समस्या आएको हो। यदी त्यसो हो भने कांग्रेसको आगामी नेतृत्वका लागि आकाङ्क्षीमध्ये डा.शेखर कोइरालामा कांग्रेसका लागि ध्रुव तारा बन्ने अवसर छ। त्यसका लागि चुौनौतिका अग्ला चाङ्ग पनि रहनेछन्। अटल,अडिग र सदावहार एकखालको चरित्र बोकेको नेतृत्व पात्रको खोजिमा छन कांग्रेसजनहरू पनि।

अघिल्लो महाधिवेशनमा सभापतिमा पराजित डा.कोइराला पार्टी वरियतामा निकै तल छन्। जसरी पृथ्वीबाट देखिने त्यो नर्थ स्टार उज्यालो र उसको चमकका आधारमा ४५ ओं स्थानमा गिन्ति हुन्छ। तर पनि उसको मौजुदगी खगोल विधामा रहस्मयी र महत्वपुर्ण रहँदै आएको छ। त्यसरी नै वरिष्ठताको वरियताको बोझ नबोकेका वा नपाएका कांग्रेस नेता डा.कोइराला कांग्रेसलाई पुनरताजगी गर्न नर्थ स्टार भएर उदाइरहेका त होईनन ? प्रश्न गहिरो छ,त्यतिकै पेचिलो पनि छ।

ध्रुवतारा न केवल एकल तारा हो। तराहरूको पुञ्जमा देखिने ताराहरूकै समुहको सामुहिक प्रतिनिधि हो नर्थ स्टार। जसरी ध्रुव ताराहरूको समुहमा  ३ वटा तारा रहन्छन। तिमध्ये पोलारिस ए,पोलारिस बि र पोलारिस एबी नर्थ सटारका साथ हुन्छन्। तिमध्ये ध्रुव तारालाई ध्रुवताराको त्यो चमक दिलाउन अन्य २ ताराहरूको साथ महत्वपुर्ण रहन्छ। अनि मात्रै नर्थ स्टार आफ्नो चमकताको अस्तित्वमा रहेको छ।

के त्यसरी नै आगामी महाधिवेशनबाट ध्रुवताराका २ सहयोगी झैं २ कुशल महामन्त्रीका पात्र छनौट गरेर अघि बढ्ने प्रयास गर्न सक्ने अवसर डा.कोइरालालाई उपलब्ध हुँदै गईरहेको छ त?   २ महामन्त्री विधान संवत छ कांग्रेसमा। त्यसकारण कांग्रेसको पार्टी मेकानिज्मको इन्जिन चलाउन २ महामन्त्री सिक्काका २ पाटा झैं बलिया हुनैपर्छ। 

खगोलिय स्थिरता र दिशा निर्धारणका हेतुमा ध्रुवतारा निकै महत्वको मानिन्छ। जसले समय र स्थानको निर्धारण गर्नमा सघाउँछ। सिद्धान्ततः भडकिएको कांग्रेस भित्र पनि दिशानिर्देश र समयको मागलाई सम्बोधन गर्ने अभिभाराका लागि डा.शेखर कोइराला उपयुक्त पात्र हुन सक्ने सम्भावना देखिन्छ।

समकालिन कांग्रेसको आन्तरिक राजनीतिमा श्रेणी विभाजनमा डा.कोइराला अलि पछी छिरेका भन्ने आरोप बेलाबखत परिवारवादका अन्य पात्रहरूबाट छेडिएको पनि हुन्छ। तर पार्टीमा वरिष्ठता र कनिष्ठता भन्दा पनि चलायमान र संगठनलाई गतिशिल बनाउने पात्रको आवश्यकता महत्वपुर्ण विषय हुनुपर्छ।

ध्रुव ताराका विषयमा ग्रिक, मिश्र र चीनमा वेग्ला वेग्लै किवंदन्ती र मिथक छन्। तर मुल सार समुन्द्रि यात्रुहरूका लागि दिशा निर्देश गर्ने नर्थ स्टारका रुपमा यसको महत्व उच्च स्तरको रहँदै आएको पाईन्छ।

यता नेपालको सन्दर्भमा देशमा प्रजातन्त्रका खातिर जन्मिएको कांग्रेस पनि एकखालको समुन्द्र झैं छ। कतिपय पात्रहरू समुन्द्ररुपी कांग्रेसको छालमा तैरिन्छन,डुब्छन वा किनारमा पर्छन्। सबै नेतृत्वमा कहाँ पुग्न सक्छन र। अथवा कांग्रेसको पार्टी सत्ताको मैन खाँबो सभापति चुनिने अवसर सबै सबैलाई कहाँ उपलब्ध हुन सक्ला। संगठनको त्रिवेणी खिचातानिमा सबै सबै कृष्णप्रसाद भट्टराई बहुदल पछी पनि सर्वसम्मत सभापति भएजस्तो कहाँ अब सम्भव हुनसक्ला। 
जसरी ध्रुव तारा अर्थात नर्थ स्टार उर्सा माइनर वा लिटिल डिपर नक्षेत्रको अंग हो। त्यही नक्षत्रमा सातवटा प्रमुख तारा रहन्छन्। तिमध्येको सबैभन्दा चम्किलो ध्रुव तारा नै हो।

कांग्रेस भित्र पनि सभापति आकाङ्क्षी पात्रहरूको कमी छैन्। तर तिमध्ये नर्थ स्टारको स्वरुपमा डा.शेखरको सक्रियता ध्रुवतारा झैं चम्किलो छ। जो कि विश्वासको लोभलाग्दो ग्राफ बोकेर कांग्रेसजनमा चिनिन्छन्। 

माथिको एउटा प्रसङ्गमा भनिए झैं भगवान विष्णु प्रसन्न भएर ध्रुवलाई अमर बनाए झैं के कांग्रेस कार्यकर्ताहरू डा.कोइराला प्रति प्रसन्न हुन सक्लान त? अथवा डा.कोइरालाले कार्यकर्ताहरूको विश्वास आगामी महाधिवेशबाट आर्जन गर्न सक्लान त? नेतृत्वमा स्थापीत हुन कमसेकम ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिको विश्वास आर्जन गर्नसक्नुपर्ने छ।

उसो त कांग्रेसका ध्रुव तारा त बिपी कोइराला नै हुन। र कांग्रेसीले प्रयाेग गर्नेगरेकाे कांग्रेसका लागि सदावहार ब्ल्याङ्क चेक पनि हुन् बिपी काेइराला। नारा जे बनाएपनि बिपी काेइराला जोडेर क्यास गर्नलाई त। त्यही कोइराला परिवारका पछिल्ला पुस्ता डा.शेखरले त्यो विडो थाम्ने प्रयास गरिरहेको देखिन्छन्।

बल्लतल्ल झण्डै १० महिनापछि आह्वान भएको कांग्रेस केन्द्रिय समितिको बैठक फेरी स्थगित भयो। संगठनको मुख्य काम सदस्या नविकरण र नयाँ सदस्या वितरण विवाद रहित रुपमा अघि बढ्न सकेको छैन्। कांग्रेसको संगठनात्मक रुपमा मुख्य मुख्य भातृ तथा भगेनि संगठनहरू लामो समय देखि तदर्थ समितिमार्फत चलिरहेका छन्। यो अवस्थाबाट संगठनलाई सुदृढीकरण गर्ने प्रयासहरू कम्जोर हुँदै गईरहेको देखिन्छ।
सिद्धान्त,नीति,विधि र संगठनात्मक प्रक्रिया सँगै अनुशासनको चरम गिरावटमा रहेको कांग्रेसको आगामी नेतृत्व पार्टी भित्र आमुल परिवर्तन ल्याउने चरित्रको हुनैपर्ने अवस्थामा पुगेको छ।
 

प्रकाशित मिति: : 2025-05-03 19:05:00

प्रतिकृया दिनुहोस्