अरुण (सरकार)
नेपाली समाजको मनोविज्ञान अहिले एक किसिमको गहिरो दोधारमा छ। राजनीतिक परिवर्तनका लहरहरूको अनुभुति लिइसकेको यो देश फेरि एक पटक कुनै निर्णयको दोबाटोमा उभिएको छ। एकातिर जनतामा निराशा छन्, अर्कातिर मौनतामा चेतना निराश छ। जुन मौनता न त पूर्ण रूपमा बेखबर हो, न निष्क्रिय नै।
के यो मौनता चेतनशील हो? वा अब फेरि क्रान्तिको तयारी हुँदैछ? नेपालको आधुनिक इतिहास आन्दोलनहरूको इतिहास हो। प्रश्न साधारण छन् तर परिस्थिति गम्भीर छ।
१) आन्दोलन पहिले पनि भए तर ००७ सालको राणा विरोधी आन्दोलनले प्रजातन्त्र ल्यायो जसको साक्षी नेपाली कांग्रेस छ।
२) अर्को विद्रोह ०४६ सालको जनआन्दोलनले देखायो जुन बहुदलीय व्यवस्था पुनःस्थापित गर्न थियो जुन भयो र गर्यो पनि।
३) ०६२/६३ सालको दोस्रो जनआन्दोलनले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनासम्मको यात्रा पुरा गर्यो। यी आन्दोलनहरू केवल राजनीतिक परिवर्तनका घटना थिएनन्, ती जनताको चेतनाको अभिव्यक्ति थिए जतिबेला जनता लामो मौनतापछि सडकमा उठेका थिए।
तर आज, गणतन्त्र स्थापनाको लगभग दुई दशकपछि, देश फेरि असन्तुष्टि र निराशाको गर्भमा पुगेको छ। संसद छ, नेता छन्, सरकार छन् तर भरोसा रत्तिभर छैन र त्यो हराएको छ। केहि वर्षदेखि नेपाली जनताले राजनीतिक दलप्रति विश्वास गुमाउदै गएका छन, जसको कारण दल हैन दल हाँक्ने केहि अमुक पात्र हुन्।
आज हरेक नेपाली जनमानसको आवाज एउटै छ देश कसले बनाउछ? यहाँ भएका हरेक दलका अमुक पात्र मात्र सत्ता स्वार्थमा लागेका छन। जसको परिणाम जनताले भोग्नु परेको छ। हरेक निर्वाचनमा भाग लिने जनमानस नयाँ आशमा मतदान गरेको हरेक वर्ष पुनः पुरानो शैलीमा शासन र पात्रले गर्दा नैराश्यता बेहोर्न बाध्य हुन्छन्। हरेक नेताको भाषण पुराना लाग्न थालेका छन्, वाचा खोक्रो र नेतृत्वहरू दिशाहीन।
युवाहरू राजनीतितिर आकृष्ट छैनन्! बरु वैदेशिक रोजगार, वैदेशिक स्टार्टअप, वा स्वतन्त्र पेशातिर आकर्षित छन। यहाँ जनताको मौनतालाई लाचारीको संज्ञा दिएर नेताहरू आफूलाई पानी माथिको ओभानो बनाई राखेका छन्।
तर नेतागणहरूलाई थाहा छैन त्यो मौनता लाचारी नभएर त्यो एक प्रकारको सचेत दुरी हो भनेर। उनीहरू राजनीतिलाई परिक्षण गर्दैछन्। पर बसेर सबैको क्रियाकलाप हेर्दैछन्। हरेक दुख र भ्रष्टचार गन्दैछन्। आफूलाई आफैं बुझ्दैछन्। यो मौनता बोल्दैनन् तर सम्झिन्छन्।
चेतनशील मौनता भनेको केवल चुप लागेर बस्नु हैन! यो एउटा प्रक्रियात्मक सोचाई हो। यहाँ राजनीतिको गहिरो विश्लेषण गर्न थालिएको छ र सहि समयको पर्खाई गरेर कुरिराखेका छन आफ्नो मत, धारण र प्रतिरोधको अभिव्यक्ति दिनका लागि।
कुनै समय भाषणमा ताली पिट्ने भिड् आज त्यो भाषणमा नेता पिट्न खोज्दैछन् र भाषणको आलोचना गर्छन्। कुनै बेला मत माग्न ढोकामा आउने नेतालाई स्वागत गर्दै दही चिउरा दिने घर आज गुनासो र निराशा पस्कने अवस्थामा छन् र प्रश्न गर्छन ‘तपाईंले अघिल्लो कार्यकालमा के गर्नुभयो र पुनः अब तपाईंलाई त्यस स्थानमा पुर्याउने हामीहरूले?’ भनेर। यहि हो चेतनशील मौनता भनेको जसले आज परिवर्तन होइन विकल्प खोजिरहेको छ।
नेपाली राजनीतिमा ‘नयाँ अनुहार’ भन्ने भाष्य केही वर्षयता चर्चामा आएको छ। नयाँ पार्टी उदाएका छन् र युवाहरूले साथ दिएका छन्। केहि स्थानमा नयाँले सफलता पनि पाए तर पुनः शैली पुरानो भएको कारण आज विवाद र गुनासोको दलदलमा परेका छन्। कारण हो गुटबन्दी, सत्ताको लोभ, पारदर्शिताको कमी, संसदमा मौन, सामाजिक सञ्जालमा आक्रामक अनि जनताको मुद्दा भन्दा पनि प्रचारमै व्यस्त त्यसैले जनता अझै असमञ्जसमा छन् न पुरानोलाई पूर्ण रुपमा फाल्न सक्छन्, न नयाँलाई पूर्णरूपमा अँगाल्न।
इतिहास हेर्दा बुझिन्छ जहिले पनि जहाँ राजनीति जनता भन्दा टाढा जान्छ, त्यहाँँ आन्दोलन अवश्य हुन्छ भनेर। आजको नेपाली समाजमा, विद्रोहको ज्वाला होइन, दबिएको गुनासो छ। क्रान्ति अहिले सडकमै नहुन सक्छ, तर त्यो विचारमा, प्रश्नमा, र कलममा जन्मिँदैछ र त्यस स्थानमा हुँदैछ।
सामाजिक सञ्जालमा युवा लेखिरहेका छन्। कलाकारहरू व्यङ्ग्यमार्फत बोलिरहेका छन्। पत्रकारहरू तथ्य निकालिरहेका छन्। शिक्षित युवाहरू अब बहस गर्न थालेका छन्। यी सबै संकेत हुन् यदि जनताको आवाज अझै बेवास्ता गरियो भने, चेतनशील मौनता विष्फोट, र चिच्याउन थाल्छ। त्यो दिन सम्भवतः फेरि ठूलो जनविद्रोहको रूप लिन सक्छ सायद शान्तिपूर्ण तर निर्णायक। आजको राजनीति सडकमै जितिने अवस्था छैन।
अबको परिवर्तन प्रणालीभित्रैबाट हुन सक्छ। यदि जनताले सही उपाय खोजे र रोजे भने। गर्ने कार्य भनेको राजनीतिक शिक्षा, समावेशी नेतृत्व निर्माण, प्रविधिको उपयोग, उत्तरदायी नागरिक अभियान यी उपायहरू गरेमा क्रान्तिको आवश्यकता नै नपर्ने समय हुन सक्छ जहाँ राजनीति फेरि जनमुखी बन्न सक्छ।
तर यहाँ भन्ने एउटा चलन छ र गर्ने अर्को। अबको राजनीति निर्भर छ मात्र नेताहरूको आत्मावलोकन, जनताको दृढता, र वैकल्पिक नेतृत्वको उचाइमा। जनता फेरि आन्दोलन गर्न चाहँदैनन्, तर नबोल्ने होइनन्। उनीहरू ‘सुनिरहेकै छन्’, ‘हेरिरहेकै छन्’।
यदि आवाज सुन्ने सरकार र राजनीति भएन भने, फेरि एक दिन इतिहास आफैं बोल्नेछ क्रान्तिको भाषामा। जसलाई हामी जनआन्दोलन-३ भन्न बाध्य हुनेछौं।