न्युजिल्याण्ड पहिला दुई खेलमा जित निकाल्दै इङ्ल्याण्ड-वेल्समा जारी आईसीसी विवकप क्रिकेटको शीर्षस्थानमा पुगेको छ । उसले केही समय अगाडि सम्पन्न खेलमा बंगलादेशलाई दुई विकेटले पराजित गर्दै शत् प्रतिशत जित निकालेको हो । पहिलो ब्याटिङ गर्दै बंगलादेशले दिएको २४५ रनको लक्ष्य उसले १७ बल खेल्न बाँकी छँदै आठ विकेट गुमाएर हासिल गर्यो।
न्युजिल्याण्डको जितका लागि टेलरले ८० रनको अर्धशतकीय पारि खेलेका थिए । मध्यमस्तरको लक्ष्य भएकाले बाँकी ब्याट्सम्यानले खासै रन नजोड्दा पनि उसले सहजै जित निकाल्न सक्यो। बंगलादेशका चार बलरले समान २-२ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशका ब्याट्सम्यानहरू खासै जमेनन् । सकिव अल हसनले ६४ रनको अर्धशतकीय पारि खेले पनि त्यो किवीसामु गतिलो लक्ष्य लिन पर्याप्त भएन । बंगलादेशलाई सस्तैमा समेट्न हेनरीले चार विकेट लिए ।
बंगलादेशले खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार निकालेर छैटौ स्थानमा छ । उसले यसअघि दक्षिण अफ्रिकालाई हराएर जितको खाता खोलेको थियो।