आय-आर्जनमा महिला- ४

श्रीमानको निधनपछि मिलसँगै ट्याक्टर हाँकिरहेकी जुम्ली बटन

श्रीमान् कृषि विकास बैंकका जागिरे थिए। चारवटा ट्याक्टर, एउटा काठ चिर्ने मिल, आफ्नै घरमा होटल, १७ जना कामदार, तीन छोरी, एक छोरा। एउटा सुखले चलेको परिवार। सुन्दर पारिवारिक वातावरण।

त्यही बेला एउटा नयाँ योजना बन्छ, अब डोजर किनेर चलाउनुपर्छ भनेर। व्यवसायको दायरा फराकिलो बनाउनपर्छ। व्यवसाय राम्रो भइरहेको थियो। अझ राम्रो बनाउने र जागिर छोड्ने योजना थियो, श्रीमानकाे।

श्रीमान् अर्थात् बमबहादुर महत डोजर किन्न गए। त्यही बेला उनलाई प्रेसरले हान्यो। गम्भीर बिरामी भए। महिना दिन बढी लगाएर राजधानीमा उपचार भयो। उन्नाइसको बीस भएन। आश मर्दै गयो। घर जहानको आश मरेसँगै श्रीमान् बमबहादुरको सास रोकियो।

सुख सयलको गोरेटोमा हिँडिरहेको परिवार निराशाको घनघोर भुमरीमा धकेलियो। तीन छोरी र एक छोरा बुबाविहीन भए। जिन्दगीभर साथ दिने कसम खाएका लोग्नेले साथ दिन नसकि आस्ताए। निराश थिइन् उनी। उनको निराशाले दृश्य कारुणिक बनिरहेको थियो। त्यो कारुणिक दृश्यकी पात्र थिइन्, चन्दननाथ- ७ महतगाउँकी बटन महत।

उमेर सोध्यो भने, ‘पचास जति भया हुँला’ भन्ने बटनलाई औँला भाचेर उमेरको हिसाब गर्ने फुर्सद छैन। जिन्दगीको हिसाब नै बिग्रेको ठान्ने उनलाई उमेरको हिसाब मिल्नुपर्छ जस्तो पनि लाग्दैन।

कारण उनी व्यस्त जीवन बिताइरहेकी छिन्। चार छोरा-छोरीको जिम्मेवारी आफ्नै काँधमा आएपछि उनले कारोबारको हिसाब गरिन्, छोराछोरीका गासको हिसाब गरिन्, उनीहरुले लाउने कपडाको हिसाब गरिन्, उनीहरु पढ्नका लागि चाहिने कापी-कलमको हिसाब गरिन्।

यी हिसाबमा व्यस्त जीवन व्यतित गरिरहेकी उनलाई उमेरको हिसाब गर्ने फुर्सद मिलेन। फुर्सद मिलाउन खोज्यो कि कारोबारको हिसाब बिग्रन्छ।

बरु आफ्नो जिन्दगीको हिसाब बिग्रोस मतलब छैन। तर, कारोबारको हिसाब नबिग्रियोस्। जसले उनलाई एकल महिलाहरु पनि साहराबिना बाँच्न सक्छन्, आत्मनिर्भर हुन र धेरै अगाडि बढ्न सक्षम हुन्छन् भन्ने सिकाएको छ।

उनले महिला भनेको लहरा हो, जो अगाडि बढ्नलाई श्रीमान्को बलियो साथ चाहिन्छ। महिला परनिर्भर र परजीवी हुन्छन् भन्ने भाष्यलाई परिवर्तन गरेकी छन्। त्यो पनि लोग्ने मान्छेले गर्ने जस्तै काम गरेर।

उनी गिट्टी बालुवा र ढुंगाको कारोबार गर्छिन्। आफूसँग भएका दुइटा ट्याक्टर, दुइटा ढुङ्गा खानीका ढुंगा र नदीको बालुवाको करोबार गर्न थालेको मात्रै १२ वर्ष भयो। श्रीमान् बितेको वर्षबाट थालेको यो यात्रा रोकिएको छैन।

यही यात्राले उनका चारवटा छोरा-छोरी पढिरहेका छन्। अघिल्लो वर्ष मात्रै उनले जुम्ला बसपार्कमा राम्रो पक्की घर बनाइन्। ‘यी सबै काम लेख, गाड गरेका कारण सकिएको हो,’ उनले भनिन्।

एक्ली उनले धानेको कारोबारबाट र त्यसबाट प्राप्ति उपलब्धिको कथा लामो छ। जसलाई एकएक गरी लेख्यो भने मात्रै एउटा किताब बन्छ। आज हामी उनको जिन्दगीको किताबबाट एक पाना मात्रै झिक्दैछौँ। जुन निकै संघर्षपूर्ण छ। जुन चुनौतीका पहाड फोडेर गरिएको यात्राको एक अंश हो। आउनुहोस्, उनी सुनाउन लागेकी छन्। हामी सुनेर साथ दिऊँ:


१८ वर्षको उमेरमा बिहे भएको हो। १७ वर्षसँगै पार गरेको गोरेटोमा म एक्ली भएँ। एक्लो जिन्दगी धान्नु साह्रै कठिन हुने रहेछ। सम्झिँदा पनि साह्रै दु:ख लागेर आउँछ। जिन्दगी अँध्यारोजस्तो लाग्छ। कहिलेकाहीँ आफू मरेकी हुँ कि जिउँदो पत्तो पाउँदिनँ।

आफूले जन्माएका छोरा-छोरी आफैँले हुर्काउनुपर्ने समय आयो। बेहोर्नुबाहेक उपाय के थियो र? म एक्ली थिएँ। एक्ली महिलालाई समाजले हेर्ने नजर अहिले पनि गतिलो छैन। १२ वर्ष अगाडि झन् कस्तो थियो होला?

१२ वर्षमा खोला फर्किन्छ भन्छन्। तर महिलाहरुलाई हेर्ने नजर फेरिएको छैन। समाजको नजरमा एक्ली महिला त मान्छे नै होइनन्। समाजले जे सोचे पनि मैले सोच्ने कुरा अलग हुनुपर्ने थियो। किनभने मेरा चार केटा-केटी थिए। तीनको मुख हेर्नु थियो।

श्रीमान् बितेपछि धेरैले ट्याक्टरको काम छोड्नुपर्छ भनेका थिए। कारण यो लाइनमा महिला छैनन्। लागेपछि महिला बिग्रन्छन् भन्ने थियो। त्यसैले काम छोडेको खण्डमा साकासन्तानले सकेको सहयोग गरौंला भनेर भरोसा दिएका थिए। धेरैले मलाई विश्वास गरेका पनि थिएनन्।

भर्खरै ३५ वर्षकी थिएँ, श्रीमान्ले छोडेर जानुभयो। अर्को बिहे गर्छ होली ठानेका थिए। कतिले भने पनि। तर, मलाई मात्रै थाहा थियो मेरो मनमा के छ भन्ने। त्यसैले कसैलाई जवाफ नफर्काइ ढुंगा बालुवाको काम गरेँ। जवाफ फर्काउन उचित पनि थिएन।

चारवटा ट्याक्टरको किस्ता तिर्न सकिँदैन जस्तो लाग्यो। त्यसैले कम्पनीमा गएर दुइटा फिर्ता गरेँ। कम्पनीका मान्छे बाँकी रहेका दुई ट्याक्टर पनि फिर्ता गर्नुस्, तपाईंको श्रीमान् हुनुहुन्न। हाम्रो लगानी ढुब्छ भन्थे।

मैले यदी तपाईं ट्याक्टर नदिने हो भने अगाडि लिएका पैसा फिर्ता दिनुस् म अर्को कम्पनीबाट लिएर जान्छु। नभए किस्ता तिर्न नसकेपछि मात्रै तपाईंहरुको भन्ने ठाउँ छ। अहिले केही भन्न पाउनु हुन्न भनेर दुइटा ट्याक्टर छोडिनँ।

त्यसपछि मैले ती दुई ट्याक्टरबाट बालुवा र ढुंगाको सेवा दिन थालेँ। काठको मिल चलाएँ। १७ जना कामदारबाट घटाएर ७ जना मात्रै राखेँ। तीनका लागि र मेरो परिवारका लागि मैले नकस्सिएर हुने थिएन। त्यसमाथि कम्पनीका मान्छेले होच्याएको इख थियो।

नौ महिनामा कम्पनीको सबै किस्ता तिरी सकाएँ। ती नौ महिना मलाई भएको कठिनाइ भनेर अहिले नै सकिने वाला छैन। जति वर्ष म एक्ली भएँ ती सबै कहानी सुनाउन पनि त्यति वर्ष नै लाग्छ होला।

जिन्दगी भन्नू भोगाइ रहेछ। सुख कहिलेकाहीँ मात्रै आउँछ। तर, दु:ख त टाँसिएर सँगै बस्ने रहेछ। दु:ख नगरी न सुख मिल्छ न त सफलता नै। मेरो भोगाइको निष्कर्ष यही हो।

म पढेकी छैन। तर, समाज, समाजका मान्छे, उनीहरुको आनीबानी बुझिसकेकी छु। मलाई लोग्ने मान्छेले गर्ने गाडीको काम नगर हामी सहयोग गरौंला भन्ने मेरा आफन्त साकासन्तानले गरेको दया र दिएको सहयोगले पुग्ने थिएन। त्यसैले म चुलो छोडेर लोग्नेले गर्ने कामतिर लागेँ।

मलाई पुगेन भनेर माग्न गएको भए एकदिन, एक, दुई पल्ट सहयोग पाउँथे होला। सँधैभरि पाइँदैन थियो। त्यही कारण पनि आफन्तले भनेको मानिनँ। बोकेको सामल र लाएको अत्तोले(सुझाव) पुग्दैन भन्ने कुरा साँचो हो।

हुन त आज मैले मेरा छोरा-छोरी पढाएको, घर बनाएको देखेर मेरो श्रीमान्ले कमाइ राखिदिएका हुनाले यसले यति गर्न सकेकी हो भन्छन्। हो, होइन भनेर जवाफ दिन कहाँ जाउँ? मैले के कति गरेँ? कस्ता दिन कटाएँ? त्यो मलाई मात्रै थाहा छ। सबैलाई सुनाउने फुर्सद पनि छैन।

ट्याक्टरबाट ढुङ्गा र बालुवाको कारोबार गर्दा कति ठाउँ पुगेँ? कति काम गरेँ? यी हिसाब गर्न लाग्यो भने मुरा दु:ख गन्नलाई कपालका रौं पनि कम हुनेछन्।

सुरुका दुई वर्ष मलाई साह्रै कठिन भयो। ड्राइभरको फोन आयो भने मुटुले ठाउँ छोड्थ्यो। कहिले मान्छेलाई ठक्कर दियो कि हान्दियो कि भन्ने लाग्थ्यो। झर्को लागे पनि त्यस्तो खबर कहिले सुन्नु परेन। गाडी बिग्रियो, पन्चर भयो, बेरिङ गयो भन्ने सुन्दा त अहिले दु:ख पनि लाग्दैन। बनिजान्छ नी भन्ने लाग्छ।

तर, पनि माल हालेर पठाएको गाडी समयमै पुगेन भने झर्को लाग्न सुरु भइजान्छ। अन्तिम टिप पठाउँदा गाडी फर्कि नआउन्जेमसम्म रोडमा बस्छु। जब आफ्नो गाडीको आवाज र लाइट चिन्छु तब ढुक्क हुन्छ।

मिलमा काठ ल्याउँदा साह्रै झर्को लाग्थ्यो। पुर्जी लिएको भएपनि अलिकति तलमाथि हने बित्तिकै मुद्दा खेप्नु साह्रै झर्को लाग्दो। काम छिटो गराउन म कामदारहरुहरुलाई अतिरिक्त रुपैयाँ टिप्स दिन्थेँ। खुसी भएर उनीहरु काम गर्थे।

अरुका भर गरिएका काममा आफूले निगरानी नगरी नहुने रहेछ। त्यसैले म गाडी चलेको बेला राति १२ बजेसम्म पनि खडा रहन्छु। कहाँ के पर्छ र निस्कनुपर्छ भनी तम्तयार रहन्छु। अलिकति ढिलो भयो भने आफैँ पुग्छु। यो सजिलो फिल्ड हुँदै होइन। त्यसमाथि महिलाका लागि झन् होइन। तर, आँट गरेको खण्डमा कमाइ साह्रै राम्रो छ।

नराम्रो गर्न नहुने रहेछ। तर, आँट गर्न भने छोड्नु हुँदैन रहेछ। आँट गरेकै कारण मैले सोचेको गर्न सकेँ। जेठी छोरीको बिहे भइसक्यो। महिली र कान्छी छोरी पढिरहेका छन्। उनीहरु सबै टेक्निकल विषय पढ्छन्। छोरो इन्जिनियरिङ पढ्दैछ। लाखौँका दरले उनीहरुको फिस तिर्नुपर्छ। यो सबै ट्याक्टरमा ढुंगा र बालुवा गरेर नै पुगेको हो। अहिले चारजना स्टाफ छन् उनीहरुको तलब पनि यसैबाट पुगिरहेको छ।

म मालिक हुँ। मेरो ट्याक्टर छ, आरा मिल छ। तर, मलाई गतिला कपडा लगाउने फुर्सद हुँदैन। आफैँ बनाएर मिठो खाने समय पाइँदैन। म ढुङ्गाका खानीबाटै बैंकमा पुग्छु। बजारमा डुल्छु। पैसा उठाउन जान्छु। म काम गरिरहेको स्थानबाट फर्किएर घर आएर नयाँ कपडा लाउन्जेल बजारको काम छुट्छ। त्यसैले कसैको प्रवाह नगरी हिँड्छु।

म लोग्ने मान्छे भएको भए ठेकेदार, ठुला हाकिम, पुलिसका हाकिम, साथी-भाइसँग बसेर जाँड-रक्सी खाएर काम लिन सक्थेँ हुँला। तर, महिलालाई यी सबै काम गर्न बर्जित छ। कसैसँग हाँस्नसमेत बर्जित छ। त्यसैले होटल छोडेकी हुँ। दिन रात एक गर्नु परेको छ।

नदी किनारमा बालुवा उतार्न गयो भने आफूजस्तै दु:खमा परेका श्रीमान् नभएका महिला देख्छु। यी मेरा साथी हुन भनेर सुख दु:ख साट्छु। सहयोग गर्छु। खानीबाट ढुङ्गा झिकिरहेका मजदुर हेर्छु, मालिकबाट ठगिएका हुन्छन्। घरको अवस्था नाजुक हुन्छ। यी पनि मेरा साथी हुन भन्ने लाग्छ। यिनको जिन्दगी हेरेर चित्त बुझाउँछु। काममा लाग्छु। अझै केही वर्ष लागिरहन्छु।

सुन्नेलाई सुनको माला। भन्नेलाई फूलको माला........।

प्रकाशित मिति: : 2024-02-03 21:20:00

प्रतिकृया दिनुहोस्

    धेरै धेरै बधाई छ अन्टि ❣️🙏

    • 8 महिना अगाडि
    • Bimala Hamal