लामो समयको अनुमानपछि गत शुक्रबार स्पेनको चर्चित क्लब रियल म्याड्रिडमा आवद्ध भएका बेल्यिमका स्ट्राइकर इडेन हजार्डलाई ७ नम्बरको जर्सी दिने सम्भावना बलियो रहेको छ।
एक वर्ष लामो हल्लाका बीच रियलले ८ करोड ९० लाख पाउन्डमा २८ वर्षीय हजार्डका लागि इंग्लिस क्लब चेल्सीसँग सम्झौता गरेको थियो।
व्यवसायिक सम्झौतासहित हजार्डका लागि रियलले १३ करोड पाउन्ड खर्चेको छ। यो रकम रियलले यसको पुष्टी गर्दै अघिल्लो वर्ष इंग्लिस क्लब चेल्सीसँग सम्झौता समाप्त हुन लागेको बेल्जियमका २८ वर्षीय यी प्लेमेकरलाई क्लबमा भित्र्याइएको जानकारी दियो। क्लबले हजार्डका लागि अहिलेसम्मकै सर्वाधिक रकम खर्चेको हो।
रियलले यसअघि ग्यारेथ बेल र क्रिस्टियानो रोनाल्डोको लागि सर्वाधिक रकम खर्चेको थियो। ७ वर्ष चेल्सीका लागि व्यवसायिक फुटबल खेलेका हेजार्ड आउँदो जुन १३ मा रियलको आधिकारीक क्लब बेर्नाबेउमा ७ नम्बर जर्सीसहित सार्वजनिक हुनेछन्।
यसअघि यो जर्सी स्पेनिस स्ट्राइकर राहुल र रोनाल्डोले लगाएका थिए। हजार्डले चेल्सीबाट ३ सय ५३ खेल खेल्ने क्रममा १ सय १० गोल गरेका थिए। उनी २०१५ मा प्रिमियर लिगको उत्कृष्ट खेलाडी घोषित भएका थिए।
रियल प्रशिक्षक जिनेदिन जिदान गत वर्षदेखि नै हेजार्डलाई आफ्नो टिममा समावेश गर्न चाहन्थे। गत विश्व कपमा आफ्नो कप्तानीमा बेल्जियमलाई सेमिफाइनलमा प्रवेश गराएका हजार्डको आदर्शको रुपमा जिदान रहेका छन्।
‘जब म सानो थिए, जिदानको खेल खुब नियाल्थे,’ हजार्डले भनेका छन्। हजार्डको अनुबन्धन विश्वको छैटौं ठूलो सम्झौता हो। उनको साताको पारिश्रमिक ४ लाख पाउन्ड रहने छ।