साफ च्याम्पियनसिप

नेपालविरुद्ध श्रीलंका : प्लेयर्स टु वाच

फाइल तस्वीर
फाइल तस्वीर

साफ च्याम्पियनसिपको दोस्रो खेलमा सोमबार नेपालले श्रीलंकाको सामना गर्दै छ। मालेस्थित राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समयअनुसार रातको पौने १० बजे सुरु हुनेछ। नेपाल र श्रीलंकाबीच हुने खेलमा दुई यस्ता खेलाडी छन्, जसले पूरा समय मैदानमा आफ्नो प्रभाव छाड्न सक्छन्।

तेज तामाङ : नेपाल

होल्डिङ मिडफिल्डरमा होस् या अट्याक लाइनमा तेज तामाङले पाएको भूमिका सहजै निर्वाह गर्ने गर्छन्। उमेरले २३ मात्रै लागेका तेज नेपाली टोलीको मुख्य हतियार भइसकेका छन्। प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले तेजलाई आवश्यक्ताअनुसार होल्डिङ र आक्रमण दुवैको भूमिकामा खेलाउँदै आएका छन्।

गत महिना भारतसँगको मैत्रीपूर्ण खेलमा तेजले बक्स बाहिरबाट गरेको गोलले खुबै चर्चा पायो। त्यो गोल नै तेजको राष्ट्रिय टोलीका लागि पहिलो गोल थियो।

व्यावसायिक फुटबलमा विभागीय नेपाल पुलिस क्लबमा रहेका तेज एन्फा एकेडेमीका उत्पादन हुन्। उमेर समूहमा समेत तेजको भूमिका उस्तै रहने गर्दथ्यो। तेजले भारतविरुद्ध यू-१९ टोलीबाट गरेको गोलकै कारण नेपालले उपाधि हात पार्न सफल भएको थियो। होल्डिङ र अट्याकसँगै लामा प्रहार र आफ्नो बक्ससम्म आएर रक्षा गर्न सक्ने तेज पूरा श्रीलंकन टोलीका लागि टाउको दुखाइको विषय बन्न सक्छ।

डिलन डी सिल्भा : श्रीलंका

श्रीलंकन टोलीबाट १० नम्बर लगाएर खेल्ने खेलाडी हुन्, डिलोन डी सिल्भा। युवा खेलाडी डी सिल्भाले साफको पहिलो खेलमा बंगलादेशविरुद्ध ६२ मिनेटमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए। यी १९ वर्षीय श्रीलंकन अट्याकिङ मिडफिल्डर युरोपेली क्लबबाट व्यावसायिक फुटबल खेल्ने गर्छन्। हाल डी सिल्भा क्विन्स पार्क रेन्जर्स (क्विपीआर) को यू-२३ टोलीबाट खेल्दै आएका छन्। क्विपीआरमा भने सिल्भाले विंगरको भूमिका निर्वाह गर्छन्।

पहिलो खेलमा बंगलादेशविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गरे पनि सिल्भाले आफ्नो प्रभाव जमाएका थिए। इंग्लिस क्लब टोटनहमको उमेर समूहबाट समेत खेलिसकेका डी सिल्भा मिडलाइनमा आफ्नो भूमिका सहजै निभाएर अट्याक लाइनमा नेपाली डिफेन्डरका लागि भारी पर्न सक्छन्। नेपालविरुद्धको खेल डी सिल्भाका लागि राष्ट्रिय टोलीबाट चौथो खेल हुनेछ। 

प्रकाशित मिति: : 2021-10-04 16:28:00

प्रतिकृया दिनुहोस्