चौथो विश्वकप क्रिकेट पहिलो पल्ट इङ्ल्याण्डभन्दा बाहिर भयो । यो प्रतियोगिता आयोजनाको जिम्मा भारत र पाकिस्तानले संयुक्तरूपमा लिए । सन् १९८७ मा भएको चौथो विश्वकपलाई भारतको एउटा कम्पनी रिलायन्सले प्रायोजन गर्ने जिम्मा लिएपछि यसको नाम ‘रिलायन्स कप’ रहन पुग्यो । रिलायन्स कपमा पहिलो पल्ट ६० ओभरको नियम बदलेर ५० राखियो । तर, प्रतियोगितामा पुरानै ८ वटा देशलाई मात्र स्थान दिने निर्णय आइसिसीले ग¥यो ।
चौथो विश्वकप क्रिकेटको उपाधि अस्ट्रेलियाले जित्यो, एसेसको पुरानो प्रतिद्धन्द्धी इङ्ल्याण्डलाई फाइनलमा रोमाञ्जक ७ रनले पराजित गर्ने क्रममा । यस विश्वकपमा पाकिस्तान र भारतलाई फाइनलिस्टका रूपमा हेरिएको थियो । तर, पाकिस्तानलाई सेमिफाइनलमा अस्ट्रेलियाले १८ रनले हरायो । पहिलो इनिङमा २ सय ६७ रन बनाएको अस्ट्रेलियाविरुद्ध ५८ रनमा खेलिरहेका पाकिस्तानी कप्तान इमरान खान आउट भएपछि खेलले टर्निङ प्वाइन्ट लिएको थियो । यस्तै, भारतीय स्पिनर मोनिन्दर सिंहलाई ‘सर्ट फर लेग’ मा खेल्ने रणनीतिअनुरुप इङ्ल्याण्डले पहिलो इनिङमा २ सय ५४ रन बनाएपछि सेमिफाइनलमा ३५ रनको जित सम्भव पारेको थियो । त्यतिबेला मोनिन्दर पूर्ण लयमा थिए ।
फाइनलमा अस्ट्रेलियाले बनाएको २ सय ५३ रनको लक्ष्य पछ्याउने क्रममा कप्तान माइक गेटिङ आउट भएपछि इङ्ल्याण्डले नसोचेको पराजय भोग्यो । अस्ट्रेलियन कप्तान एलन बोर्डरको बल रिर्भर स्विप गर्ने चक्करमा गेटिङको कुममा लागेर बल विकेट पछाडि झरेको थियो, जसलाई विकेटकिपर ग्रेग डायरले समातेका थिए । चौथो विश्वकपमा इङ्ल्याण्डका ग्राहम गुचले सर्वाधिक ४ सय ७१ रन बनाए । अस्ट्रेलियाका ग्रेग मेकडर्मटले सर्वाधिक १८ विकेट लिए ।