युकेश र सावित्रा वर्ष उत्कृष्ट खेलाडी

तस्बिरः रासस

काठमाडौं ।

प्याराग्लाइडिङका युकेश गुरुङ र फुटबलकी सावित्रा भण्डारीले यो वर्षको स्पोर्टस अवार्डअन्तर्गत वर्षको उकृष्ट पुरूष र महिला खेलाडीको पुरस्कार पाएका छन्।

नेपाल खेलकूद पत्रकार मञ्चद्वारा सोमबार राजधानीमाआयोजित अवार्ड कार्यक्रममा इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकूदमा प्याराग्लाइडिङ क्रस कन्ट्रीको पुरुष टिम स्पर्धामा नेपाललाई रजत पदक दिलाएका युकेशले उत्कृष्ट पुरूष विधाको अवार्ड जितेका हुन्।

उनी एशियाडमा नेपाललाई २० वर्षपछि रजत दिलाउँदा पाँचमध्येका प्रमुख खेलाडी हुन्। वर्षको उत्कृष्ट पुरुष विधामा क्रिकेटका पारस खड्का र सोमपाल कामी, जुडोका इन्द्रबहादुर राई र गल्फका शुक्रबहादुर राई मनोनयनमा परेका थिए।

त्यस्तै वर्षको उत्कृष्ट महिला घोषित फुटबलकी सावित्राले भारतमा भएको अन्तर्राष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान दिएकी थिइन्। त्यतिबेला नेपालले पहिलो पटक भारतलाई पराजित गरेको थियो। नेपाललाई पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गराउन उनको भूमिका महत्वपूर्ण थियो। यस्तै नेपालमै भएको साग महिला फुटबलमा पनि उनको योगदान अमूल्य थियो।

उनलेभलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, तेक्वान्दोकी नीमा गुरुङ र जुडोकी मनिता श्रेष्ठलाई पछि पारेकी हुन्।

वर्षको उत्कृष्ट युवा खेलाडीको उपाधि एथलेटिक्सका अजितकुमार यादवले जिते। उनले हङकङमा भएको तेस्रो एशियन युथ एथलेटिक्स च्याम्पियनसिपको तीन हजार मिटर दौडमा यादवले नेपाललाई  कीर्तिमानी स्वर्णपदक दिलाएका थिए।

युवा खेलाडीमा अजितसँगै ब्याडमिन्टनमा प्रिन्स दाहाल, फुटबलकी मञ्जलीकुमारी योञ्जन, क्रिकेटका ललितनारायण राजवंशी र करातेका विजय श्रेष्ठ मनोनयनमा परेका थिए ।

वर्ष २०७५ को उत्कृष्ट प्रशिक्षकको अवार्ड प्याराग्लाइडिङका योगेश भट्टराईले जिते।विगत २० वर्षपछि नेपाललाई एशियाली खेलकूद प्रतियोगितामा रजत पदक दिलाउँदा उनले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। उनले फुटबलका हरि खड्का, एथलेटिक्सका धनीराम चौधरी, क्रिकेटका जगत टमाटा र भलिबलका ज्ञानेन्द्र विष्टलाई पछि पारे।

त्यस्तै पिपुल्स च्वाइसको अवार्ड भलिबलकी रेश्मा भण्डारीले जितिन्। सशस्त्र प्रहरी बलको एपीएफ क्लबले वर्षमा १० उपाधि जित्दा रेश्माको भूमिका महत्वपूर्ण थियो। उनीसँगै क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्री भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जनलाई पछि पारिन्।

टिम अफ दि इयरको उपाधि प्याराग्लाइडिङको टिमले जित्यो भने पारा एथलिटको अवार्ड दृष्टिविहीन क्रिकेटर मन केसी चौधरीले जितिन्।

त्यस्तै स्पेशल अवार्ड फुटबलका रोहित चन्दले जित्दा लाइफ टाइम एचिभमेन्टको अवार्ड एथलेटिक्सका हरिबाहदुर रोकायले जिते।

त्यसैगरी अन्तराष्ट्रिय खेलकूद पत्रकार महासङ्घ (एआईपीएस) का महासचिव अम्जद अजिज मल्लिक इन्टरनेशनल एशियन स्पोट्र्स जर्नालस्ट अवार्ड’ बाट सम्मानित भए।

वर्ष पुरूष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष प्रशिक्षक र पिपुल्स च्वाइस अवार्डको विजेताले ट्रफिसहित बजाजको पल्सर मोटरसाइकल प्राप्त गरे।

त्यस्तै अन्य विधाका विजेताले भने ट्रफी र जनही रु ५० हजार प्राप्त गरेका थिए।

विजेतालाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार, नेपाल खेलकूद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदी, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए।

प्रकाशित मिति: : 2019-07-02 21:18:39

प्रतिकृया दिनुहोस्