विश्व कप जित्ने सम्भावनाका बीच सेमिफाइनलबाट बाहिरिएको भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली अझै खुल्न सकेका छैनन्। उनी अहिले पनि बेलायतमै छन्।
गत बुधबार भारत १८ रनले न्युजिल्यान्डसँग पराजित भएको थियो। समूह चरणको खेलमा ८ खेल जितेर अंक तालिकाको शीर्षस्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको भारतलाई किवी टोलीले स्तब्ध पारेको थियो।
भारतको पराजयपछि कप्तान कोहलीको आलोचना गर्नेको भीड बढेको छ। यस्तै, बलिउड कलाकारहरू उनको समर्थनमा उत्रिँएका छन्। विहिबार म्यानचेस्टरमा विराट आफ्नी श्रीमति बलिउड नायिका अनुष्का शर्मासँग देखा परेका थिए। त्यति बेला पनि उनको अनुहारको रंग उडेको थियो।
अनुष्का टिम इन्डियालाई समर्थन गर्न धेरै अगाडि इंग्ल्यान्ड पुगेकी थिइन। सेमिफाइनल खेलभन्दा अगाडि दुबै रमाइलो मुद्रामा देखा पर्ने गर्थे। तर, विहिबार होटलबाट बाहिर निस्किँदा दुबै निरास देखिएका थिए। अझ, विराट गम्भीर देखिन्थे।
विराट सेमिफाइनलमा १ रनमै आउट भएका थिए।