अमेरिकाको क्रिकेट प्रशिक्षकबाट पुबुदुले दिए राजीनामा

अमेरिकी क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन्।

पुबुदु सन् २०१६ मा अमेरिकी क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएका थिए। अमेरिकी क्रिकेट टिमलाई २०१६ मा डिभिजन-४ हुँदै यसै वर्ष अप्रिलमा एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यतासम्म पुर्‍याएका थिए।

श्रीलंकन पूर्वक्रिकेटरसमेत रहेका दासानायकेले नेपाली टोलीको पनि नेतृत्व गरेका थिए।  

सन् २०११ देखि २०१५ सम्म ४ वर्ष नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकको रूपमा काम गरेका उनले त्यसअघि क्यानडा राष्ट्रिय टिमको प्रशिक्षण समेत गरेका थिए।

नेपाललाई पनि उनले २०१४ टि-२० विश्वकप छनोट गराएका थिए भने एकदिवसीय विश्वकप छनोट र विश्व क्रिकेट लिग च्याम्पियनसिप सम्मको यात्रा गराएका थिए।

सन् २०११ मा क्यानडा क्रिकेट टिमलाई समेत उनले विश्वकप छनोट गराएका थिए।

अमेरिका क्रिकेट टिमको सफलताको बाबजुद पुबुदु दासानायकेको अमेरिका क्रिकेटसँगको सम्बन्ध पछिल्लो वर्षदेखि चिसिएको क्रिकेटको वेवसाइट क्रिक इन्फोले दाबी गरेको छ।

अमेरिका क्रिकेटले विलो टिभी र भारतीय स्वामित्व राखेको अमेरिकन क्रिकेट इन्टरप्राइजेजसँग सम्झौता गरेपछि पुबुदु र बोर्डको सम्बन्ध थप चिसिएको क्रिक्इन्फोको समाचारमा जनाइएको छ।

अमेरिकामा टी-२० लिग गराउने उद्देश्यका साथ् अमेरिका क्रिकेटलाई इन्टरप्राइजेजले १ बिलियन डलर लगानी गर्ने सम्झौता गत मेमा भएको थियो। सन् २०२१ सम्म अमेरिकामा ग्लोबल टि-२० लिग सुरु गर्ने उद्देश्यसहित सम्झौता गरिएको थियो।

उक्त सम्झौतापछि अमेरिकन क्रिकेट इन्टरप्राइजेजको बोर्ड सदस्यको दासानायकेको भूमिकाबारे फरक मत रहेको थियो। यसअघि टिम छनोटमा मुख्य भूमिका निभाउने पुबुदुको सट्टा अब छनोट किरन मोरेले गर्ने भएका थिए।

अमेरिकाको टि-२० विश्वकप छनौट खेल्ने टिम घोषणा जुनको अन्तिममा हुनुपर्ने थियो तर पुबुदु र मोरेबीच असहमति हुनाले छनोटमा ढिलाई भएको थियो। त्यसपछि पुबुदु टिम छनोट विवादबारे कुरा गर्न अमेरिका क्रिकेटका पदाधिकारीसहित इंग्ल्याण्डमा आईसीसीका कार्यकारी अधिकृत इयान हिगिन्सलाई भेट्न पुगेका थिए। हिगिन्स विश्वकपपछि अमेरिका क्रिकेटको सीईओ नियुक्त हुँदैछन्।

त्यसपछि पनि विवाद साम्य हुन सकेन। पुबुदुको कन्ट्रयाक्ट मार्च २०१९ मा सकिएको थियो। तर, अमेरिकाको विश्व क्रिकेट लिग डिभिजन-२ को नामिबिया टुर र अक्टोबरमा युएईमा आयोजना हुने टि-२० विश्वकप ग्लोबल छनोटलाई समेत ध्यानमा राखेर डिसेम्बर २०१९ सम्म उनको अवधि लम्ब्याईएको थियो। सोही अवधिमा अमेरिकाले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यतासमेत पायो। 

तर, मेमा अमेरिकन क्रिकेट इन्टरप्राइजेजसँगको सम्झौता पछि उनको कन्ट्रयाक्ट नबढ्ने निश्चित थियो। इन्टरप्राइजेज व्यवस्थापनले आफ्नै नेतृत्वमा राष्ट्रिय टिम अघि बढाउने मनसाय बनाएको थियो।

अमेरिका क्रिकेटले गत महिना जुनमा पूर्व भारतीय विकेटकिपर ब्याट्सम्यान किरन मोरेलाई निर्देशकको रुपमा नियुक्त गरेको थियो।

Kiran More

उनीसँगै वेस्ट इन्डिजका पूर्वब्याट्सम्यान काइरन पावेललाई हाई परफरमेन्स म्यानेजर, अर्का भारतीय क्रिकेटर तथा भारतीय अन्डर-१९ क्रिकेट टीमका पूर्व प्रशिक्षक प्रभिन आमरेलाई ब्याटिङ सल्लाहकार, पूर्व भारतीय स्पिनर सुनिल जोशीलाई स्पिन सल्लाहकार, इंग्ल्याण्ड र अस्ट्रेलियाको बलिङ प्रशिक्षक रहिसकेका डेभिड साकरलाई फास्ट बलिङ सल्लाहकारको रुपमा र आईपीएलमा मुम्बई इन्डीएन्सको फिल्डिङ प्रशिक्षक रहेका जेम्स पामेन्टलाई फिल्डिङ सल्लाहकारको रुपमा नियुक्त गरेको थियो।

निर्देशक मोरे अब अमेरिका क्रिकेटमा शक्तिशाली व्यक्ति हुने बाटोमा छन्। स्रोतका अनुसार दासानायकेको प्रतिस्थापनको लागि गत हफ्ता नै मिटिङ बसिसकेको छ र सुनील जोशी उनको स्थानमा मुख्य प्रशिक्षक हुने सम्भावना प्रवल रहेको छ।

अमेरिका क्रिकेटका अध्यक्ष पराग मराठेले पुबुदुलाई धन्यवाद दिंदै अमेरिका टिमको प्रशिक्षण सम्हाल्न अन्य उत्कृष्ट प्रशिक्षकले चाहेको बताएको अर्को क्रिकेट वेवसाइट क्रिक्बजले दाबी गरेको छ।

‘एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन महत्वपूर्ण भूमिका निभाएका पुबुदुलाई धन्यवाद दिन चाहन्छु। उनी निकै योग्य प्रशिक्षक र व्यक्ति थिए जसले अमेरिका क्रिकेटलाई ठूलो योगदान दिएका छन्। उनले अमेरिका क्रिकेटलाई यो समय विदा गरेका छन्, हामी उनको भविष्यको लागि शुभकामना व्यक्त गर्छौं,’ समाचारमा अध्यक्ष मराठेले भनेका छन्।

अमेरिकाले आगामी अगष्ट १८ देखि टी-२० विश्वकप क्षेत्रीय छनोटको फाइनल खेल्दैछ।

प्रकाशित मिति: : 2019-07-13 20:31:42

प्रतिकृया दिनुहोस्