१९ वर्षीय डच डिफेन्डरका लागि युभेन्ट्सले खर्चियो क्लब इतिहासकै तेस्रो ठूलो रकम

माथेसकाे टुरिन यात्रा। एजेन्सी

नेदरल्यान्डको आयाक्स क्लबका कप्तान माथेस डि लिट इटालीको चर्चित क्लब युभेन्ट्समा आवद्ध भएका छन्। १९ वर्षीय डच सेन्टर–ब्याकलाई ८ करोड ४० लाख डलरमा युभेन्ट्सले क्लब भित्र्याएको हो।

युभेन्ट्सले माथेसका लागि क्लबको इतिहासमै तेस्रो ठूलो सम्झौता गरेको हो। यसअघि इटालीको यस क्लबले गत वर्ष रियल म्याड्रिडबाट क्रिस्टियानो रोनाल्डोलाई भित्र्याउँदा १० करोड युरो खर्चेको थियो।

यस्तै, २०१६ मा नेपोलीबाट अर्जेन्टिनाका गोन्जालो हिग्विनलाई भित्र्याउँदा ९ करोड युरो खर्चेको थियो।

माथेस फ्रान्सका केलियान एम्बापे र पोर्चुगलका जोओ फेलिक्सपछि यस वर्ष सर्वाधिक रकममा क्लब स्थानान्तरण हुने तेस्रो युवा खेलाडी हुन्।

एम्बापेलाई पेरिस सेन्ट जर्मेनले मोनाकोबाट २० करोड डलरमा क्लब भित्र्याएको थियो। यस्तै, एट्लेटिको म्याड्रिडले १४ करोड डलरमा फेलिक्सलाई बेनिफिकाबाट भित्र्याएको थियो।

प्रकाशित मिति: : 2019-07-18 15:37:27

प्रतिकृया दिनुहोस्