नेपाली युवा टेनिस खेलाडी अस्ट्रेलियाको ब्रिसबेन ब्वाइज कलेजको उत्कृष्ट खेलाडी

बिएल

नेपालका युवा टेनिस स्टार संरक्षकभूषण बज्रचार्यलाई अस्ट्रेलियास्थित ब्रिसबेन ब्वाइज कलेजले यस वर्षको उत्कृष्ट टेनिस खेलाडीबाट सम्मान गरेको छ।

अस्ट्रेलियाको नम्बर १ मानिने ब्रिसबेन ब्वाइज कलेजले बुधबार राती एक कार्यक्रमका बीच उनलाई सन् २०१९ को उत्कृष्ट खेलाडीबाट सम्मान गर्यो।

१८ वर्षीय संरक्षक गत वर्षदेखि ब्रिसबेनमा अध्ययनरत छन्। संरक्षकको खेलबाट प्रभावित ब्रिसबेन ब्वाइज कलेजका प्रमुख टेनिस प्रशिक्षक क्रिस रोल्फले कलेजमा खेल्न र पढ्ने वातावरण मिलाएका थिए।

संरक्षकको उत्कृष्ट खेलका कारण ब्रिसबेन ब्वाइजले यस वर्षको प्रिमियरसिप जितेको थियो। उनीसँगै टिममा समावेश ३ खेलाडी आफ्नो एकल स्पर्धामा पराजित भएको अवस्थामा संरक्षकले जित सम्भव पार्दै आफ्नो कलेजलाई विजेता बनाएका थिए।

ब्रिसबेन ब्वाइज कलेजमा अध्ययनरत डानी स्वेनी हाल ग्रान्ड स्लामको जुनियर तालिकामा आवद्ध छन्।

छोराको सफलताबाट खुसी भएका उनका प्रशिक्षक बुवा सूर्यभुषण बज्रचार्यले ब्रेक एन लिंक्स (बीएल मिडिया) सँग भने, ‘उसको सफलताबाट हामी दंग परेका छौं। अब देशका लागि मेडल जितोस् भन्ने चाहना छ।’

संरक्षकले दुई महिनाअघि नेपालगञ्जमा आयोजना भएको आठौं बृहत राष्ट्रिय खेलकुदमा टेनिसतर्फ स्वर्ण जितेका थिए। उनी एनआरएन टिमबाट सहभागी भएका थिए।

संरक्षकले दक्षिण कोरिया र इन्डोनेसियामा आयोजना भएको एसियाली खेलकुदमा भाग लिइसकेका छन्। उनले भारतको गोवाटीमा भएको १२ औं साफ गेम्समा पनि नेपालबाट प्रतिनिधित्व गरेका थिए।

प्रकाशित मिति: : 2019-07-18 22:57:56

प्रतिकृया दिनुहोस्