नेपाल स्तब्ध, कतार ४ विकेटले विजयी

बिएल

आयोजक सिङ्गापुरसँग एक दिनअघि ३३ रनले पराजित भएको कमजोर कतारले टि–२० विश्व कप एसिया क्षेत्रको छनोट अन्तर्गत दावेदार नेपाललाई ४ विकेटले पराजित गरेको छ।

प्रारम्भिक ब्याट्सम्यान इनाम–उल हकको बिस्फोटक ४१ रनको अगाडि दबाब महसुस गरेको नेपाली बलरले कतारी ब्याट्सम्यानलाई च्यापेर राख्न सकेनन्।

नेपालका लागि स्टार स्पिनर सन्दीप लामिछानेले ३ विकेट लिएपनि उनी महंगो सावित भए। उनले ४ ओभरमा ३३ रन खर्चे। प्रारम्भिक बलर सोमपाल कामीले पनि १ ओभरमा १३ रन खर्चेपछि उनलाई पुनः बलिङमा ल्याइएन।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाएर १ सय २२ रन मात्र बनाएको थियो।

प्रत्युत्तरमा कतारले १९ दशमलव २ ओभरमा ६ विकेट गुमाउँदै विजय लक्ष्य पछ्यायो।

नेपालविरूद्ध इनामले ३२ बलमा ४ छक्काको सहयोगले ४१ रन बनाएका थिए। कमरान खानले पनि २२ रन बनाए। मध्यक्रममा मोहम्मद तनवीर ११ र जाहिर इब्राहिमले १२ रन बनाए। पुछारमा नोमन सरवारले अविजित १५ रन बनाउँदै कतारलाई जित दिलाए।

कतारको जितका लागि मध्यक्रमका ब्याट्सम्यानले संयमित भएर ब्याटिङ गरेका थिए।

कतारलाई नेपालले १ सय २३ रनको चुनौति दिएको थियो।

आइतबार टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय २२ रन बनायो।

कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४९ रनको बिस्फोटक सुरुवात गरेका थिए। तर, मध्यक्रममा नेपालले रन गतिलाई माथि उठाउन सकेन। पुछारको ५ ओभरमा नेपालले ४ विकेट गुमाउँदै ३० रन मात्र बनायो।

नेपालका लागि दीपेन्द्र ऐरीले १ छक्का र १ चौकाको सहयोगले ३५ बलमा सर्वाधिक ३४ रन बनाएका थिए।

कप्तान पारसले १ छक्का र ४ चौकाको सहयोगले १७ बलमा २८, मल्लले १ छक्का र २ चौकाको मद्धतले २४ बलमा २३ रन बनाए।

शरद भेषवाकर १३ बलमा ७ रन बनाएर आउट भए। सोमपाल कामीले ११, बिनोद भण्डारीले ३, करन केसीले ४, सन्दीप लामिछानेले ९, बसन्त रेग्मीले १ रन बनाए। अविनाश बोहरा शुन्यमा आउट भए। ललित राजवंशी शुन्यमा नटआउट रहे। कतारका लागि इकबाल हुसेनले ३ विकेट लिए।

प्रकाशित मिति: : 2019-07-23 10:54:03

प्रतिकृया दिनुहोस्