नेपाल र भुटानबीचको फाइनल खेल हेर्न टिकटको मूल्य दोब्बर तिर्नुपर्ने

फाइल तस्बिर

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फुटबल खेलको टिकटको मूल्य बढाएको छ। मंसिर २४ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने नेपाल र भुटानको फाइनल खेललाई लक्षित गरेर राखेपाले टिकटको मूल्य बढाएको हो।

राखेपाका अनुसार अब फाइनल खेल हेर्न साधारण प्यारापिटतर्फ हजार र भिआईपी प्यारापिटतर्फ दुई हजार रुपैयाँ तिर्नु पर्नेछ। यसअघि राखेपाले फुटबल हेर्न साधारण प्यारापिटतर्फ ५ सय र भिआईपी प्यारापिटतर्फ हजार रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको थियो।

स्रोतका अनुसार घरेलु फुटबल हेर्ने दर्शकको भिड धेरै भएको कारण दर्शक घटाउन मूल्यबृद्धि गरिएको हो। साग फुटबलतर्फको फाइनल खेल र समापन कार्यक्रमसँगै हुनेछ। स्रोतले बिएल नेपाली सेवालाई भन्यो,'फुटबल हेर्न आउने दर्शक धेरै हुने भएको कारण समापनमा भिभिआईपीहरुलाई सहज होस् भनेर मूल्य बढाउने निर्णय गरेका हौं।'

नेपाल र भुटानबीचको फाइनल खेल मंसिर २४ गते दिउँसो ३ बजेबाट सुरु हुनेछ। नेपाल लगातार तेस्रो पटक साग फुटबलको फाइनलमा पुगेको हो।

समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई ४-० ले हराएको थियो। माल्दिभ्सलाई २-१ ले हराएको नेपालले श्रीलंकासँग १-१ को बराबरी खेलेको थियो।

भुटानले भने नेपालबाहेक सबै टिमलाई हराएको छ। गत वर्ष नेपालले भारतलाई हराउँदै फाइनल जितेको थियो।

राखेपाले उक्त खेल हेर्न करीब २२ हजार दर्शक आउने अनुमान गरेको छ। फुटबलतर्फको टिकट बेच्ने जिम्मा भने ई–सेवाले पाएको छ। ई–सेवाले उक्त खेलको लागि अहिलेदेखि नै टिकट बेच्न थालिसकेको छ।

ई–सेवाबाट फुटबलतर्फ नेपाली टिमको पहिलो खेल हेर्न ६ हजारले टिकट काटेका थिए भने दोस्रो खेल हेर्न ७ हजार जनाले टिकट काटेका थिए। बंगलादेशविरुद्धको खेल हेर्न ६ हजार ५ सयभन्दा बढीले टिकट काटेका थिए। नेपालको खेल हुँदा रंगशाला खचाखच देखिन्छ भने अन्य देशको खेल हुँदा दर्शकको संख्या ज्यादै न्यून देखिन्छ। नेपाली टिमको खेल नहुँदा मुस्किलले २ सय ५० वटा मात्र टिकट बिक्ने गरेको ई–सेवाले बताएको छ।

नेपाल कहिले–कहिले फाइनलमा?

१९८४– नेपाल ४–२ बंगलादेश

१९८७– भारत १–० नेपाल

१९९३– नेपाल २–२ भारत (४–३ पेनाल्टी)

१९९९– बंगलादेश १–० नेपाल

२०१६– नेपाल २–१ भारत

२०१९– नेपालविरुद्ध भुटान (मंगलबार)

 

सागको समापनमा पनि टिकट

राखेपाले सागको समापन हेर्न जानका लागि पनि टिकटको व्यवस्था गरेको छ। राखेपले सागको उद्घाटन र समापनमा टिकट नलाग्ने बताएको थियो। नेपाल र भुटानबीच हुने खेलसँगै मंगलबार सागको दशरथ रंगशालामा सागको समापन हुनेछ ।

सागको टिकट बच्ने जिम्मेवारी लिएको ई–सेवाले हाल समापन र फुटबलसँगै हुने भन्दै टिकटको बुकिङ खोलिरहेको छ। साग तर्फको फाइनल खेल र समापन कार्यक्रम नेपाल टेलिभिजनले पनि प्रत्यक्ष गर्नेछ।

 

प्रकाशित मिति: : 2019-12-09 12:47:49

प्रतिकृया दिनुहोस्