३३ किलो सुन प्रकरण :

सनम शाक्यकी आमाले भनिन्– ‘गोरे’ले जन्मकैद सजाय पाएको सुन्दा मन केही शितल भयाे

माेरङकाे उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयसँगै जोडिएको काठको पुरानो भुइँतले घरमा टोईलाएर बसेरहेकी थिइन्– ६५ वर्षीया कल्पना शाक्य। उनी ३३ किलो सुन तस्करी प्रकरणमा हत्या गरिएका सनम शाक्यकी आमा हुन्।

कल्पनाको पछिल्लो चार वर्ष घरको चौघेरा र बरन्डामा छोरा सनमको यादमा यसैगरी टोलाएरै बित्यो। सदाझैँ यसरी टोलाएर बसिरहेकी कल्पना कयौँ रात सुत्न सकिनन्।

जिल्ला अदालत मोरङले मंगलबार सुनाएको फैसलामा ३३ किलो सुन काण्डको मुद्दाका प्रतिवादीमध्येका मुख्य अभियुक्त मोरङ, उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनामाथि जन्मकैद सुनाएको छ। अदालतको  फैसलाले भने कल्पनालाई अलिकति राहत मिलेको छ।

३३ किलो सुन प्रकरण : ‘गोरे’ लाई जन्मकैद, प्रहरी अधिकारीले पाए सफाइ

'कतै छोरा फर्किएर आमा भन्दै आउँछ कि जस्तै लाग्छ। यही बरन्डामा बस्छु। बाटो हेर्दाहेर्दै टोलाउँछु', उनले भनिन्, 'तर मेरो छोरोलाई गोरेले करेन्ट लगाएर मार्यो। त्यस अपराधीलाई त मृत्युदण्ड नै दिनुपर्ने पर्ने हो। जन्मकैद मात्र भएछ।'

सनमकी आमा कल्पनाले गहँभरि आँशु पार्दै भनिन्, 'न्याय मर्दैन भन्ने सुनेकी थिएँ। सत्य रहेछ। अब जे गरे पनि छोरो फर्किएर आउँदैन तर अपराधीले सजाय पाएको छ।'

सामान्य परिवारका सनम शाक्य कल्पना शाक्यका जेठा छोरा हुन्। आमासहित एक सन्तान र श्रीमती रहेको परिवारको जिम्मेवारी सनममाथि नै थियो। 'काममा लगाइदिन्छु' भनेर काठमाडौं लिएर गएका गोरेले सनमलाई सुन तस्करीको धन्दामा लगाएका थिए। 

एक्कासी घरदेखि केही परको जङ्गलमा हत्या गरी शव बिराटनगरमा ल्याएपछि मात्र सनमको परिवारले घटनाबारे जानकारी पाएका थिए। 'मेरो छोरो मार्नेलाई जन्मकैदको फैसला भएको छ’ आमा कल्पनाले भनिन्, ‘मान्छे मार्ने कसैलाई छुट दिनु हुँदैन।’

जेठो छोरो सनमको हत्या भएपछि शाक्य परिवारको दिन दुःखै दुःखमा बितिरहेको छ। शाक्यका छोरा कक्षा ७ मा पढ्छन्। ‘बुहारी सुनीता सहकारीमा सानोतिनो काम गर्छे,’ कल्पनाले भनिन्, ‘महिनामा आउने ५–६ हजार रुपैयाँको भरमा नाति पढाएर घर चलाउनुपरेको छ।’

सरकारले सुन तस्करीको जालो भत्काएको बताइरहँदा वृद्धा कल्पनाले छोरो गुमाएकी छिन्। तर, उनी भन्छिन्, ‘मेरो परिवार दुःखैले चलाउछौँ। आफू नराम्रो काम गर्ने अनि अरुको ज्यान लिने पापीलाई जन्मकैद फैसला भयो। केही भए पनि मनमा शान्ति मिलेको छ।'

सनमकी श्रीमती सुनिताले अदालतको फैसलाबाट खुशी भएको प्रतिक्रिया दिइन्। उनले भनिन्,'अपराधीले मेरो घर नै उजाडिदियो। म जसरी तड्पिएर बसेको छु, अपराधीले पनि त्यसैगरी तड्पिन परोस्।'

‘गोरे’को अन्तरकथा: नेपाली सेनाको जागीरदेखि खुङ्खार सुन तस्करसम्म 

भिडियाे ः

प्रकाशित मिति: : 2021-10-06 20:26:00

प्रतिकृया दिनुहोस्