न्युयोर्कमा टुटुल्को गाईजात्रा । अगस्ट १७ तारिख, शनिबार दिनको ठीक २ बजे । क्विन्स पब्लिक पुस्तकालयमा । टुटुल्को डट कमको आयोजनामा । टिकट सोल्ड आउट । खादा-माला, आसन-भाषण हुदैन । सबैले सहयोग गरे, टुटुल्को डटकमका ज्योतिकुमार श्रेष्ठले दिनरात भनेनन् । अमेरिकाभरिका व्यङ्ग्य चेत भएका नेपाली श्रष्टा एवं कलाकारले प्रस्तुति दिनेछन् । अमेरिकाका धेरैजसो नेपाली सञ्चारमाध्यम यसका अफिसियल मिडिया छन् ।
समाचारको प्राथमिक रूप हार्ड न्युज यति नै हो । यो काम हिजोआज सामाजिक सञ्जालले नै गर्छ । यति गर्नलाई सञ्चारकर्मी भए पुग्छ, पत्रकार नै हुनु पर्दैन ।
यो छुटाउनु भयो कि ?
फकल्यान्ड युद्वमा ५ पाउण्ड भत्ता दिन्छु भनेको बेलायतले १ पाउण्ड मात्र दियो
अबको मूलधारको पत्रकारिताले यति लेखेर आफ्नो लाज छोप्न सक्दैन । त्यसैले ब्रेक एन न्युज उही घटनालाई आफ्नो कोण दिन्छ । उसलाई फस्ट हुनु छैन,फ्याक्ट ल्याउनु छ । सबै घटनामा सामाचारको मूल्य नै हुन्छ भन्ने पनि हुदैन । हो, प्रचार र प्रवर्द्धन भने हुन सक्छ ।
गाईजात्राको कुरा गर्दा यसको पृष्ठभूमिमा अर्थात् जरामा जानुपर्छ । अनि मात्र यसको बोट र हागाविआगाको कुरा गर्दा हुन्छ ।
सांस्कृतिक रूपले समृद्ध नेवार समुदायको एक महान चाड गाईजात्रा पछिल्लो समय अनेक रूप र रङमा प्रस्तुत हुने गर्छ । यसको प्रारभ्मसँग संगति मिल्छ कि मिल्दैन तर त्यो पञ्चायतकालमा मञ्चमा व्यङ्ग गर्ने एक विशेष चाडका रूपमा बिकसित भयो। त्यही एक दिन राजादेखि रंकसम्म लक्षणा र व्यञ्जनामा ब्यङ्ग्य गर्न पाइने चाड गाईजात्रा प्रजातन्त्र, लोकतन्त्र हुदै गणतन्त्रमा आइसकेको नेपालमा एक दिन हैन, ३६५ दिन नै हुनथाल्यो।
न यो नेवारी संस्कृतिमा मृतकप्रतिको श्रद्धाको विषय रह्यो, न यो शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्ने दिन । नानाभातिका दुईअर्थी शव्द राखेर जात्रे कार्यक्रम गर्ने र पैसा असुल्ने हर्कते चाड बन्यो । मञ्चमा मात्र हैन, राष्ट्रिय टेलिभिजनमै अनेकखालका गाइजात्रे कार्यक्रम साप्ताहिक रूपमै वर्षौसम्म चले । यो क्रम अहिले पनि जारी छ । हुँदाहुँदा पछिल्लो समय त्यो रजतपटमा पनि पुगिसक्यो ।
न्युयोर्कमा टुटुल्को गाइजात्रा, त्यसैको अर्को एक संस्करण हो भने यो आयोजनाको नाममा टुटुल्कोकर्मी ज्योतिकुमार श्रेष्ठका लागि दु:ख पाइस् मंगले आफ्नै ढंगले मात्र हो । हैन, त्योभन्दा माथि उठेर सांस्कृतिक चेतसहितको लक्षणा र व्यञ्जनामा व्यङ्ग्य पनि हुने हो भने यो एक महान आयोजना हुनेछ ।
यो छुटाउनु भयो कि ?
के हो त्यो चाँहि हेरेपछि मात्र भन्न सकिन्छ । अहिलेलाई भने एउटा कुरा भन्नैपर्ने हुन्छ- त्यो हो एडिटरियल मिक्स । त्यो भनेको जब एउटा सञ्चारकर्मी आयोजक हुन थाल्छ र प्रायोजक र विज्ञापनको पछि लाग्छ तब ऊ त्यस्ता प्रयोजक र विज्ञापनदाताप्रति लोयल भएर उनीहरूप्रति सही मानेमा वाचडग हुन सक्दैन । अर्थात् कुरा सोझो छ- अब टुटुल्कोलाई प्रायोजन गर्ने कुनै वकिलले एक नेपालीलाई ठग्यो भने टुटुल्कोले खह्रोे उत्रेर टुटुल्को उठाउन सक्दैन । न कुनै रेष्टुरेन्टले बासी भात खुवाएर पखाला चलायो भने त्यसका बारेमा पनि लेख्न नै सक्छ । नसक्ने हैन तर अप्ठ्यारो हुन्छ । सक्यो भने पनि प्रायोजकले भनिहाल्छ- अस्ति मसँग पैसा लिएको थियो, अहिले त्यसैले झुसिलो डकार्यो । त्यतिबेला हामीसँग हरिया गिजा देखाएर बत्तिसी देखाउनुको विकल्प हुदैन ।
आमसञ्चारमा एउटा बहुचर्चित भनाइ छ- जब तपाई प्रकाशक हुनुहुन्छ नि, तब तपाई पत्रकार नै रहन सक्नु हुन्न । आमसञ्चारका महागुरू म्याक्वेलको यो भनाइ अलि गम्भीर छ । अहिलेलाई यो संकेतका रूपमा छोडौं । आवश्यक परेमा कुनै दिन लेखौला पनि । तर, अमेरिकाको नेपाली डायस्पोरालाई यो आवश्यक छैन । किनभने यहाँका नेपालीले सबैभन्दा बढी जानेको भनेको पत्रकारिता र सञ्चारकर्म नै हो ।
अहिलेलाई यो समाचारभन्दा पनि बढी ई-ब्लगिङ हो भन्दा हुन्छ । अर्थात् न्युयोर्कमा टुटुल्को गाईजात्रा ।