बलिउडमा अहिले बिषयवस्तु राम्रा भएका साना बजेटका चलचित्रले पनि सय करोड क्लबलाई छुन थालेका छन् । यस्तै चलचित्र मध्यका एक चलचित्र हो ‘छिछोरे’ । सुशान्त सिंह राजपुत र श्रद्धा कपुरको मुख्य भूमिका रहेको उक्त चलचित्र गत शुक्रबारबाट रिलिजमा आएको थियो ।
चलचित्र ‘छिछोरे’ दोश्रो शनिबारसम्म आइपुग्दा यसको व्यापार ८५ करोड कटेको छ । यो चलचित्र वर्ड अफ माउथका कारण बलियो बनेको भारतीय मिडियाहरुले जनाएका छन् ।
यता,आयुष्मान खुरानाको चलचित्र ‘ड्रिम गल’ले पनि लोभलाग्दो सुरुवात गरेको छ । चलचित्रले रिलिजको दुई दिनमै २६ करोड माथिको व्यापार गरेको यो चलचित्रले आज आइतबार २० करोडको हारहारीमा व्यापार गर्ने अपेक्षा गरिएको छ । चलचित्रमा आयुष्मानको काम, यसमा प्रयोग भएका संवादलाई दर्शकले रुचाएका छन् ।
राज शान्दिल्याको निर्देशनमा बनेको यो चलचित्रमा नुश्रत भरुचा, अन्नु कपुर, विजय राजको पनि अभिनय छ । चलचित्रलाई शोभा कपुर र एकता कपुरले निर्माण गरेका हुन् ।