केही दिन अघिको कुरा हो, राष्ट्रकवि माधवप्रसाद घिमिरेको आउन लागेको १ सय १ वर्षको उपलक्ष्यमा उनीसँग घरमै पुगेर अन्तर्वार्ता गर्ने सौभाग्य प्राप्त गरेँ। म उनको घरमा पुग्दा राष्ट्रकवि कोठामा बसेर मस्त किताब पढिरहेका थिए।
म दंग परेँ। केही समय अगाडि उनको स्वास्थ्य त्यति राम्रो देखेको थिइनँ। तर, त्यो दिन उनी झन् बढी पोटिला देखिए। कुराकानीकै क्रममा उनले बेलाबेलामा कविता पनि सुनाए। र, भने, ‘बाबु म त थाके।’
मलाई लाग्यो, उनलाई आरामको जरूरत छ। मैले भने, ‘एकछिन आराम गर्नुस् न त।’ तर, उनले आराम गर्न मानेनन्। उल्टै भने, ‘अब कति चै बाचिन्छ। २ वर्ष? सोध्नुस्। आज म ज्यूँदो छु। मरे भने तपाईँले हजार पटक सोधे पनि म बोल्ने होइन।’
अब कालसँग साक्षात्कार गर्ने समयबाट गुज्रिएको उनको भनाई सुन्दा मनै अमिलो भयो।
नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व। १९७६ साल ७ असोजमा लम्जुङ्गको पुस्तुँमा जन्मिएका घिमिरेले ९ वर्षको उमेरमा लम्जुङ्गको दुराडाँडास्थित संस्कृत पाठशालाबाट अध्ययन सुरु गरेका थिए।
१८ वर्षको उमेरमा उनी काठमाडौंको तीनधारा संस्कृत पाठशाला आइपुगे। यसपछि उनी पहिले काठमाडौंको र त्यसपछि पुरै नेपालको भए। हाल उनी काठमाडौंस्थित कपुरधारामा बसोबास गर्छन्।
उनी भन्ने गर्छन्– संसारको सर्वोच्च स्थानमा जन्मिएको नागरिक हाैं भन्ने अधिकार हामी नेपालीलाई मात्र छ।
२ वर्षको उमेरमै टुहुरो बन्नु परेको पीडा उनीसँग छदैँछ। यसमा पनि पहिलाे पत्नी गौरीको निधनले उनलाई शोकमा डुबाएको थियो। पत्नी बियोगकै कारण घिमिरेले गौरी शोक काब्य नै लेखे।
राष्ट्रकविले बिम्बको प्रयोग र प्रकृतिको वर्णन गरेर समकालीन साहित्यलाई नयाँ उचाई दिलाए। राष्ट्र, राष्ट्रियता र अखण्डताको सम्वाहक मानिने राष्ट्रकविलाई आज हामी १ सय १ वर्षको शुभकामना दिन पाउँदा धन्य भएका छौं।
घिमिरेको साहित्यमा राष्ट्रियता मात्र होइन्, प्रकृतिको पनि अपार स्नेह अनुभव गर्न पाइन्छ।
सानी नदी पहाडबाट झर्छिंन्, हा हा र हु हु गर्दै बन भित्र झर्छिंन्।
यस्ता सुन्दर गीतका रचेइता, जसले ‘गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली...’ जस्ता कालजयी गीत पनि रच्न भ्याए। उनका श्रृजनामा मिठास मात्र पाइन्छ।
घिमिरे आफूलाई सरकारले राष्ट्रकवि घोषणा गर्दा गौरवान्वित भएको सुनाउँछन्। सय वर्षको सतवार्षिकी मनाउँदा आफूलाई बग्गीमा राखेर शहर परिक्रमा गराएको क्षणले पनि उनलाई निकै भावुक बनाएकाे थियो।
घिमिरेलाई २०३० सालमा नेपालमा आएको एउटा विदेशीले भनेछ- तेरो देश गरिबीले आक्रान्त छ।
उनलाई विदेशीको त्यो कुरा मन परेनछ। एक दिन छाउनीस्थित चौरमा जाडो महिनामा घाम तापेर बसिरहेको बेला उनलाई गीत फुरेछ र त्यही विदेशीलाई छन्दको सहाराले उत्तर दिने क्रममा लेखेछन्, ‘गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली। जय जय हे नेपाल, सुन्दर शान्त विशाल।’
राष्ट्रकविका गाैरी, मालतीमंगले, हिमाल पारि हिमाल वारि, अश्वथामा, राजेश्वरी,सकुन्तला जस्ता कृति प्रकाशित छन्। २०१४ सालमा प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्य हुँदै २०४६ सालमा कुलपति भएका उनी पद्मश्री साधना सम्मान, मानार्थ बिध्याबारिधि र नेपाली सेनाका मानार्थ सहायक रथीका साथै २०६० मा राष्ट्रकविको रुपमा सम्मानित भए।
घिमिरे अझै पनि सिद्दिचरण श्रेष्ठ, लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटालाई गुरु मान्छन्। उनको धर्मपत्नी महाकाली घिमिरे ४५ वर्ष अगाडिको दु:ख सम्झिन्छिंन्।
भन्छिन्– ९ दिनमा लम्जुङ्गबाट काठमाडाैं आइयो। डेराको बसाई राति बच्चाहरु सुतेपछि लेख्न बस्नु हुन्थ्यो। सधै दु:खमा हुर्किएको परिवारको प्रमुखलाई देशले यसरी सम्मान गरेको देख्दा मैले देखेको दिन र पाएको दु:ख सबै बिर्सिन्छु।
उनलाई हिजोआज कोठाबाट बाहिर बगैंचामा हिँडडुल गर्दा पनि सहयोगी चाहिँदो रहेछ। त्यो दिन मैले आफैं सहयोगीको भूमिका निर्वाह गर्ने साैभाग्य पाएँ। उनलाई बोकेर बाहिर ल्याएर केही समय कुराकानी गरेपछि पुन: कोठामा पुर्याए। राष्ट्रकविलाई आफ्नै हातले बोक्न पाउनु कम हर्षको कुरा थिएन्।
नेपाली जनताहरुलाई मिलेर बस्न र एकअर्काको सुखदु:खमा साथ दिन पाढ सिकाउँदै आएका यिनै राष्ट्रकविलाई उनको १ सय १ वर्ष पुरा भएको शुभकामना दिन चाहन्छु। र, राष्ट्रकविको उमेर १ हजार १ वर्ष पुगोस् भन्ने कामना गर्दछु।