बलिउडकी स्टार नायिका दीपिका पादुकोण अब महाभारतको चर्चित पात्र द्रोपदीको भूमिकामा देखापर्ने भएकी छिन्। मधु मन्टेनाले निर्माण गर्न लागेको ‘महाभारत’ फिल्ममा दीपिका मुख्य भूमिका निर्वाह गर्दैछिन्।
फिल्म द्रोपदीलाई केन्द्रमा राखेर बनाउन लागिएको हो। फिल्मको पटकथा द्रोपदीकै वरिपरि घुम्ने छ।
यो फिल्ममा दीपिकाको पनि लगानी रहने बताइएको छ। उनले मधु मन्टेनासँग मिलेर फिल्ममा लगानी गर्न लागेकी हुन्।
दीपिकाले यसको जानकारी दिँदै भनिन्, ‘म द्रोपदीको भूमिकालाई लिएर निकै रोमाञ्चित छु र सम्मान महसुस गरिरहेकी छु। मलाई थाहा छ, यो जुगमा एकपल्ट अभिनय गरिने रोल हो।’
भारतीय अखबारका अनुसार फिल्म दुई वा त्योभन्दा धेरै भागमा बनाउने तयारी भइरहेको छ। यसको पहिलो भाग सन् २०२१ को दिपावलीमा रिलिज गर्ने सम्भावना रहेको छ।
‘महाभारत’ निर्माण भएमा दीपिकाको ब्यानरमा बनने दोस्रो फिल्म हुनेछ। दीपिका आफ्नो रोलको विषयलाई लिएर अन्य फिल्मकर्तासँग कुराकानीमा व्यस्त रहेको बताइएको छ।