अभिनेत्री प्रियंका चोपडाले अमेरिकाको लस एञ्जल्समा २ अर्ब ३० करोड रुपैयाँमा घर खरिद गरेकी छिन्। अमेरिकाबाट प्रकाशित हुने पत्रिका वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार प्रियंकाले आफ्नो श्रीमान निकसँग मिलेर २ करोड डलरमा लस एञ्जल्समा घर किनेकी हुन्। घर २० हजार वर्ग फुटमा फैलिएको छ।
प्रियंकाले खरिद गरेको घरमा ७ वटा बेडरुम, ११ बाथरुम रहेको छ। प्रियंकाले गत वर्षको डिसेम्बरमा निकसँग विवाह गरेकी थिइन। निकको कूल कमाईं २ करोड ५० लाख अमेरिकी डलर छ भने प्रियंकाको २ करोड ८० लाख डलर आंकलन गरिएको छ।
प्रियंकाले यसअघि वोग पत्रिकालाई दिएको अन्तर्वार्तामा आफूले नयाँ घर किन्न चाहेको बताएकी थिइन। ‘घर किन्ने र आमा बन्ने मेरो लिस्टमा छ,’ पत्रिकालाई दिएको अन्तर्वार्तामा प्रियंकाले भनेकी थिइन।
प्रियंका हालै अभिनेता फरहान अख्तरसँग ‘द स्काई इज पिंक’ मा देखा परेकी थिइन। उनी रोबर्ट रोड्रिगेजको फिल्म ‘वि क्यान बी हिरोज’ मा देखा पर्दैछिन्। राजकुमार रावसँग उनी ‘द वाइट टाइगर’ मा पनि देखा पर्दैछिन्।