वर्षात् शुरु भएसँगै सुनसान सौराहा

तस्बिरः बिएल

चितवन । वर्षात् शुरु भएसँगै पर्यटकीय क्षेत्र सौराहा सुनसान हुन थालेको छ । विगतका वर्षको तुलनामा यो मौसममा निकै कम पर्यटक आएको व्यवसायीले बताएका छन् ।

क्षेत्रीय होटल सङ्घ चितवनका कार्यवाहक अध्यक्ष दीपक भट्टराईका अनुसार असार महीना शुरु भएदेखि पर्यटकको सङ्ख्या निकै कम छ । उनका अनुसार गाडीबाट आउने पर्यटक दैनिक ५० जनासम्म पुग्न मुस्किल भएको छ । समूहमा आउने पनि कम छन् ।

गत वर्ष यतिबेला दैनिक १५० भन्दा बढी पर्यटक गाडीमा आउने गर्दथे । पर्यटक अस्वभाविक रुपमा कम आएपछि कतिपय होटलले मजदूरलाई खेत रोपाइँमा जान बिदा दिन थालेका छन् ।

विसं २०७२ साल अघिसम्म यो मौसम होटलले मजदूरलाई छुट्टी दिने गरेका थिए। त्यसपछिका वर्षमा बिदा नदिएको भए पनि यस वर्ष केही होटलले पर्यटक निकै कम भएपछि मजदूरलाई बिदा दिन थालेका हुन् । होटलमा पर्यटक नहुँदा मजदूरलाई खुवाएर पाल्नुको सट्टा घरको काम गर्न बिदा दिएपछि खुवाउने खर्च जोगिने गर्छ ।

सङ्घका महासचिव राममणि खनालले सशस्त्र द्वन्द्वको समयमा जस्तै गरी पर्यटकमा कमी आएको बताए। विसं २०५८ देखि २०६४ सालसम्म पर्यटक आगमनमा निकै कमी आएको थियो । त्यसैलाई झझल्को दिने गरी पर्यटक आगमनमा गिरावट आएको खनालले जानकारी दिए। गर्मी बढेको, अन्यत्र क्षेत्र विस्तार भएको, निकुञ्जभित्रको गतिविधिमा हुने कमीलगायतका कारण पर्यटक आगमनमा गिरावट आएको अनुमान गरिएको छ ।

सौराहामा ११० वटा पर्यटकीय होटल रहेका छन् । यी होटलहरुमा दुई हजार ७५० जना पर्यटक बस्न सक्ने क्षमता रहेको छ । आर्थिक वर्षको मसान्तको समयमा पर्यटकमा निकै कमी आएपछि होटललाई बैंकको ब्याज र किस्ता भुक्तानीमा समेत समस्या देखिएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनमा घुम्ने पहिलो उद्देश्य लिएर यहाँ पर्यटक आउने गर्दछन् । अहिले आएका न्यून पर्यटक चिनियाँ, भारतीय र नेपाली छन्। सौराहा आउने पर्यटकहरुको बसाइ पनि निकै कम हुने गरेको छ ।

वर्षायाममा जङ्गल सफारी नहुने र वर्षाको कारण हिँडडुल गर्न पनि कठिनाइ हुने हुँदा पर्यटक एक दिन बसेर फर्किने गर्दछन् । यही  असार २१ बाट जङ्गल सफारी बन्द गरिएको छ। दुई वर्षअघि वर्षाले सौराहाका अधिकांश होटल डुबानमा परेपछि पर्यटकको उद्धार गर्नुपरेको थियो। वर्षाका कारण मुग्लिन–नारायणगढ खण्डको सडकमा पटकपटक पहिरो जाने गरेकाले पनि पर्यटकहरुले चितवन भ्रमणलाई प्राथमिकतामा नराखेको व्यवसायीहरु बताउँछन्। रासस

प्रकाशित मिति: : 2019-07-09 17:08:00

प्रतिकृया दिनुहोस्