कहिलेसम्म भीभीआईपी भ्रमणमा सर्वसाधारण अलपत्र परिरहने?

दीप सुवेदी

काठमाडाैं

भर्खर बेलुकाको ७ बज्दै थियो। सधै बाक्लै चहलचहल हुने काठमाडौंको त्रिपुरेश्वर सडक प्रायः सुनसान थियो।

सडकका दायाँबायाँ प्रहरी र सेना छ्यापछ्याप्ती थिए। त्यतिकैमा एक २०/२२ वर्षकी युवती बस आउने आशामा कहिले सडक छेउ त कहिले पेटीको यात्रा गरिरहेकी थिइन्। सडकमै गस्ती गरिरहेका केही प्रहरीले ती युवतीलाई गाली गरिरहेका थिए।

काठमाडौं कलंकी बस्ने सुम्निमा थापा विशेष कारणले त्रिपुरेश्वरमा रहेका आफ्ना आफन्त भेट्न आएकी रहेछिन्। करिब २ घण्टादेखि बस कुरेर बसेकी उनी धेरै जनासँग लिफ्ट माग्ने प्रयास गरिन्। तर, उनका सबै प्रयासहरू विफल भए। त्यसपछि उनी हिँडेरै गन्तब्यतर्फ जान बाध्य भइन्।

त्यस्तै काठमाडौं थानकोटकी सजिता महर्जनलाई बानेश्वरबाट थानकोट जानुपर्ने थियो। एक त दसैंको समय भएकाले यो रूटमा जाने सवारी साधन कम हुनु र अर्को कुरा आज यो रूटमा कुनै पनि सवारी साधन नचल्नाले उनको मनमा घर नपुगिने डर बढ्दै गयो।

उनले छेउमै सडक किनारमा उभिइरहेका एक प्रहरीसँग प्रश्न गदै भनिन्,‘म एक युवती,  लिफ्ट माग्न पनि कसैको बाइक वा स्कुटी आएको छैन। घर कसरी पुग्नु? हिँडेर जान पनि नजिक छैन, कसरी जाऔं?’

सजिताले प्रश्न सुनिरहेका ती पुलिस अधिकारीसँग यसको कुनै जवाफ थिएन। उनले ती युवतीलाई चिनियाँ राष्ट्रपति सी चिनफिङ आएकाले यो रूटमा कुनै सवारी नचल्ने मात्र बताइरहेका थिए। त्यसैले उनलाई पनि हिँडेरै जानुको कुनै विकल्प थिएन।

माथिका दुई पात्र त शनिबारदेखि काठमाडौंको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सीको भ्रमणले मारमा परेका प्रतिनिधि मात्रै हुन्।

शनिबार बानेश्वर, थापाथली, रत्नपार्क,सुन्धारा,त्रिपुरेश्वर,टेकु, कालीमाटीबाट कलंकी हुँदै जाने अन्य रूटका कयौं यात्रु मर्कामा परेका थिए।

२३ वर्षपछि चीनबाट हुन लागेको राष्ट्रपति भ्रमणलाई नेपालले उच्च प्राथमिकतामा राखेको छ। राष्ट्रपति सीको भ्रमणलाई लक्षित गर्दै काठमाडौं उपत्यकाभर सुरक्षा व्यवस्था अत्यान्त कडा पारिएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले भ्रमणको अवसरमा सवारी व्यवस्थापनमा सहयोग गर्न उपत्यकावासीलाई अनुरोधसमेत गरेको छ। राष्ट्रपति सी बानेश्वर हुँदै सोल्टी होटल पुगिसक्दासमेत कुनै सार्वजनिक यातायात यो रूटमा चलेनन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले असोज २४ गते बेलुका जारी गरेको सूचनामा भ्रमणको अवसरमा असोज २५ र २६ गते मुख्य सवारी मार्गमा पुराना र अवस्था ठीक नभएका सवारीसाधन नचलाउन तथा हर्नको प्रयोग नगर्न अनुरोध गरेको थियो। यद्यपी ‘कफ्र्यू’ नै लगायसरी सार्वजनिक यातायातमा कुनै रोक लगाउने सूचना भने जारी गरेको थिएन।

तर २५ गते बिहानै महाशाखाले राष्ट्रपति सी सवार हुने रूटमा दिउँसो १ बजेदेखि बेलुका ९ बजेसम्म कुनै पनि सार्वजनिक यातायात नचल्ने भन्ने व्यहोराको सूचना जारी गरेको सुइको नपाएपछि यात्रुले सास्ती खेप्नु परेको हो।

जनताको भोटले राष्ट्रपतिदेखि मन्त्रीसम्म बनेका प्रतिनिधिहरू दिनभरी प्रहरीको स्कटिङ्गमा सवार हुँदा सर्वसाधारण चढ्ने सवारी साधनलार्इ पुरै रोक लगाउनुले लोकतान्त्रिक सरकार सञ्चालकको जिम्मा पाएका हुनेखाने मन्त्रीहरुको चरित्रमाथि प्रश्न उठेको छ।

पदमा रहेर समूहले आफ्नो लागि दिनभरी राज्यको स्रोतसाधनलाई परिचालन गरिरहे। तर, जनताले पाएको पहिलो प्राथमिकता भने सरकारबाटै रोक लागाइयो।

देशको सुरक्षा स्थिति बलियो बनाउने बाहनामा ‘भिजिट नेपाल २०२०’ अभियान चलाइरहेको बेला भ्रमण सकिएको धेरै समयसम्म पनि रोड नै खाली गर्ने कुचेष्टाले नेपालमा रहेका पर्यटकहरुमा कस्ता सन्देश जान्छ भन्ने कुराको त परै जावसे सरकारको यो कदमले जनता कतिको मर्कामा पर्ने हुन भन्ने कुराको पनि कुनै ख्याल नगरिएको भान हुन्थो।

बिगतको दिनमा पनि बाहिरबाट विदेशी पाहुना आउँदा रोडमा सर्वसाधारणको दैनिकीमा असर गरेको थियो। तर यो समय लम्बिदा रातको समयमा गन्तब्यमा हिँडेका सर्वसाधारण अलपत्र परिरहेका थिए।

देशको शासन व्यवस्था हाँकेका समूहसँग जनताको मार्काको न कुनै पिर देखियो नत कसैप्रतिको सहानुभूति।  लोकतान्त्रिक मूल्य मान्यताका आधारमा चलेको सरकारका निम्ति हरेक नागरिक समान हुनुपर्छ भन्ने कुराको ज्ञानसमेत कुनै मोडमा देख्न पाइएन।

उल्टै सरकारद्वारा जारी संविधानको भाग ३ मा रहेको मौलिक हक र कर्तव्य अन्तर्गत धारा १७ मा रहेको स्वतन्त्रताको हकको उपधारा १ को ङ मा उल्लेख भएको नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रताको व्यवस्थाको नै खिल्ली उडाएको पाइयो।

बिगतमा मधेशी दलहरुले संविधानका धाराहरु मानेनन् भनेर तीन हात उफ्रिने नेताहरुले आजभोलि भने आफूले नै बोलेका कुरा बिर्सन पो थालेका हुन् की? 

कुनै बैकल्पिक मार्गको व्यवस्था नगरिकनै हतासमा गरेको निर्णयको भरपाइ त सरकारले गर्न नसक्ला तर, आउने दिनमा सरकारको निर्णयका कारण जनतालाई भएको दुःख तथा असुविधाप्रति सरकारले माफी मागेर अगाडि बढ्नुपर्छ है भन्ने पाठ कहिले सिक्ने हुन्?

हरेका कुरामा राजनितिलाई हतियार बनाउदै जनतालाई भेडा बनाउने प्रवृतिले कहिलेसम्म शासन सत्ता चल्ने हो यो कुरा त उनिहरुलाई नै थाहा होला तर शासकले जनतालाई हेर्ने नजर भने परिर्वतन अझै नभएको स्पष्ट रुपमा विदेशी पाहुनाहरुको अगाडि देखाएको छ ।

कानुन भनेको जनताको आदेश पनि हो। जनतालाई स्वीकार्य नियमहरु नै कानुनका रुपमा राज्यले निर्माण गर्दछ। जनतालाई मान्य हुने नियम मात्रै समाजमा लागू हुन्छन्। तर, विगतमा चुनावमा भोगेको नमिठो हारले पार्टीको चुनावी घोषणा पत्र परिर्वतन गर्न खप्पीस सरकारले जनताको पिर मर्का हेरेर दुई पानाको निर्णय भने कहिले उल्टाउने हुन् ?

नेपालमा बेलाबेलामा भइरहने भीभीआईपी सवारीको बेला सुरक्षा अवस्था बलियो छ है भनेर देखाउन जनतालाई अपराधिको नजर परिर्वतन गर्न जरूरी छ।

किनभने फरियाको सर्कोले छोपेको लाज फरीया खुस्कीएपछि छताछुल्ल हुन्छ। फेरि उक्त लाज कहिले फर्काउन सकिदैन। हाम्रा नेता विदेशको भ्रमणमा जाँदा न कुनै सार्वजनिक विदा दिइन्छ नत लामो समयसम्म नै रोड खाली गरेर जनतालाई दुःख नै दिने गरिन्छ। उनिहरु हाम्रो देश सुरक्षित छ है भनेर देखाउन कुनै कसरत राख्दैनन्। तर, नेपाली शासनको बागडोर सम्हालेर बसेकाहरु भने विदेशीलाई मात्रै होइन हामीलाई समेत जनताबाट डर छ है भनेर देखाउन अग्रसर भएको देखिसकेको छ।

त्यसैले सरकारले यस्ता कमी कमजोरीहरुलाई बेलैमा सच्याउनुपर्न देखिन्छ। अन्यथा, जनताको मौलिक अधिकारलाई अवरोध पुर्‍याउने नियमलार्इ जनताबाटै तोडिन केही समय लाग्दैन।

प्रकाशित मिति: : 2019-10-13 08:26:27

प्रतिकृया दिनुहोस्