अस्ट्रेलियाको आमचुनावमा नेपालीमूलका प्रमेज पराजित

अस्ट्रेलियामा शनिबार सम्पन्न आमचुनावमा सत्तारूढ लिबरल पार्टी विजयी भए पनि त्यही पार्टीका तर्फबाट उम्मेद्वार बनेका प्रमेज श्रेष्ठ भने पराजित भएका छन्। 

नेपालीमूलका प्रमेज सिड्नीको बार्टोन निर्वाचन क्षेत्रमा लेबर उम्मेद्वार लिण्डा बर्नीसँग पराजित भएका हुन्। 

७०.९ प्रतिशत मतगणना गर्दा प्रमेजले ४०.८ प्रतिशत मत प्राप्त गरेका छन् भने लिण्डाले ५९.२ प्रतिशत मत प्राप्त गरेका छन्। 

लिण्डा यसअघि पनि यही क्षेत्रकी सांसद हुन्।उनले यो सिट सन् २०१६ को निर्वाचनमा लिबरल सांसद निक भर्भारिजलाई पराजित गरेर जितेकी थिइन्। उनी लेबरकी एक चर्चित नेतृ र अस्ट्रेलियाको संसदमा पहिलो आदिवासी महिला सांसद पनि हुन्। 

नवलपरासी थातथलो भएका प्रमेजले अष्ट्रेलियाको सत्तारू लिबरल पार्टीबाट संसदको उम्मेद्वार बन्ने पहिलो नेपालीको इतिहास बनाए। उनको लागि यो पहिलो प्रयास अनुभव मात्र भयो, जीतका लागि पर्याप्त भएन। 

यसै पनि यो सिट यसपटक लेबर पार्टीका लागि ८.३ को मार्जिनका साथ सुरक्षित मानिएको थियो। अर्कोतर्फ प्रमेज नयाँ थिए भने लिण्डा अनुभवी र चर्चित। 

प्रमेजका कारण सिड्नीको यो निर्वाचन क्षेत्रमा रहेका नेपालीमूलका मतदाताले पार्टीभन्दा माथि उठेर उनलाई मतदान गरेका थिए। यो क्षेत्रमा नेपालीमूलका मानिसको उल्लेख्य बसोबास रहेको छ। 

प्रकाशित मिति: : 2019-05-18 22:00:19

प्रतिकृया दिनुहोस्