‘भ्यालेन्टाइन डे’ विषेश

किन बिरोध ‘भ्यालेन्टाइन डे’ को?

हिजो (१३ फेब्रुअरी) सम्म युद्ध स्तरमा भ्यालेनटाइन खोज्ने र पायो भने आज (१४ फेब्रुअरी) मज्जाले ‘भ्यालेनटाइन डे’ मनाउने वा पाएन भने एका बिहानै सामाजिक सञ्जालमा ‘यो पर्ब हामो संस्कृतिमा छैन’ भनेर बिरोधमा ‘स्ट्याटस अपलोड’ गर्ने कथित सामाजिक अभियन्ता हाम्रो समाजमा धेरै छन्। उनीहरुको सामाजिक क्रान्ति गर्ने पसल पनि राम्रैसँग चलिरहेको छ। यो संसारमा धेरै पर्व र उत्सवहरु छन्, जो हाम्रो संस्कृतिभित्र पर्दैन र सायद हामीलाई जानकारी पनि छैन। पंक्तिकारले बुझ्न नसकेको कुरा यति बिघ्न बिरोध यो दिन अर्थात् प्रेम दिवसमाथि मात्र किन?

जहाँसम्म मेरो व्यक्तिगत कुरा छ। यो ‘भ्यालेन्टाइन डे’ भन्ने शब्द सबैभन्दा पहिले मैले सन् १९९४ मा भारतको गोवामा देखेको/सुनेको हो। आजकै दिन मान्छेहरु रातो गुलाफको फुल हातमा लिएर यताउति गरिरहेका थिए र पसलमा ठूला ठूला अक्षरमा ‘ह्याप्पी भ्यालेन्टाइन डे’ भनेर लेखेको तुल झुण्ड्याइएको थियो। त्यसपछि मैले आफूलाई इसाई संस्कृतिमा अभ्यस्त भएको र यस्ता डेहरु थुप्रै पटक मनाएको कुरा गर्ने एक मित्रसँग सोधेको थिए। उसले मलाई आजको दिन आफूसँग प्रेमिका छ भने उनीसँग दिन (मिल्यो भने रात पनि) बिताउने र छैन भने मन परेको महिला (आजकाल पुरुष पनि) लाई आफ्नो मनको बह पोख्न पाइने अर्ध जानकारी दिएका थिए। बाहिर जति गफ ठोके पनि आफूसँग प्रेमिका नभएको कारण यसो प्रयास गरेको, हिन्दी भाषामा जस्तो ‘हङ्गामा भयो र बाल बाल बचियो’। 

जानकारहरुका अनुसार यो दिन प्रेमी–प्रेमिका मात्र होइन, जसले आफूलाई स्नेह राख्छ, त्यो मान्छेलाई उपहार दिएर वा उसँग केहि समय बिताएर मनाउने प्रचलन छ। यद्यपि प्रेम गर्न किन एक दिन मात्र तोक्नुपर्यो? यो त बर्षै दिन र चौबिसै घण्टा गर्दा पनि हुन्छ भनेर कुतर्क गर्ने जमात पनि छन्। त्यस्ता ब्यक्तिलाई मेरो जवाफ निधारमा अबिर मुछेको चामलको रातो टिका लगाउन किन बिजयादशमी वा दशैं नै कुर्नुपर्यो, जहिले लगाए पनि भयो भन्ने छ। सबै दिन वा पर्वको कुनै न कुनै महिमा हुन्छ। यदि त्यो समाजमा नभएको र त्यो संस्कारको बारेमा जानकारी नभएको ब्यक्तिलाई त्यस्तो दिनको बारेमा कुनै मतलब नहुन सक्छ तर यो बिल्कुलै गलत हो भन्न सकिन्न।

यो कुरा सुनेर धेरैले बिरोध गर्लान् तर सत्य के हो भने यो दिनलाई हामी सिधै यौनसँग जोडेर हेर्छौ। त्यो नितान्त गलत र जानकारीको अभाव हो वा घटिया मानसिकता। अर्को धर्म वा समाजको पर्वको बारेमा यो त बिल्कुलै गलत हो भनेर कुनै पनि सभ्य व्यक्तिले भन्न मिल्ने कुरा होइन। यसको साथै मलाई यो पर्वको बारेमा कुनै जानकारी छैन र मलाई कुनै इच्छा लाग्दैन भनेर कसैले भन्छ भने त्यो उसको स्वतन्त्रताको कुरा हो। यसलाई सबैले सम्मान गर्नुपर्छ।



‘भ्यालेन्टाइन डे’ विशेष : बजारैभरी गुलाफै गुलाफ (फोटो फिचर) 



प्रस्तुत आलेखमा मैले ‘भ्यालेन्टाइन डे’ को बारेमा कुनै वकालत गर्न खोजेको होइन। म आफैलाई पनि यो दिन ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भनेको जस्तो छ। मेरो लागि यो पर्व इसाई धर्मालम्बीको लागी नाग पञ्चमी जतिकै फरक हो, जसको कुनै पनि किसिमको तुलना हुन् सक्दैन। जसलाई यो दिवसको दिन खुशी हुन्छ वा उमंग हुन्छ, उसले मज्जाले मनाउनु होला। जसलाई कुनै मतलब लाग्दैन, उसले नमनाउनु होला। तर पाखुरा सुर्केर यसको बिरोध वा समर्थन गर्नुको कुनै तुक छैन। यसको साथै यो पनि सत्य हो कि प्रेम जस्तो बिस्तृत र ब्यापक बिषयलाई कुनै सिमित घेराभित्र बाँध्न खोज्नु मुर्खता हो। यस्तो कार्य कसैले गर्न सक्दैन। प्रेम वा स्नेह जसले जोसँग पनि गर्न सक्छ। तर कसलाई प्रेम गरिन्छ, उसले मर्यादामा रहनु पर्छ। प्रेम दिवस मनाउने विचार गर्नु भएका सबैलाई मेरो तर्फबाट ‘ह्याप्पी भ्यालेन्टाइन डे’। 
 

प्रकाशित मिति: : 2021-02-14 07:12:00

प्रतिकृया दिनुहोस्