अस्ट्रेलियाको सिड्नीमा पानी संकट: जुन १ देखि पानी प्रयोगमाथि आंशिक प्रतिबन्ध

पानीको प्रयोगमागि आंशिक संकट भोग्दै सिड्नी । स्केच : ब्रेक एन लिंक्स
अस्ट्रेलियाको सिड्नीमा पानी प्रयोग गर्न आंशिक प्रतिबन्ध लागु गरिने भएको छ। सम्भावित पानीको अभावलाई ध्यानमा राखेर न्यु साउथ वेल्स सरकारले जुन १ शनिबारदेखि पानी प्रयोगसम्बन्धी पहिलो चरणको प्रतिबन्ध लागु गर्ने घोषणा गरेको हो। 
 
यो प्रतिबन्धअनुसार सिड्नीवासीले आफ्नो घर बाहिर ढलान गरिएका ठाउँ सफा गर्न, सवारीसाधन धुन र बगैँचामा बिहान १० बजे देखि साँझ ४ बजेसम्म पानी हाल्न पाउँने छैनन्। निजी स्विमिंग पूलमा पानी भर्न पनि अनुमति लिनुपर्ने हुन्छ। प्रतिबन्ध उलंघन गर्ने व्यक्तिले दुईसय डलर र व्यावसायले ५५० डलर सम्म जरिवाना तिर्नपर्छ। तर, पहिलो तीन महिनामा भने जानकारी नहुनसक्ने भएकाले जरिवाना माफ हुने प्रावधान छ। 
 
अहिले सिड्नीका पानी बचत गर्ने बाँधहरूमा बचत गरिएको पानीको मात्रा ५३.६ प्रतिशत रहेको छ। यसअघि यस्तो पानीको मात्रा ५० प्रतिशतभन्दा कमहुँदा मात्र यस किसिमको आंशिक प्रतिबन्ध लगाउने प्रचलन थियो तर, प्रिमियर ग्लाडिस बेरिजिक्लियनको सरकारले पानी प्रयोगमाथि नियन्त्रण गर्न अलि बढी पानी भएकै बेला आंशिक प्रतिबन्धको निर्णय लिएको हो।
 
सिड्नीम हुन सक्ने सम्भावित पानी संकटलाई ध्यानमा राखेर सामुद्रिक पानीबाट नुन निकाली पिउन योग्य बनाउने 'डिस्यालिनेशन' कारखाना सञ्चालनमा ल्याइसकिएको छ। 
 
सिड्नीबासीले पछिल्लो एक दशकयता पहिलोपटक पानीमाथि आंशिक प्रतिबन्ध भोग्नु परेको हो।

के प्रतिबन्ध बगैँचा र लनमा मात्र सीमित हुन्छ त?

सवारीसाधन, ढुंगा र भवनहरु धुन माथि रोक लगाइनुका साथै लन र बगैंचामा पानी हाल्न प्रयोग गरिने पाइपहरु चाहेको बेला बन्द गर्न मिल्ने अवस्थामा रहनु पर्दछ। 

साथै निजि स्विमिंग पूलमा पानी भर्न पनि अनुमति लिनुपर्ने नियम रहेको छ।

आंशिक प्रतिबन्धको नियम तोड्नेहरुले २२० डलर र व्यावसायहरुले ५५० डलर सम्म जरिवाना तिर्नपर्ने हुन सक्छ। तर मानिसहरुलाई उपयुक्त जानकारी रहेको निश्चित गर्न पहिलो तीन महिनामा भने जरिवाना माफ गरिने पनि राज्य सरकारको भनाइ छ। 

किन लागू हुँदैछ त यस्तो प्रतिबन्ध?

एक शब्दमा भन्नुपर्दा, खडेरी।

सिड्नी र आसपासका क्षेत्रहरूमा बस्नुहुन्छ भने फुङ्ग उडेका बोट बिरुवाका पातहरू, सुकेर खैरै भएका बाटा वरिपरिका घाँसहरू अनि ठुलो मात्रामा पानी नपरेका थुप्रै दिन भएको देख्नु भएकै होला।

“ग्रेटर सिड्नी”का अधिकांश हिस्साहरू लगायत न्यु साउथ वेल्स राज्यको धेरै भूभाग केही समयदेखि खडेरीको चपेटामा छ। 

खडेरीको मारमा पशुपालक किसानहरु पनि परेका छन्। (एएपी) 

अरू केही उपाय छैनन् त?

राज्य सरकारले पानी सङ्कटको पूर्वानुमान गरेरै केही समय अघि सिड्नीको “डिस्यालिनेशन” कारखाना चालु गरिसकेको अवस्था छ।

जनवरीमा पानी सञ्चय घट्दै ६० प्रतिशत पुग्दा उक्त “डिस्यालिनेशन” भनिने सामुद्रिक पानीबाट नुन निकाली पिउन योग्य बनाउने कर्नेलमा रहेको कारखाना प्रयोगमा ल्याएको थियो।

उक्त कारखाना अघिल्लो दशकमा पनि यस्तै व्याप्त खडेरीका कारण तात्कालिन लेबर राज्य सरकारले आफ्नो चुनावी घोषणा अनुरूप दुई अर्ब डलरको लागतमा निर्माण गरेको थियो।

प्रकाशित मिति: : 2019-05-31 02:48:24

प्रतिकृया दिनुहोस्