सिड्नीको मौसम चिसिएर रिसाउँदा ब्लु माउन्टेनमा हिउँको तन्ना

सिड्नीको चिसोले बनाएका तस्बिरहरू । तस्बिर : एजेन्सी

सिड्नीको तापमान एकाएक घटेर मौसम 'वाइल्ड' भएको छ। यहाँका नीला पहाडहरूमा हिउँदे झरी, चिसो सिरेटो र हिउँ खसिरहेको छ भने सिड्नी हार्वरको चिसो सामुद्रिक छालले तापमानको ग्राफ झारिरहेको छ।सिड्नीको आकास गजधम्म भएर रिसाएको छ। बादलका लम्साहरू क्षितिजसम्म फैलिएर आकाश र समुद्रलाई अंगालोमा कसिरहेका जस्ता देखिन्छन्।

सिड्नीमा मात्र हैन, न्यु साउथ वेल्सकै मौसम रिसाएको छ। मौसम विभागका अनुसार राज्यको दक्षिणी भागमा एकसय ३० किलोमिटर प्रतिघण्टाका दरले सिरेटो चलिरहेको छ । यसले मौसमलाई अरू कष्टमय बनाउने विभागका एक अधिकारी बताउँछन् ।

उनका अनुसार आज सिड्नीमा ६० मिलिमिटरसम्म पानी पर्न सक्नेछ । ब्लु माउन्टेन, सेन्टर टेबल्याण्ड्सजस्ता अल्पाइन क्षेत्रमा हिउँको सेतो तन्ना बिछ्याइसकिएकोले पानी हिउँजत्तिकै चिसो हुनेछ ।

उता, सिड्नी हार्वरमा पनि चिसो पानीका छालहरू बढिरहेका छन्। 'निकै जाडो छ । कुहिरो नजिक आइरहेको छ। चिसो छालको उचाइ पनि बढिरहेको छ । यसले गर्दा हार्बरको यात्रा असहज भएको छ । क्याप्टेन कुकका एक क्याप्टेन ब्राम पाण्डे भन्छन्- 'हार्वरमा सर्कुलर किबाट मेन्लीतर्फ जाने सबै जहाज अवरूद्ध भएका छन् । मैले पनि आफ्नो जहाज आधी बाटोसम्म लगेपछि फर्काउनु पर्यो ।' 

सिड्नी ट्रेनले प्रतिकुल मौसमका कारण आजको यात्रा असहज भए पनि अवरूद्ध नहुने पूर्वसूचना जारी गरेको छ । उसले भनेको छ- चिन्ता मान्नु पर्दैन हामि बातानुकुलित ट्रेन भित्र भने न्यानो पस्कने छौ ।

सिड्नीको पर्यटकीयस्थल ब्लु माउन्टेनतिरको आफ्नो अन्तिम स्टेशन कुटुम्बबाट सिड्नी ट्रेनले हिमपातको खबर पठाएको छ । ट्रेन ड्राइभरहरूले हरेक स्टेसनबाट त्यहाँको मोैसमको विवरण पठाइरहेका छन्। उनीहरूले पठाएको विवरणले पनि आजको ट्रेन यात्रा सहज नहुने देखिएको छ । सिड्नी ट्रेनका एक ड्राइभर भन्छन्- 'मौसम प्रतिकुल छ । यात्रा  असहज हुन सक्छ। तर, यसैलाई एड्भेञ्चर मान्नेहरूका लागि यो एक रमाइलो अवसर पनि हुन सक्छ ।'

यसैबीच सिड्नी ट्रेनले आफ्ना यात्रुहरुलाइ बर्षा वा हिमपातका बेला यात्रा गर्दा ध्यान दिनुपर्ने कुराहरुको सूची पनि जारी गरेको छ।उसले रमाइलो तरिकाले जारी गरेको सूचीमा भनेको छ- यात्रुलाई चिप्लनबाट जोगिन र छाताको प्रयोग गर्दा अर्को यात्रुलाई हानी हुन नदिन ध्यान पुर्याउनु।बाठो रेल सेवा भन्छ -'कसैलाई असर पर्नुभन्दा अलिकति भिज्नु राम्रो।'

 

 

प्रकाशित मिति: : 2019-06-04 06:08:27

प्रतिकृया दिनुहोस्