आइसीसी विश्वकप लिग– २

आसिफ शेखकाे शतकीय इनिङमा पपुवा न्युगिनीमाथि नेपालकाे जित

आइसीसी विश्वकप लिग– २ काे अन्तिम सिरिज अन्तर्गतकाे खेलमा नेपालले पपुवा न्युगिनीमाथि विजयी हासिल गरेकाे छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पपुवा न्युगिनी नेपालसँग ५२ रनले पराजित भएको हो।

नेपालले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएकाे पपुवा न्युगिनी ४७ ओभर १ बलमा अलआउट हुँदै २ सय ४५ रन मात्र बनाउन सक्यो। जितसँगै नेपालले ३३ खेलमा ३४ अङ्क जोडेको छ। नेपाल अङ्क तालिकाको पाँचौ स्थानमा छ। समान ३३ खेल खेलको पपुवा न्यूगिनी ९ अङ्कका साथ अङ्क तालिकाको अन्तिम स्थानमा छ।

नेपालका लागि ओपन आशिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ११० रनको साझेदारी गरे। खेलमा आशिफ शेखले सर्वाधिक ११० रन बनाए। कुल ११० बल खेलेका उनले दुई छक्का र १२ चौका प्रहार गरे। आशिफको यो पहिलो एक दिवसीय शतक हो । उनी एक दिवसीयमा खेलमा शतक प्रहार गर्ने नेपालका लागि पाँचौ खेलाडी बने।

यसअघि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले शतक प्रहार गरिसकेका छन्। शतकसँगै आशिफले एक दिवसीय खेलमा एक हजार रनसमेत पूरा गरेका छन्। एक हजार रन पूरा गर्ने उनी नेपालका उनी दोस्रो खेलाडी बने।

यसअअघि नेपालका रोहित पौडेलले एक दिवसीयमा एक हजार रन पूरा गरेका थिए। साथै नेपालका लागि ब्याटर कुशल भुर्तेलले ४५ रन, भिम सार्कीले ४४ रन, रोहित पौडेलले ३० रन बनाए। साथै आरिफ शेखले १५ रन, ज्ञानेन्द्र मल्लले ११ रन र दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछोनले सात र सोमपाल कामीले चार र कुशल मल्लले दुई रन बनाए।

बलिङतर्फ पपुवा न्यूगिनीका सेमो कमिया पाँच विकेट लिए भने राइली हेकुरेले तीन विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको पपुवा न्यूगिनीको सुरुवात राम्रो रह्यो। पहिलो विकेट ११ दशमलव दुई ओभरमा ७७ रनमा झरेको थियो। पपुवा न्यूगिनीका लागि नोर्मान भानुवाले सर्वाधिक ६० रन बनाए भने ओपनर टोनी उराले ५० रन बनाए। साथै असाद भालाले ४२, रिले हेकुरेले २० रनको योगदान गरे।

नेपालको जितमा सन्दीप लामिछानेले चार विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले दुई र कुशल मल्लले एक विकेट लिए। विभिन्न सात राष्ट्र सहभागी यस सिरिजमा नेपालले अब तीन खेल खेल्न बाँकी छ। पपुवा न्यूगिनीसँगको एक र युएईसँगको दुई खेलमा विजयी भए नेपालले शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेल्न पाउनेछ। लिगका सबै खेल खेलिसकेको स्कटल्यान्ड ५० अङ्काका साथ शीर्ष स्थानमा छ भने ओमान ४४ अंकसहित दोस्रो स्थानमा छ।

स्कटल्यान्ड र ओमानले जिम्बाब्बेमा आयोजना हुने विश्वकप छनोट खेल्ने पक्का भैसकेको छ। बाँकी एक स्थानका लागि नामिबिया, युएई र नेपाल प्रतिस्पर्धामा छन् । यी तीन टोलीमध्ये एक टोलीले विश्वकप छनोट खेल्न पाउनेछन्। नामिबिया ३६ खेलमा ३९ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ भने अमेरिका ३६ खेलमा ३५ अङ्कसहित चौथो स्थानमा छ। कुल ३२ खेल खेलेको युएइ ३१ अङ्कका साथ छैटौ स्थानमा छ । नेपालले जारी शृङखलाको आफनो दोस्रो खेल यही फागुन २८ गते युएईसँग खेल्नेछ।

प्रकाशित मिति: : 2023-03-09 16:37:00

प्रतिकृया दिनुहोस्