अस्ट्रेलियामा गोपाल र समीक्षाको निधन : घाइते छन्- सागर, संगीत र अश्विन !

यही कारमा सवार थिए- गोपाल, समीक्षा, सागर, संगीत र अश्विन ! तस्बिर : एबीसी

अस्ट्रेलियाको सिड्नीमा अध्ययनरत् दुई नेपाली विद्यार्थी समीक्षा सुवेदी र गोपाल भण्डारीको एक सडक दुर्घटनामा परी निधनभएको छ । स्नोइ माउन्टेनमा हिउँ खेल्न जाने क्रममा कोमाको मोनारो हाइवेमा भएको कार दुर्घटनामा उनीहरूको निधन भएको हो । 

कारमा रहेका पाँच नेपाली विद्यार्थीमध्ये सामान्य घाइते अश्विन कँडेलको स्थानीय कुमा अस्पतालमा उपचार भएको छ भने चालक सागर भट्टराई र संगीत देवकोटाको राजधानी क्यानवेरास्थित एक अस्पतालमा उपचार भैरहेको छ । कँडेल सामान्य घाइते भएका थिए भने भट्टराई र देवकोटा गम्भीर घाइते भएको बताइएको छ । तर, क्यानबेरास्थित नेपाली दूताबासका एक कर्मचारीले सागर बोल्ने अवस्थामा रहेको बताए । 

घटनामा सामान्य घाइते भएका कँडेलका अनुसार सिड्नीबाट शनिबार साँझपख १५ जना नेपाली विद्यार्थी तीनवटा कारमा स्नोइ माउन्टेनतिर लागेका थिए । उनीहरू उडन रिजर्भमा क्याम्पिङ गरेर बसे । त्यसमध्ये एउटा टोली रातको दुई बजेतिर नै उठेर स्नोइ माउन्टेनतिर लागेको थियो। उनीहरू चढेको कार तीव्र गतिका कारण बिहान तीन बजेतिर दुर्घटनामा पर्यो । कँडेलले भने- 'गाडी अगाडि कंगारुजस्तो चिज देखियो, उसलाई जोगाउँन गाडी छलाउदा छलाउदै पल्ट्यो। '

प्रहरीले तीब्र गतिमा भएको कार ६ बल्ड्याङ खाएको बताएको छ। एक अधिकृतले सानो विरूवामाथि चिप्लिएको कारमा पछाडिको सिटमा रहेकी युवती कारबाट उछिट्टिएर १५० मिटर पर पुगेको बताए । यसरी उछिट्टिएर मृत्यु भएकी २० वर्षीया समीक्षा सुवेदी भएको बताइएको छ । अर्का मृतक गोपाल भण्डारी अघिल्लो सिटमा रहेको प्रहरीले बताएको छ । 

अस्ट्रेलियामा सानै उमेरमा नेपाली विद्यार्थी आउँने र रमाइलो गर्ने बानीका कारण यस्ता खाले दुर्घटना हुने गरेको राजदूताबासका एक अधिकृतले बताए । यस्तै दुर्घटनाका कारण एसईई पास गरेकालाई नो अब्जेक्सन लेटर नदिने नीति सरकारले लिएको उनले बताए ।

प्रकाशित मिति: : 2019-07-29 03:06:16

प्रतिकृया दिनुहोस्