कुरीकुरी 'अस्ट्रेलियन' एनआरएन : तिमीहरूबाट के सिक्ने नेपालले ?

कुरीकुरी 'अस्ट्रेलियन' एनआरएन : तिमीहरूबाट के सिक्ने नेपालले ? एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स ।

एनआरएनको नवौ कुम्भमेलामा मातृभूमि नेपाल फर्केका एनआरएनले जे जस्ता हर्कतहरू देखाइरहेका छन्, त्यो देख्दा लाग्छ- 'एकपटकको नेपाली सधैंको नेपाली' भनेर उनीहरूले राखेको माग ठीकै रहेछ । यस्तै हर्कत देखाउने एक बहादुर हुन्- अस्ट्रेलियाका एनआरएन रमेशकुमार थापा । अध्यागमनको डेस्क तोडफोड गर्ने अस्ट्रेलियन नागरिक भैसकेका यी 'बहादुर' थापा प्रहरीको चिसो खोरमा पुगेर ५० हजार जरिवाना तिरेर छुटेका छन् । उनको नेतृत्वमा बहादुरी देखाउने अरू चारजनामध्ये एकजनालाई २० हजार र तीनजनालाई कागज गरेर छोडिएको छ ।

अध्यागमन विभागका अनुसार थापालगायतका अस्ट्रेलियाबाट आएको एनआरएनको पाँचजनाको समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्क तोडफोड गरे । उनीहरुले लाइनमा बस्नुपरेको भन्दै आक्रोश मात्र पोखेनन्, नेपाल र नेपालीलाई तथानाम गाली पनि गरे । उनले यसरी त कसरी हुन्छ ? अस्ट्रेलियामा त यस्तो हुदैन भन्दै पाठ पनि पठाए ।

त्यही हुलदंगाबाज अस्ट्रेलियन एनआरएनका नाइके थिए- रमेशकुमार थापा । उनले नै अस्ट्रेलियन पाइन देखाउँदै आफ्नो मातृभूमिको अध्यागमन डेस्कको सिसामा मुड्की बजारे र फुटाइ दिए । उनले अध्यागमन विभागका कर्मचारीमाथि अभद्र व्यवहार नै गरे ।

असार सकिएपछल गाेठमा खास खादै बसेर मंसिरमा छाडा छोडेको गोरुजस्तै गर्छन, बिदेश बस्ने नेपाली नेपाल पुगेपछि । हे नारान । अर्काको देशमा मुसोजस्तो हुने नेपाल गएर धाक धक्कु देखाउनेहरु हजुर ।
दिपेश गौतम - फेसबुक स्टाटस

अति भएपछि खति हुन्छ भनेझै उनको पनि खति भयो । एनआरएन कुम्भमा सहभागी हुन आफ्नो मातृभूमि फर्कदा प्रहरीको चिसो खोरमा बस्नु पर्यो । जरिवाना तिरेर छुट्नुपर्यो । कसैले पनि बहादुरी गरिस्, स्याबास भनेनन्, उल्टै एनआरएनको नाक काटिस्, अस्ट्रेलियाको बेइज्जत गरिस् भनेर गाली गरे । केही हुल्लडबाजले भने उनको पक्ष लिदै 'नेपालले देखायो दादागिरि पनि भनें' , त्यो बेग्लै कुरा हो । 

अध्यागमनका एक अधिकारी भन्छन्- 'हामीले रहरले यसो गरेका हैनौ, यो हाम्रो बाध्यता हो । उहाँले दादागिरि नै देखाउनु भयो । हामीले केही नगर्दा पनि नेपालमा त जे गर्दा पनि हुन्छ, जति हप्काउँदा पनि हुन्छ भन्ने गलत सन्देश जाने भयो । त्यसैले हामी उहाँमाथि कारबाही गर्न बाध्य भयौै ।' 

यो पनि हेर्नुहोला 

महरालाई तीन दिन हिरासतमा राख्न अदालतले दियो अनुमति


थापाको समुह आइतबार राति १२ बजेतिर क्याथे ड्रागन एयरलाइन्सको उडान केए १०४ बाट त्रिभुवन विमानस्थलमा ओर्लिएको थियो । चिनियाँ राष्ट्रपति सी चिनपिङको भ्रमणका कारण साँझ आउँने विमान राति आउँदा बेलुका अबेरसम्म अध्यागमनमा भिँडभाड थियो । 

थापा नेपालीमूलका अस्ट्रेलियन नागरिक भएकाले पर्यटक भिसामा नेपाल प्रवेश गर्न विदेशी पर्यटक सरह लाइनमा बसेका थिए । निःशुल्क भिसा पाउनेतर्फको लाइन खाली भएपछि उनी त्यहाँ गएर छिटो भिसा दिन दबाब दिएका थिए । तर, त्यही डेस्ककी एक महिला अधिकृतले सम्बन्धित डेस्कको लाइनमा बस्न आग्रह गरिन् ।

उनीहरुको यो शैली देख्दाचाहि कम्पारो तातेर आउँछ । सभ्य देशमा बसेर पनि किन सभ्यता सिक्न नसकेका होलान् ? उनीहरुनै नेपालबाट बाहिरिएपछि उल्टै शिष्टता, सभ्यता, भद्रता सबै पढाउन थाल्छन । यस्ताले पढाएको हामीले ध्यान दिएर पढिदिनु पर्ने कठै हाम्रो भाग्य !
तपेन्द्र कार्की- फेसबुक प्रतिक्रिया 

एक अध्यागमन अधिकारीका अनुसार त्यति नै बेला  निःशुल्क भिसा पाउँने एक भारतीय महिला त्यही डेस्क हुँदै बाहिरिइन् । यो स्वभाविक र नियामनुसार नै थियो । तर, त्यो देखेपछि थापाको पारो चढ्यो र डेस्कको सिसा फुटाएर ती महिला कर्मचारीमाथि नै अभद्र व्यवहार गर्न पुगे ।

त्यसपछि उनलाई पक्राउ गरेर प्रहरीको पाहुना बनाइएको थियो । यो एक अप्रत्यासित र अप्रिय घटना थियो । 

यस्तो खबर सुनेका एक नेपालीले नमिठो मान्दै प्रश्न गरे- 'जहाँ पुगे पनि नेपालीको मती उस्तै रहेछ, यस्तो भएपछि त हामीले के सिक्ने उनीहरूबाट ? अर्को एक नेपालीको प्रतिक्रिया थियो- एकपटकको नेपाली सधैंको नेपाली भनेर उनीहरूले राखेको माग ठीकै रहेछ । आखिर जहाँ गए पनि जुन देशको नागरिकता लिए पनि नानीदेखि लागेको गोर्खेबानी छोड्ने हैन रहेनछन् त ।'


उहाँहरूले लाइनमा नै नबसी पहिल्यै गर्दिनुपर्‍यो भन्ने खालको व्यवहार गर्नुहुन्छ। थुप्रै पटक मुख छाड्ने र दुर्व्यवहार समेत गर्ने गर्नुभएकाले हामी आजित भएका छौँ। हामीले नेपाली मूलका विदेशी नागरिकको व्यवहार पाच्य छैन भनेर मन्त्रालयको सचिव र अध्यागमन विभागका महानिर्देशकलाई पनि जानकारी गराएका छौँ।

- दीर्घनारायण पौडेल, प्रमुख अध्यागमन अधिकृत, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

निश्चित पनि यो समाचार कसैका लागि पनि प्रिय हैन । न घरदेशका नेपालीका लागि न परदेशका नेपालीका लागि । घरदेशका नेपालीलाई लाग्छ- 'परदेशमा गएका नेपालीले धेरै सिकेका छन्, जानकेा छन्, हामीले उनीहरूबाट सिक्नुपर्छ ।'

तर, जब यस्ता दृश्यहरू दोहोरिन्छन् उनीहरूको मनमा विभिन्न किसिमका कुराहरू खेल्छन् र उनीहरू निराश हुन्छन् । विदेशमा विनम्रता, सभ्यता सिक्छन् भन्ने ठानेका घरदेशका नेपाली जब परदेशका नेपालीबाट त्यस्तो नभएर मुड्कीबाजका रूपमा हर्कत देख्छन् - दु:ख त लाग्छ नै । 

यता परदेशमा रहेका नेपाली पनि एउटा विराउने शाखा पुर्याउने भनेर दु:खी हुन्छन् । यस्तो सोच्नु पनि अस्वभाविक हैन । गर्न त एकजना बहादुर थापाले गरे, यसबाट अस्ट्रेलियन एनआरएनको मानमर्दन भयो, सारा एनआरएनको मानमर्दन भयो । सन्देश त राम्रो गएन नि ।

प्रकाशित मिति: : 2019-10-15 23:09:13

प्रतिकृया दिनुहोस्