अमेरिकामा मारिने १२ जनाकै नाम सार्वजनिक: कारण पत्ता लगाउन अनुसन्धान जारी

अमेरिकाको भर्जिनिया बीच सिटी गोलीकाण्डका मृतकहरू । तस्बिर सौजन्य : सिटी अफ भर्जिनिया बीच।

अमेरिकाको भर्जिनियामा भएको गोलीकाण्डमा मारिएका १२ जनाकै सनाखत भएको छ।मारिएका ११ जना सिटी अफिसकै कर्मचारी रहेका छन् भने एकजना सिटी अफिससँगै सम्बन्धित कन्ट्याक्टर रहेको बताइएको छ।

मारिनेहरू सिटी कर्मचारीहरूमा तारा वेल्च गालाघेर, मेरी लुइस गेल, अलेक्जेण्डर मिखायल गुसेभ, क्याथराइन ए नक्सन, रायन केथ कक्स, जोसुआ ए हार्डी, मिसेदी मिस्सी लाङ्गर, लाकिता सी ब्राउन, रबर्ट बबी विलियम्स,रिचार्ड एच नेटेल्टन र क्रिस्टोफर केली र्याप रहेका छन्। यसैगरी मारिने कन्ट्रयाक्टर हर्वर्ट बर्ट स्नेलिङ भएको बताइएको छ। 

लामो दोहोरो फायरिङका बीच अन्तत: आक्रमणकारी ४० वर्षीय डेवाइनी कार्डवक पनि मारिएका थिए। उनी भर्जिनिया बीच म्युनिसिपलकै युटिलिटी विभागका सर्टिफाइड प्रोफेसनल इञ्जनियर थिए।

आक्रमणकारी पनि मारिएकाले यो आक्रमणको पछाडि के कराण रहेको थियो भन्ने पत्ता लगाउन सजिलो छैन। अनुसन्धान जारी रहे पनि अहिलेसम्म यसको कारण पत्ता लागेको छैन। 

घटना भएको भर्जिनिया बीच सिटी अमेरिकाको राजधानी वासिङ्टन डीसीसँगै रहेको भर्जिनिया राज्यमा पर्छ। यो राज्यकै सबैभन्दा बढी जनसंख्या भएको सहर हो। सहरकै म्युनिसिपल सेन्टरमा घटना भएको हो।

 

प्रकाशित मिति: : 2019-06-02 01:57:34

प्रतिकृया दिनुहोस्