मेक्सिको आप्रवासी प्रवाह रोक्न तयार : ट्रम्पद्वारा भन्सार बढाउने निर्णय फिर्ता

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मेक्सिकोबाट आयातित सामानमा सोमबारदेखि लगाउने करसम्बन्धी निर्णय फिर्ता लिएका छन् । 

राष्ट्रपति ट्रम्प आफैले  ट्विटमार्फत् यसको पुष्टी गरेका हुन् । उनले मेक्सिकोसँग एउटा सहमति भएकोले भन्सार शुल्क अनिश्चित कालका लागि स्थगित गरिएको जनाए ।

यसैगरी मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले पनि सहमति भएको ट्विटमार्फत नै पुष्टि गरेका छन्।

तीन दिनसम्म चलेको वार्तापछि दुई देश सहमतिमा पुगेका हुन्।

सहमतिअनुसार मेक्सिकोले सुरक्षा निकायलाई देशभरि तैनाथ गर्ने,  मेक्सिकोको दक्षिणी सीमामा छ हजार थप सुरक्षाकर्मी खटाउने, मानवतस्करहरूको गिरोहसँग जुझ्न “निर्णायक कदम” चाल्ने छ ।

अमेरिकाले शरणार्थीको मान्यता खोज्नेलाई मेक्सिको पठाउने कार्यक्रम विस्तार गर्ने, त्यसको बदलामा अमेरिकाले न्यायिक प्रक्रिया  द्रुतगतिमा अधि बढाउनका लागि कार्य गर्ने छ ।

सहमतिमा दुवै देशले सीमा सुरक्षाका विषयमा “द्विपक्षीय सहकार्य थप बलियो बनाउने” प्रतिबद्धता जनाएका छन्। जसअन्तर्गत सूचना आदानप्रदान गर्ने र समन्वयात्मक रूपमा काम कारबाही अघि बढाउने उल्लेख छ।

सहमतिपत्रमा छलफल जारी रहने र ९० दिनभित्र सहमतिका अन्तिम सर्त स्वीकार गरी घोषणा गरिने उल्लेख छ।

प्रकाशित मिति: : 2019-06-09 01:57:47

प्रतिकृया दिनुहोस्