अमेरिकामा दुईवर्ष बसेको पुष्टी नगर्ने आप्रवासीलाई तुरून्तै देशनिकाला !

अमेरिकामा आप्रवासीको स्वागत मात्र हैन, यसरी जा पनि भन्न थालिएको छ । तस्बिर : एजेन्सी

अमेरिकामा अप्रावासीलाई तत्कालै देशनिकाला गर्न सकिने प्रावधानको प्रक्रिया मंगलबारदेखि सुरू भएको छ । 

नया प्रक्रियाअनुसार अमेरिकामा निरन्तर दुई वर्ष बसेको पुष्टि गर्न नसक्ने आप्रवासीलाई तत्कालै उनीहरूको देशमा फर्काउन सकिने छ ।

सरकारले यो प्रक्रिया अदालतलाई छलेर ल्याएको हो । तर, सरकारले ल्याउन लागेको यो प्रावधानबिरूद्ध अदालतमा चुनौती दिने बताइएको छ।

यसअघि सीमाको एक सय ६० किलोमिटर आसपासको दुरीमा पक्राउ गरिएका र अमेरिकामा दुई हप्ताभन्दा कम बसोबास गरेका आप्रवासीको हकमा मात्रै लागु हुदैआएको थियो । 

अन्यत्र फेला परेका र दुई हप्ताभन्दा बढी अमेरिकामा बसिसकेका आप्रवासीबारे अदालती बाटोबाट निर्णय गर्नुपर्थ्यो र त्यस्ता व्यक्तिले वकिल राख्न पाउँथे। तर, जो जहाँ पक्राउ परेपनि वकिलसँग पहुँच नदिइकनै देशनिकाला गर्न सकिनेछ।

नयाँ नियमले हजारौको संख्यामा नेपालीसिहत लाखौं आप्रवासी प्रभावित हुने अनुमान गरिएको छ । यो नयाँ व्यवस्थाले  अमेरिकामा आप्रवासी समस्या अझ खराब बनाउने अधिकारकर्मीहरूले बताएका छन् ।

तर, डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले भने गैरकानूनी आप्रवासीलाई प्रभावकारी रूपमा नियन्त्रणमा लिन पछिल्लो व्यवस्थाले मद्दत गर्ने बताएको छ । उसले आप्रवासन सङ्कटसँग जुझ्न अहिलेको प्रतिक्रिया आवश्यक रहेको पनि जनाएको छ ।

आप्रवासनसम्बन्धी कठोर नीतिलाई राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० को पुनर्निर्वाचन अभियानको प्रमुख मुद्दा बनाएका छन् । उनी यही चुनावी मुद्दाको सहयोगले दोस्रो कार्यकाल चुनाव जित्न सकिने ठान्छन् र त्यसका लागि यो वा त्यो बाटो गरेर भए पनि आप्रवासीमाथि कडाइ गरिरहेका छन् । 

प्रकाशित मिति: : 2019-07-24 03:57:44

प्रतिकृया दिनुहोस्