राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते (भिडियोसहित)

Photo: RSS

सरकारले राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते गर्ने निर्णय गरेको छ।

मंसिर १३ गते बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहिबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि राष्ट्रियसभा सदस्यको निर्वाचन २०७६ माघ ९ गते बिहीबारका दिन गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको जानकारी दिए।

बैठकले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग र त्यसका पदाधिकारीको म्याद ६ महिनाका लागि थप गर्ने निर्णय गरेको छ। यस्तै, १९ जिल्लामा राजपत्रांकित प्रथम श्रेणी अधिकृतस्तरको प्रमुख जिल्ला अधिकारीको पद रहेकोमा राजपत्रांकित प्रथम श्रेणी (नेपाल प्रशासन सेवा) को पदपूर्ति भएको अवस्थामा सोही बमोजिम हुने गरी हाललाई द्वितिय श्रेणीका अधिकृत कर्मचारीलाई प्रजिअका रुपमा कामकाज गर्ने गरी तोक्ने निर्णय गरेको प्रवक्ता बास्कोटाले बताए।

बैठकले राष्ट्रसंघ सुरक्षा परिषद्को अस्थायी सदस्यमा नेपालले उम्मेदवारी दिने निर्णय गरेको छ। नेपाल अस्थायी सदस्यको उम्मेदवारी पेस गर्ने र यसका लागि सरकारले आजैदेखि समर्थन जुटाउने पहल सुरु गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको प्रवक्ता बास्कोटाले बताए।

पत्रकार सम्मेलनमा प्रवक्ता बास्कोटाले सीमा विवाद समाधान गर्न प्रधानमन्त्री ओलीले माधवकुमार नेपाललाई विशेषदूत बनाएर भारत भ्रमणमा पठाउने कुरा आफूले मिडियाबाट थाहा पाएको बताए। सीमा विवादबारे उनले नेपालको अडान कायमै रहेको धारणा पनि राखे।

विशेषदूत धेरै होहल्ला गर्ने कुरा नभएको भन्दै उनले जुन दिन बनाइन्छ, त्यहि दिन थाहा पाउने स्पष्ट पारे। बाँस्कोटाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा मेडल जितेका सबै खेलाडीलाई सरकारले समान रूपमा प्रोत्साहन गरेको बताए।

प्रकाशित मिति: : 2019-12-12 17:49:22

प्रतिकृया दिनुहोस्