....फेरि पनि 'रामकृष्ण'ले गाइरहनुपर्छ, गाइरहनेछन्

रामकृष्ण ढकाल: गाउँनकै लागि जन्मेको मान्छे

रामकृष्ण र नीलमको पारपाचुकेको खबरले स्तव्ध भएँ।असम्भव नभए पनि अप्रत्यासित थियो। सुरूमा त विश्वास नै लागेन। तर, जब सूचनाको प्राथमिक स्रोतमा पुगें। अमिलो मन लगाएर विश्वास गरें ।

एक मनले भन्यो, दुबैलाई फोन गरौं। तर, किन हो किन, हिम्मत नै गर्न सकिन। अर्को मनले भन्यो, अब जे भयो भयो, फोन गरेर पनि के हुन्छ र ? 

मनमनै दुबैको बाँकि जीवन राम्रो होस् भन्ने कामना गरें । अनि, छोरी रानीलाई सम्झें, उनको पनि उज्ज्वल भविष्यको कामना गरें। 

बाँकि जीवनलाई अगाडि बढाउन आवश्यक भएर नै उनीहरूले यसो गरेका होलान्, यद्यपि यो प्रिय हैन। यसै भनेर चित्त बुझाएँ।

रामकृष्ण, नीलम र मबीच गजबको साइनो छ- म रामकृष्णको पनि दाइ, नीलमको पनि दाइ । उनीहरूबीच केही हुँदा दुबैले फोन गर्ने दाइ थिएँ म। उनीहरूको विवाहको एक सेतू म; रामकृष्णको जन्ती पनि, निलमको जन्ती पर्सने माइती पनि। 

उनीहरूले बैवाहिक जीवन सुरू गरेपछि हामीले धेरै दिनहरू सँगै बिताएका छौं- दु:खका, सुखका। हामी पारिवारिक रूपमै नजिक थियौ। दशैंमा हामी (म र मेरी जीवनसाथी कुसुम) राम र नीलमलाई टीका लगाइ दिन्थ्यौं । अरू चाडबाड पनि सँगै मनाउँथ्यौं । 

समयक्रममा हाम्रा भेटघाटहरू पातलिए। तर, हामीबीचको आत्मीयतामा कुनै कमी आएको थिएन र छैन पनि। यस बीचमा रामकृष्णको व्यक्तिगत जीवनमा धेरै उतारचढाव आए। खासगरी आर्थिक रूपमा। उनले यसबीचमा धेरै घर फेरे। यही क्रममा जब उनी भैसेपाटी पुगे, त्यही घरले  उनलाई मुद्दामामिलामा मात्र पारेन, आर्थिक रूपमा तहसनहस पनि पार्यो।

जब घरमा भाँडा खालि हुन्छन्, बज्ने नै भए। यही बज्ने क्रममा राम र नीलमबीच ठाकठुक पनि बढ्दै गयो होला, यो अस्वभाविक पनि हैन । तर, जति बेला सोध्दा पनि राम मुस्कुराउँदै भन्थे, 'सब ठीक छ दाइ।'

उनको घरको विषयमा खासगरी लालीगुरासबाट एकपछि अर्को समाचार आउँदै जाँदा हामी दु:खी हुन्थ्यौ । र, सोध्थ्यौ पनि, 'के हुँदैछ राम? फेरि पनि उनी मुस्कुराउँदै भन्थे, 'सबै ठीक छ दाइ'।

अझै पनि म चाहन्छु, यो समाचार गलत होस् । यो मेरो प्रिय चाहना हो । तर, सबै प्रिय चाहना म कहाँ पूरा हुन्छन् र ?  म कामना गर्न सक्छु, मेरो भाइ राम र मेरी बहिनी नीलमले चाहे भने यो समाचार फेरि पनि गलत हुन सक्छ। यो संसारमा असम्भव केही छैन, यो पनि सम्भव होस् । 

यही बीचमा नेपालमा संगीत बजारको आयम नै फेरियो। त्यसपछि रामकृष्णले जीवन धान्न पनि विदेशको सांगीतिक यात्राको भर पनुर्पर्ने स्थिति आयो। यही क्रममा उनी धेरैपटक अमेरिका आउने जाने क्रम पनि बढेको थियो । उनी नीलमलाई लिएरै दुईपटक आए। मेरो दुर्भाग्य, म अमेरिका नै भएर पनि भेट्न सकिन।

शायद, यही क्रममा उनले घरपरिवारलाई धेरै समय दिन सकेनन् होला। त्यसबाट नीलममा एक किसिमको फरक भावना आयो पनि होला। आखिर मन नै त हो। 

यसले असमझदारी सिर्जना हुँदै जाँदा प्रकारान्तरमा उनीहरू एउटा अप्रिय निर्णयमा पुगेका हुन सक्छन् । मलाई यसमा दु:ख छ कि म जसको जन्ती गए, जसको जन्ती पर्से; उनीहरू यस्तो निर्णयमा पुग्दा पनि मैले केही गर्न सकिन। 

तर, जे हुनु भैगयो। अब उनीहरूको बाँकि जीवन खुशीसाथ बितोस्, सँगै हुँदा जेमा उनीहरू दु:खी थिए, त्यो अब नदोहोरियोस् - गर्ने त यही कामना रहेछ। 

घनघोर बादलभित्र पनि चाँदीको घेरा हुन्छ भनेजस्तै, उनीहरूको सम्बन्धविच्छेदमा पनि एउटा त्यस्तो चाँदीको घेरा भेटें। त्यो के भने उनीहरूले जे जसरी आफ्नो वैवाहिक जीवन सके, दुबैले राजीखुशीसाथ सके, छोरी रानीका लागि जिम्मेवार भएर सके।

रामकृष्णले सम्बन्धविच्छेपछि पनि नीलमसँगको तस्बिर राखेर लेखेका छन्- No matter what others say our bond never dies❤️❤️❤️

राम र नीलमको सम्बन्धविच्छेदलाई लिएर मूलधारका सञ्चारमाध्यममा समाचारका शीर्षक बनेका छन्, सामाजिक सञ्जाल तातेका छन्। यसो हुनु अस्वभाविक पनि हैन किनकि रामकृष्ण नेपालका सार्वजनिक व्यक्तित्व हुन् । र, सार्वजनिक व्यक्तित्वका निजी विषय पनि समाचार बन्न सक्छन् र बन्छन् पनि।

रामकृष्ण र नीलम अब श्रीमान् श्रीमतीका रूपमा अगाडि नबढ्ने निर्णयमा पुगे। भएको त्यही हो। यस्तो निर्णय अरूको जीवनमा पनि भएको छ; यस्तो निर्णय गर्ने उनीहरू पहिलो जोडी हैनन् । 

यो निर्णय दुबैको सहमतिमा भएको छ, त्यसैले यसको सम्मान गरिनु पर्छ । कसको गल्ती भनेर पक्षधरता लिएर आफैं न्यायाधीश हुन थालियो भने त्यसले हामीलाई असामाजिकतातिर धकेल्छ। 

रामकृष्ण पनि मानिस हुन्, उनको पनि व्यक्तिगत जीवन हुन्छ। व्यक्तिगत जीवनमा आरोह/अवरोह हुनसक्छ। यो घटना पनि त्यही क्रममा भएको एक अप्रिय घटनाका रूपमा लिनु नै श्रेयस्कर हुन्छ।  

रामकृष्ण नेपाली संगीतको इतिहासमा सुनौलो अक्षरले लेखिसकिएको नाम हो । उनले नेपाली संगीतको भण्डारलाई समृद्ध बनाउन पर्याप्त योगदान गरेका छन् । आफू अनेकौ प्रतिकुलतामा बाँचेर पनि उनले नेपाली संगीतलाई समृद्ध बनाउन जे गरेका छन्, त्यसको सम्मान हुनुपर्छ। 

रामकृष्ण नेपाली संगीतको इतिहासमा सुनौलो अक्षरले लेखिसकिएको नाम हो । उनले नेपाली संगीतको भण्डारलाई समृद्ध बनाउन पर्याप्त योगदान गरेका छन् । आफू अनेकौ प्रतिकुलतामा बाँचेर पनि उनले नेपाली संगीतलाई समृद्ध बनाउन जे गरेका छन्, त्यसको सम्मान हुनुपर्छ। 

रामकृष्णका बारेमा मैले धेरै अघि लेखेको थिएँ, 'रामकृष्ण मेरो भाइ हो- त्यसैले उसका बारेमा लेख्दा म पक्षधर पनि हुन सक्छु तर ऊ नेपाली सुगम संगीतको पछिल्लो बेञ्चमार्क हो। यति भन्नलाई चाँहि म कुनै आइतबार पर्खन्न।' 

फेरि पनि भन्छु, 'रामकृष्णले अनेकौ प्रतिकुलतामा बाँचेर पनि नेपाली संगीतलाई जे दिएका छन्, त्यसको उच्च सम्मान हुनुपर्छ।  यो घटना उनको जीवनमा प्रिय हैन, तर यसको घाउ पुर्दै फेरि पनि उनले गाउनु पर्छ। किनकि, रामकृष्ण गाउँनकै लागि जन्मेका हुन्।'

अझै पनि म चाहन्छु, यो समाचार गलत होस् । यो मेरो प्रिय चाहना हो । तर, सबै प्रिय चाहना म कहाँ पूरा हुन्छन् र ?  म कामना गर्न सक्छु, मेरो भाइ राम र मेरी बहिनी नीलमले चाहे भने यो समाचार फेरि पनि गलत हुन सक्छ। यो संसारमा असम्भव केही छैन, यो पनि सम्भव होस् । 

यही कामना गर्दै फेरि पनि भन्छु, रामकृष्ण गाउँनकै लागि जन्मेका हुन्। उनले गाइरहनु पर्छ। 

प्रकाशित मिति: : 2019-12-26 12:54:16

प्रतिकृया दिनुहोस्