स्मारिकालाई मैले जति माया कसले गर्छ होला? (भिडियोसहित)

जीवन बनिया

काठमाडौं

'एकान्तमा हुँदा कहिलेकाहिँ सोच्छु, विस्तारै उमेर ढल्कदैछ। छोरी स्मारिकालाई मैले जति माया कसले गर्छ होला?'

उनका यी वाक्यहरू दोहोरिएर मेरो मानसपटलमा आइरहन्छन्। तर यी कुरा सम्झिएर मलाई समय कटाउनु छैन। केही लेख्नु छ। कम्प्युटरको किबोर्डमा मेरा औंलाहरू दौडाउनु छ, खरेल परिवारको बारेमा केही लेख्नलाई।

पत्रकार सुमन खरेललाई भेट्न कान्तिपुर टिभीको कार्यालय गएँ। हाल उनी कान्तिपुर टिभीमा 'सुमनसँग' नामक कार्यक्रम सञ्चालन गर्छन्। संसारको पहिलो रेडियो बिबिसीका रिटायर पत्रकार हुन्, उनी। हाल ब्रिटिस सैनिक रेडियोमा समाचार सम्पादकको जिम्मेवारीमा समेत काम गरिरहेका छन्।

सञ्चार जगतमा विशिष्ट छबि बनाउन सफल खरेलसँग सम्बाद भयो। उनले 'सितु लण्डनबाट नेपाल फर्केपछि बाबुलाई भेट गराउछुँ' भनेर मलाई भनेका थिए।

'तपाईँहरु सुनिरहनु भएको छ, बिबिसी नेपाली सेवा, अब सुमन खरेलबाट समाचार सुन्नुहोस्'योआवाजसँग तपाईँहरू पनि परिचित हुनुहुन्छ भने मैले कुरा गरेका र भेटेका सुमन उनै हुन्। गायिका सितु उनकी श्रीमती हुन। एक सातापछि मैले फेरि उनीसँग सम्पर्क गरेँ। त्यसबेला गायिका सितु खरेल नेपाल फर्किसकेको जानकारी पाएँ। शनिबार १० बजे नयाँ बानेश्वरस्थित उनको घरमै भेट्ने कुरा भयो।

बिहान ९: १५ मा होष्टलबाट निस्केर खरेलको घरतिर लागेँ। उनले पुरानो शिव दर्शन हल नजिक पुगेर फोन गर्न भनेका थिए। सेतो छडीको सहाराले मानिसहरुको भीड छिचोल्दै हिँडिरहेको थिएँ।

मेरो मनमा छुट्टै उल्लास थियो। किनभने सानोमा सुनेको आवाजसँग फेरि साक्षात्कार हुँदै थियो। जुन आवाज निकै कर्णप्रिय लाग्थ्यो।

कर्णप्रिय आवाज भएका सुमन अनि सुमधुर स्वरकी धनी सितु खरेलसँग भेट्नलाई जाँदै थिए। तीन दशकभन्दा बढी सञ्चार क्षेत्रमा मुख्य भूमिकामा रहेका सुमन तथा उनकी श्रीमती सितु खरेलको घर आउन केही कदम मात्र बाँकी थियो। मैले शिव दर्शन हल नजिक पुगिसकेपछि उनलाई फोन गरेर भनेँ, 'सर म आइसके' उनले 'आउँदैछु बाबु' भने। त्यसको केही समयपछि हाम्रो भेट भयो।

'शब्द बिना रचिएकी,

संगीत बिना सजिएकी,

सँधै रमाई बस यो मनमा,

तिमी मेरी स्मारिका'

यो गीतकी गायिका हुन्, सितु खरेल। शब्द उनको हो। जसको कर्णप्रिय आवाज तपाईं बिबिसीमा सुन्नुहुन्थ्यो। अब तपाईं सुमनको अर्को परिचयसँगपनि नजिक हुँदै हुनुहुन्छ। सुमन पत्रकारमात्र होइनन् गीतकार पनि रहेछन्। सितुका कुरा त बाँकी नै छन्। केही समय धैर्य गर्नुस् है।

सितुको गीत सुन्नुभएको छ भने ठिक छ। सुन्नु भएको छैन भने सुन्ने कोशिस गर्नुहोला। उनले सात वटा एल्वम निकालिसकेकी छिन्।

'ओ मेरी स्मारिका...., तिम्रो आँखा मेरी प्यारी चन्द्रमा...., जिन्दगीलाई धेरै जोखेर हेर....,' जस्ता गीतहरु गाएकी उनी हाल लण्डनमा छोरी स्मारिका र छोरासँग बस्दै आएकी छिन्।

उनले लण्डनमा नेपाली विद्यार्थीलाई संगीत सिकाउने काम गरिरहेकी छिन् भने आफू पनि सिकिरहेकी छिन्। आखिर सिक्नु र सिकाउनु एक प्रक्रिया न हो। सितु त्यही गरिरहेकी छिन्। कतिपय सिकाउनेहरु घमण्डले फुलेका हुन्छन्। सिकाउनेहरु सिक्न रुचाउँदैनन्।

उनका प्रायः जसो गीतहरुमा करूण रसको प्रयोग भएको पाइन्छ। ११,१२ जनाको सङ्ख्यामा विद्यार्थीहरू घरमै सिक्न आउँछन्। उनी संगीत शिक्षा घरमै दिन्छिन्। 'छोरी स्मारिका घर मै हुन्छिन्। यसले रमाइलो हुन्छ,' उनले भनिन्।

काठमाडौंको डिल्लीबजारमा जन्मिएकी खरेललाई गीत संगीतमा लाग्न बाल्यकालले प्रेरित गर्‍यो। त्यसैबेला उनको घरको माहोल संगीतमय थियो। उनी भन्छिन्, 'बाबालाई संगीत मन पर्थ्यो। गुन्गुनाइरहनु हुन्थ्यो।'

काठमाडौंको पद्मकन्या स्कुलबाट २०३९ सालमा एसएलसी गरेकी उनले उच्चतहमा अर्थशास्त्र, गणित र म्युजिक अध्ययन गरेकी हुन्। 

२०४२ सालमा पत्रकार सुमन खरेलसँग वैवाहिक सम्बन्ध सुरु गरेकी थिइन्। त्यसबेला उनको पहिलो एल्वम सार्वननिक भएको थियो। बिहे हुनु र पहिलो एल्बम आउनु पनि उनको एक मिठो संयोग थियो।

उनकी छोरी स्मारिका रेडसेन्ट्रम्बाट प्रभावित छिन्। यो रोग संसारका दश पन्ध्र हजार छोरीहरू मध्ये एकाध छोरीहरुलाई मात्र लाग्छ। सितुले नेपाल–भारत लगायतका विभिन्न अस्पतालमा छोरीलाई चेक गराउन लगेकी थिइन्। तर, कहिँ कतै रोगको पहिचान हुन सकेन। खरेल फुर्सदको समयमा कहिलेकाहिँ प्रकृतिसँग प्रश्न गर्छिन्, 'कसैलाई नराम्रो नगरेका हामी माथि किन यति ठूलो बज्रपात?'

सुमन बिबिसीमा काम गर्न थालेपछि सितु पनि उनीसँगै लण्डन गइन्। त्यो समयमा उनलाई केही आशा थियो, छोरी निको हुन्छिन् कि भनेर। तर, अपेक्षा गरेजस्तो भएन। लण्डनको अस्पतालले स्मारिकालाई रेडसेन्ट्रम् भएको घोषणा गरिसकेपछि उनीहरुमाथि पहाड खसे जस्तै भयो।

तर, छोरीलाई कहिल्यै बोझको रुपमा लिइनन्। क्याम्पसबाट पूर्वीय शास्त्रमा आठ वर्षको कक्षा लिएकी उनी भन्छिन्, 'छोरी बोल्न, हिँड्न नसकेपनि आजभोलि उसको व्यवहार निकै फरक छ। स्मारिका सानोमा कोही नजिकै आएका पिट्ने गर्थि, सायद नजानेर होला। तर आजभोलि उसलाई त्यस्तो गर्दा मुखमा क्रिम लगाइदिएपछि फ्रेस भएको महसुस गर्छे। स्मारिकालाई धेरै मानिसहरु घरमा भएको मन पर्छ।'

उनी एकान्तमा भएको बेला, कहिले काहिँ सोच्ने गर्छिन्,  विस्तारै उमेर ढल्दैछ। 'यदि मलाई केही भयो भने मैले जति मेरी छोरीलाई कसले माया गर्ला? तर त्यहिँ कुरा सम्झिएर समय बर्बाद गर्नु छैन,' सीतुले भनिन्।

अपाङ्गता भएका बालबालिकाका अभिभावकलाई विकसित देशहरूमा पनि स्वीकार्न मानिसहरुले गाह्रो मान्ने उनले अनुभव संगालेकी छिन्। 'जुन समाजले हामीलाई सजिलै स्वीकार्छ, हामी त्यहीँ बस्नुपर्छ। कसैलाई जबर्जस्ती गर्नु हुँदैन,' उनी भन्छिन्, 'कुनैकुनै कुराहरु हामीले सकरात्मक रूपमा लिनुपर्छ। आमा बुबालाई आफ्नो सन्तानको माया लागिहाल्छ। तर, कहीँकतै गाउँघरमा अभिभावकहरुले हेरचाह गर्न नभ्याएर पनि अपाङ्गता भएका बालबालिकालाई कोठामा राखेको हुनसक्छ।'

उनी सकारात्मक सोचकी धनी छन्। यस्ता मनहरु सायद कतैकतै मात्र भेटिन्छन्। तर कतिपयले नियतबस गर्छन् जुन उनलाई साह्रै अस्वभाविक लाग्छ। उनी आफ्नो क्षमताले भ्याएसम्म केही अपाङ्गता भएका व्यक्तिहरुलाई आफ्नै कमाइबाट छात्रवृत्ति दिएर पढाइरहेकी छिन्। 

नवज्योतिलगायत केही संघसंस्थामा सहयोग गर्दै आएका सुमन र सितुलाई हाम्रो तर्फबाट शुभकामना।

प्रकाशित मिति: : 2019-12-28 04:24:34

प्रतिकृया दिनुहोस्