उनले शुक्रबार राती एउटा भिडियो पोस्ट गरेर आफू पाकिस्तानी हिन्दु भएकाेमा गर्व लागेकाे बताए।
पाकिस्तानका पूर्व लेग स्पिनर दानिश कनेरियाले आफ्नो विषयमा शोएब अख्तरले दिएको बयानको समर्थन गरेका छन्।
उनले शुक्रबार राती एउटा भिडियो पोस्ट गरेर आफू पाकिस्तानी हिन्दु भएकाेमा गर्व लागेकाे बताए।
शोएबले केही दिनअघि मात्र हिन्दु भएका कारण दानिशलाई पाकिस्तानी टिमबाट खेल्न निकै अफ्ठेरो भएको र उनीसँग धेरै अन्याय भएको बताएका थिए। दानिशले भिडियोमा नमस्कार, सलाम र जय श्रीराम भन्दै आफ्नो भनाई राखेका छन्।
उनले भिडियोमा भनेका छन्, ‘तपाईहरू सबैलाई थाहा भएको विषय हो, शोएब अख्तरले मेरो विषयलाई लिएर हालै एउटा वक्तब्य दिएका थिए। जुन भाइरल भयो। मिडिया अब मलाई सोधिरहेको छ। धेरै जनाको म्यासेज पनि आयो। मलाई सोधिदैंछ, शोएबले जुन बयान दिए, त्यसको विषयमा केही भन्न चाहनु हुन्छ?’
उनले भनेका छन्, ‘मलाई यति मात्र भन्नु छ, मैले माथिल्लो दर्जामा पुगेर पाकिस्तानबाट प्रतिनिधित्व गर्ने अवसर पाए।
आफ्नो देशलाई विजय दिलाए। म र सोएबले थुप्रै पल्ट सँगै बलिङ गरेका छौं र पाकिस्तानलाई जित पनि दिलाएका छौं।
शोएबसँग यस्तो कुनै घटना भएको हुनुपर्छ, जसका कारण उनले ममाथि अन्याय भएको महसुस गरेका होलान। राष्ट्रिय टेलिभिजनमा आएर शोएबले त्यसै यस्तो कुरा गरेका पक्कै होइनन्।’
दानिशले आफ्नो ध्यान क्रिकेटमा मात्र केन्द्रित भएको हुनाले अरु कुरालाई मतलब नगरेको बताए।
‘ढाड पछाडि थुप्रै कुरा हुन्थ्यो। मैले पनि महसुस गरेको थिए। तर, लामो समयपछि शोएबले यो कुरा उप्काएका छन्। यसको पछाडि पक्कै पनि केही अर्थ हुनुपर्छ,’ उनले भने, ‘शोएबले त्यो खेलाडीको नाम सार्वजनिक गरोस् भन्ने म चाहन्छु, जसले मेरोविरूद्ध गलत कुरा गरेका थिए।’
दानिशले खेलका कारण इन्जमाम उल–हक, युनिस खान, शोएब अख्तर र मोहम्मद युसुफले आफ्नो समर्थन गर्ने गरेको पनि बताए।