पहिलो प्रेम

लक्ष्मण पौड्याल

मोगाउँ शाखा म्यान्मार
तस्बिरः बिएल नेपाली सेवा

पुस महिना थियो। ज्यादै जाडो भएकोले म आगोको नजिक बसेको थिएँ। शरीर चिसो थियो। आकाशबाट झरेका शीतका थोप्लाहरु सिधै मेरो शीरमा खस्थे। त्यसैले होला आगाको नजिकै बसेर पनि मेरो देह तात्न सकेको थिएन।

जुरूक्क उठेर व्यायाम गर्दै नदि किनारतिर लागेँ। बिहानको हुस्सुले नदिको पानीसमेत देख्न नसकिने भएको थियो। पारीबाट कसैले आवाज दिइराखेको थियो।

म यता छु!

मलाई त्यो आवाज कतै सुने जस्तो लाग्यो। त्यसपछि त्यो आवाजलाई भेट्न मन लाग्यो तर कसरी त्यहाँ जाने सोच्न थालेँ।

केही अमलमल भइरहेको मलाई 'पत्थर खोज्दा देउता मिले' जस्तै भयो। नदिमा डुंगा फेला पर्‍यो। त्यसपछि डुंगा चढेर नदि तरेँ।

त्यो परिचित आवाज एक कुनामा बसेर रूदै थिइन्। त्यो देखेर मेरा पनि आँखा रसाए। आफूलाई समाल्लै कारण खोज्न थाले।

'को हौ तिमी? यहाँ के गरिरहेको?', मैले प्रश्न गरेँ।

'मलाई दुई अपराधीले यहाँ ल्याएर छोडिदिए,'उनले रूदै भन्न थालिन्। उनका कुरा सुन्दै जाँदा मलाई दया लाग्यो। आफूले लगाएको कोट खोलेर उनलाई दिएँ। केही बेरपछि उनी रून छोडिन्। सायद दुःख बाँढेर हल्का भयो होला।

सूर्यको किरण पृथ्वीमा टल्किसकेको थियो। नदिमा बहेको पानी देखिन थालेको थियो। अनि मैले डुंगाबाट उनलाई पारिसम्म पुऱ्याएँ। उनी भन्छिन्, 'कहाँ लानु भएको मलाई।'

मेरो घरमा।

जान्छौ हैन र ?

जान्छु नि!

केही बेरपछि हामी दुई घर पुग्यौं।

उनी नुहाउँछु भन्न थालिन्।

मैले उनलाई इनार देखाइदिएँ। अनि दिदीलाई भनेर लुगा दिन लगाएँ। ती लुगाले उनी स्वर्गकी अप्सरा भन्दा पनि सुन्दर देखिएकी थिइन्।

उनी अघिल्लो दिनबाटै भोकै भएको हुँदा हतार हतार गरेर आमालाई भात दिन भने। भान्सामा आमाको र उनको धेरै बेरसम्म कुराकानी भयो। म भने बहिनीलाई स्कुल पुर्‍याउन गएँ।

घर आइपुग्दा उनी बगैँचाका फूलहरूमा पानी हाल्दै थिइन्। भोक लागेकाले म सरासर भान्सातर्फ लागेँ। 'छोरा ती नानीसँग तेरो विवाह गर्दिन पाए हुन्थ्या,' आमा भात पस्किँदै भन्नु भयो।

म केही बेर मौन बसेँ। केहीबेर सोचेर आमालाई भने, 'किन र आमा ?'

'उनको स्वभाव साह्रै राम्रो छ। मान्छे पनि राम्री छिन्,' आमाले भन्नुभयो।

'आमा विवाह गर्नलाई मेरो उमेर भएको छैन। किन आत्तिनु हुन्छ? समय आएपछि म आफैँ भन्छु नि! फेरि उनको बारेमा केही थाहा छैन, थर/गोत्र नाम केही पनि थाहा छैन,' मैले थप स्पष्ट पारेँ।

'मैले सोधिसकेँ छोरा,' आमाले जवाफ दिनुभयो।

आमाका कुरा सुनेर म चकित भएँ।

'तर उनी मसँग विवाह गर्न मानिनन् भनें नि आमा,' मैले भने।

'त्यो पनि मैले सोधिसकेँ छोरा। उनले हुन्छ भनेकी छिन्,' आमाको कुराले मलाई खस्राङ्ग पार्‍यो।

'अझै के के गर्छु भनेर सोचेको छु। तपाईँले विवाह विवाह भन्दै मेरो टाउको खाइ सक्नुभयो,' आमासँग झर्किएँ।

आमाले मुसुक्क हाँस्दै भन्नुभयो, 'हैन तलाई अझै के गर्छु जस्तो लाग्छ र!, चुप लागेर विवाह गर अनि हामीलाई पनि आनन्द हुन्छ।'

आमाले नै यसो भनेपछि मेरो के लाग्छ र, म आमाको कुनै पनि कुरा काट्न सक्दिन थिएँ। 'हुन्छ त्यसो भए भन्दै त्यहाँबाट बाहिरिएँ।

भोलिपल्ट उनलाई आमाले उप्काएको कुरा भन्दै सोधेँ, 'के तिमी मसँग विवाह गर्न तयार भएको हो त?,' उनले मुस्कुराउँदै भनिन्, 'तपाईको विचार के छ? म त तयार छु।'

'तिमीलाई मेरो व्यवहार केही थाहा छैन। कसरी मसँग विवाह गर्न राजी भयौ?,' उनले भनिन्, 'तपाईँको आमाले सबै बताउनुभयो।'

आमा शब्द कति प्रिय। मेरो सबै आनिबानी ख्याल गरेर आमाले मेरो बारेमा उनलाई बताउनुभएछ। उनले पनि आमालाई सुनेर मसँग बिहे गर्न तयार हुँदै थिइन्।

मलाई त उनको नाम पनि थाहा थिएन।

'अनि तिम्रो नाम? के हो?,' मेरो प्रश्न भुइँमा खस्न नपाउँदै उनले भनिन्- रेखा।

'वाउ! 'कतै मेरो भविष्यको रेखा बनाउन त आएकी हैनौ नि?'

'किन, त्यस्तो लाग्छ र?', उनले साउती स्वरमा भनिन्।

'लक्षण हेर्दा त्यस्तै देख्छु त, उनी पनि के कम,' जवाफ फर्काइहालिन्, 'त्यो त तपाईँको सोच हो।'

'म त यस्तै सोच्ने मान्छे हुँ नि!'

'नडराउनु म परिवर्तन गरिदिन्छु त्यो सोचलाई,' उनले चुनौति दिइन्।

'हेरौँला म पनि,' मैले थपिदिएँ।

जति जति हामी गफिँदै जान्छौं। सम्वाद बाक्लिदै थियो। यसले हामीलाई प्रेमिल बनाउँदै लगेको थियो।

बिहानको नौ बज्न लागेको थियो। म बहिनीलाई स्कुल पुऱ्याउन हिडेँ।

फर्केर आउँदा बजारको कुनामा लडाइँ चलिरहेको थियो। म त्यतातिर नहेरि सरासर घर लागेँ। हिजोको जस्तै आज पनि रेखाले बगैँचामा पानी हाल्दै थिइन्।

म आएको देखेर बाटो रोक्न लागिन्। म रोकिएँ । उनी मेरो नजिक आइन् र भनिन्, 'आज हामी बजार घुम्न जाउँ न है,' उनले जिज्ञासु शैलीमा भनिन्।

मैलै 'हुँदैन' भने।

उताबाट आमाले 'जान हो जा,' भन्नुभयो।

आमाको कुरा नकार्नै सकिनँ, 'हुन्छ' भने।

हामी बजार गयौं।

उनले सबै बजार नै किन्छु जस्तो गर्न थालिन्। मेरो खल्तीमा पैसा जम्मा बीस हजार थियो। नपुगेको बाँकी गरेर ल्याइन्।

उता घरमा आमाले पण्डित बाजेलाई बोलाइसक्नु भएको रहेछ। बाजेलाई राम्रो "लगनको" खोजी गर्न लगाउनुभयो।

लगन पनि जुर्‍यो- माघ पाँच गते।

उता दिदीले फोनबाट सारीको बन्दोबस्त गर्न थाली। मलाई लाग्यो अब चैँ विहे हुने निश्चय नै भयो। के के जाती गर्दै गर्दा माघ ४ गते भयो।

घरमा पाहुना आउन थाले। वरिपरिकाले विवाहको मण्डप बनाउन लागे।

भोलिपल्ट मेरो विहे छ। अरू पुरूष विवाह गर्दा खुसी हुन्छन्। तर, म दु:खी थिए।

खास उत्साह बढेको थिएन। खै किन हो शरीर गलेको जस्तो लागिरहेको थियो। झमक्क साँझ पर्नासाथ परिवारका सदस्यहरू नाँचगानसहितको उत्सव मनाइरहेका थिए।

यता आफूलाई पीर परिरहेको छ। रातभरि घडी हेर्दै बसेँ। उज्यालो भयो। दिदी आएर मलाई बोलाउन थाली। म उठेर दैलो खोलेँ। मलाई आफ्नो खोपीमा बोलाई। अनि प्रत्येक आभूषणले झलमल्ल बनाइ।

आमाले नयाँ कोट लिएर आउनुभयो। अब म बेहुला बनेर तयार भएँ। आमाले मण्डपमा गएर बस्न लगाउनुभयो। म पनि लुरूलुरू गएँ।

मेरो पछिपछि रेखा पनि आइपुगिन्।

रेखालाई झिलिमिली सारीमा देख्दा मेरो मन परिवर्तन भयो। मेरो उत्साह बढेजस्तो भयो। मुहारबाट मुस्कान फुस्कियो।

सुरूमा मैले विवाहको विषयमा केही सोचेको थिइनँ। तर, पनि रेखासँगको निकटताले मन परिवर्तन भयो। साँच्चै यो मन विचित्र हुन्छ भन्ने सुनेको थिएँ। आज आफैं भोगिरहेको थिएँ। रेखा पनि मुस्कुराउँदै मेरो नजिक आएर बसिन्।

उनको शरीरबाट सुगन्धको रसिलो स्वाद आइरहेको थियो। मलाई हतार भएको थियो विवाह गर्न। 'पण्डितबाजे' आइ पुगे। उनले मन्त्र पढ्नै लाग्दा 'एकछिन पर्ख' भन्दै एक अपरिचित व्यक्ति आइपुगे।

रेखाको अनुहार एकाएक कालो निलो भयो। उनी डराइन्।

म उठेर ती मान्छेलाई सोधेँ, 'को हुनुहुन्छ हजुर?' उनले भने, 'म रेखाको दाइ हो।'

उसले आफ्नी बहिनीलाई समातेर मेरो नजिकैबाट लगे। म यसकङ्गो दाजु हो यसलाई जे गर्नुपर्छ म गर्छु भन्दै त्यहाँबाट लागे। रेखा पनि मलाई हेर्दै आखाँबाट आँसु झारेर दाजुसँगै गइन्।

म घरको छाँगाबाट खसे जस्तो भएँ। कल्पनै नगरको घटना मेरो अगाडि घटिरहेको थियो।

आएका पाहुनाहरु पनि फर्कन थाले। वातावरण एकाएक परिवर्तन भयो। माहोल पुरै परिवर्तित भयो।

कतिले कानेखुसी गरे। कतिले मुख फोरेरै भने, 'कस्तो पापी मान्छे रहेछ, अर्काकी छोरीलाई चोरेर पो विवाह गर्न खोजेको रहेछ।'

यता म बेचैन भएँ। आफूले आफैलाई सम्हाल्न सकिनँ। मलाई अब बाच्नै बेकार जस्तो लाग्यो। आत्महत्या गर्ने अवस्थामा पुगेँ।

तर, आमाले मलाई राम्रोसँग सम्झाउनुभयो, 'हार नमान् छोरा यो तिम्रो जीवनका एक संयोग हो। सब ठिक हुन्छ।'

तर मन कहाँ मान्छ र? पहिलो प्यार नै बिफल भएपछि। मन सम्हाल्न सकेको थिएन। म दिन प्रतिदिन रेखाको यादमा पागल जस्तो बन्न थालेँ।

समाजले पनि मलाई पागल भन्दै सम्बोधन गर्न थाल्यो। म आज पनि त्यही पागल बनेर रेखाको पर्खाइमा छु। केवल उनी आउने बाटो हेरेर पर्खि बसेको छु।

प्रकाशित मिति: : 2020-01-01 10:45:01

प्रतिकृया दिनुहोस्