राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या समाधानका लागि समिति गठन गर्न सरकारलाई निर्देशन

संघीय संसद अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राष्ट्रिय गौरवका आयोजनामा देखिएका नीतिगत तथा प्राविधिक समस्या समाधानका लागि उच्चस्तरीय निर्देशक समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ।  

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाहरूबारे छलफल गर्दै आयोजनामा देखिएका नीतिगत तथा प्राविधिक समस्या समाधानका लागि उच्चस्तरीय निर्देशक समिति गठन गर्न सरकारलाई निर्देशन दिएको हो।

त्यस्तै बैठकले राष्ट्रिय गौरवका आयोजना सञ्चालनका क्रममा अन्तरमन्त्रालय, निकाय तथा अन्य आयोजनाहरू समेतका बीचमा समन्वयका लागि सरकारलाई निर्देशन दिएको छ भने निर्धारित समयसीमाभित्र राष्ट्रिय गौरवका आयोजना पूरा गर्न उच्च प्राथमिकता दिन निर्देशन दिइएको समिति सभापति दिलकुमारी रावल पार्वतीले जानकारी दिए। समितिले यसअघि पनि राष्ट्रिय गौरवका आयोजनाका सम्बन्धमा पटक–पटक छलफल गरी सरकारलाई विभिन्न निर्देशन दिँदै आएको छ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ, मन्त्रालयका सचिव देवेन्द्र कार्की तथा सडक विभागका महानिर्देशक केशवकुमार शर्मा लगाएतले बिभिँन्न आयोजनामा भइरहेको प्रगतीका बारेमा जानकारी गराएका थिए।  

प्रकाशित मिति: : 2020-01-04 10:27:58

प्रतिकृया दिनुहोस्