आवरण पृष्ठका लागि... 

आजभन्दा १३/१४ वर्षअघि गुवाहाटीका तर अहिले सिलगढीवासी भएका लेखक मुक्ति गौतम बरालसँग नेपालका एकजना पत्रकार शिलांग आएका थिए।

मुक्ति गौतमबाट मलाई थाहा भएको पत्रकारको नाम पेशाल पोखरेल। पेशाल पोखरेलसँग गोर्खा पाठशाला शिलांगमा भेट भएको बेला नेपालमा प्रचण्ड टोलीको आन्दोलन चलिरहेको थियो । त्यो आन्दोलनले धर्मनिरपेक्षता चाहन्थ्यो। जुन मलाई मन परेको थिएन। यसले नेपालमा नेपालीहरूबीच धर्मको नाममा अनेकता ल्याउनेछ र नेपालीहरूबीच आपसमा अमेल हुनेछ, जो आज नेपालमा भइरहेको छ। जसको प्रमाण फेसबुक खोले थाहा भइहाल्छ।

यसैगरी नेपालमा कोही क्रिश्चियन हुँ भन्छन्, कोही हिन्दू हुँ त कोही मंगोल हुँ भन्छन्। बस मुसलमान हुँ भन्न मात्र बाँकी छ। यसै कारण यी भन्नेहरूबीच फेसबुकमा आरोप-प्रत्यारोपको अश्लील शब्दवाण भएको र कुटाकुट भएको दृश्य देख्न पाइन्छ| यी नै कुरा भविष्यमा नेपालमा हुन्छ कि भन्ने  ध्यानमा राख्दै र त्यसबेला मैले पेशाल पोखरेललाई भनेँ प्रचण्डले चलाएको आन्दोलनले नेपाल टुक्ऱ्याउने सम्भावना छ भनेर।

अर्को कुरा के थियो भने नेपालमा राजतन्त्र सकिएर प्रजातन्त्र आएपछि कतिपय समुदायलाई अञ्चल दिने कुराको पनि उठान माओवादीहरूले गरेका थिए । अथवा भन्नु पऱ्यो प्रचण्ड र उनका साथीहरूले गरेका थिए। मैले यसै विषयलाई पेशाल पोखरेलसँग कुरा गरेर भनेँ यसले नेपाल विखण्डित हुनेछ। ममा यस्तो सोचाइ किन आएको थियो भने माओवादीहरूले नेपालमा आन्दोलन चलाइरहेको बेला असम विखण्डित हुने संक्रमण कालको मार्गमा हिँडिरहेको थियो कारण त्यसबेला असममा अल्फा चलायमान थियो। असममा भएका कतिपय जनजातिहरूले आफ्ना पृथक राज्यको माग गरिरहेका थिए।

यस्तो सम्भावना नेपालमा हुने देखेर नै मैले पोखरेलसँग कुरा चलाएको थिएँ भन्दा यहाँ अतिरञ्जनाको कुरा नहोला। माओवादीहरू आफूले चलाएको आन्दोलनमा  सफल भएर राजतन्त्र सकिएपछि नेपालमा मधेसील्याण्ड, मगरातल्याण्ड, लिम्बूवानल्याण्ड र अझ केके ल्याण्डको माग भएको कुरा विश्वलाई थाहा छ। मैले  पोखरेलसँग कुरा गर्दा उल्लेखित ल्याण्डको माग भएको त  थिएन तर हुन्छ कि भन्ने सम्भावना व्यक्त गर्दा उनलाई लाग्यो होला भारतमा बसेर नेपालको कुरा विक्रमलाई के थाहा छ?

यसैकारण उनले मलाई हठातमा सोधे 'तपाईंले नेपाललाई कतिको माया गर्नुहुन्छ?' मैले उनलाई आफ्नो घरमा ल्याएर नेपाललाई कतिको माया गर्छु  भन्ने प्रमाण देखाइ दिएँ। उनी प्रमाण देखेर अवाक भए,छक्क परे। त्यो प्रमाण थियो मैले चित्रांकित गरेको काठमाडौं, नेपालस्थित पशुपतिनाथ मन्दिरको तैलचित्र।

यही तैलचित्रलाई लिएर हिजो  काठमाडौंबाट स्वामी एकार्थनन्द महाराजले मोबाइल फोनमा मसँग सम्पर्क स्थापित गरे। फेसबुक प्रेमी सबैलाई जानकारी दिऊँ नेपालमा रामकृष्ण मिशनको एक मात्र शाखा काठमाडौंमा छ। यो रामकृष्ण मिशनका अध्यक्ष स्वामी एकार्थनन्द महाराज हुन्।

उनले मसँग मोबाइल फोनमा सम्पर्क स्थापित गरेपछि जानकारी दिए रामकृष्ण मिशन ,काठमाडौंले स्वामी विवेकानन्दको अमृतवाणी जो हिन्दीमा पुस्तकको रूपमा छ, यो पुस्तक नेपालीमा अनूदित भएर प्रकाशनको पथमा अग्रसर गराउँदैछ यसकारण स्वामी विवेकानन्दको चित्रसँग पशुपतिनाथ मन्दिरको तैलचित्र उल्लेखित पुस्तकको आवरण पृष्ठमा सजाउने।

मबाट सजाउने अनुमति माग्न भनेर नै मोबाइल फोनमा मसँग सम्पर्क गरेका हुन् भनेर उनले अझ थप जानकारी दिए। यसरी पनि हुँदो रहेछ मोबाइल फोनमा सम्पर्क --'आवरण पृष्ठका लागि... आवरण पृष्ठका लागि'....
 

प्रकाशित मिति: : 2020-01-10 00:49:00

प्रतिकृया दिनुहोस्