मृत्यु  एक इन्च नजिक आइपुगेको त्यो क्षण

त्यसो त, जीवन र मृत्यु एउटै सिक्काका दुई पाटा हुन् र त्यसैले यीनमा एकको पराजयमै अर्काे अघि बढ्छ। जीवन अघि बढिरहँदा मृत्युले सधै पछ्याइरहेको हुन्छ। बाटो हिड्दा होस्, वा गाडी चढ्दा, घरमै बसीरहँदा होस् वा कतै घुम्न जाँदा जुनसुकै बेला मृत्युले जीवनलाई भेट्न र पराजित गर्न सक्छ। अथवा भनौ, जिवनलाई मृत्युले भेट्न नसकेर मात्र हामी बाँचिरहेका हौं। हरदम लखेटिरहेको मृत्युले भेटेको दिन जिवन समाप्त हुनु अनिवार्य छ। 

तर, गत माघ महिनाको त्यो दिन भने माथिको दार्शनिक व्याख्या जस्तो मात्र स्थिति थिएन। मृत्यु मेरो झण्डै एक इन्च नजिक आइपुगेको थियो। मेरो अन्तरचेतले शरिरलाई तत्क्षण आवश्यक सक्रिय पार्न नलगाएको भए मृत्युले मलाई भेटने थियो र यो संसारमा म नरहेको अहिले झण्डै एक वर्ष पुगेको हुनेथियो। जुनसुकै अवस्थामा जीवनको चाह गर्ने प्राणीलाई मृत्युको भय कति हुनेरहेछ भन्ने मैले त्यो बेला र अहिले पनि महशुस गरिरहेको छु। बेला बेला दिमाग र मनमा आइरहने त्यो क्षणलाई म सकेसम्म पन्छाउने प्रयास गर्छु। तर, मेरो प्रयासका बावजूद कयौं बेला त्यो क्षण सम्झना बनेर आइहाल्छ अनि, त्यही अत्यासलाग्दो क्षणमा मलाई पुर्याइदिन्छ। 

घटनाको विवरण यस्तो छ, — म सिन्धुली भीमानमा रहेको घरमा काठमाडौंमा व्यवसाय गरिरहेका त्यहीँका बासिन्दा जंग खड्कासँग एक दिन अघि पुगेको थिएँ। म भीमान पुगेका थाहा पाएका तीन पाटन गाउँपालिकाको छरछरेका जनप्रतिनिधी गोबिन्द खड्काले त्यो दिन खान र बस्नेगरी आफ्नो घर आउन भनेका थिए। भीमानबाट छरछरे १५ किलोमिटर दुरीमा छ। ५ किलोमिटर तेर्साे र झण्डै १० किलोमिटर उकालो। त्यहाँ सधैं चल्ने जीप रिजर्भ लिएर अन्तै गएको रहेछ। त्यसैले, दिउँसो ३ बजे जाने बस पर्खिने निधो गर्यौं। 

शुक्रबारको दिन, भीमानमा साप्ताहिक हाटबजार लाग्ने भएकाले वरिपरी गाउँका मानिस अरु दिनभन्दा बढि नै आउँछन्। ३ बजे बस चढ्न म, जंग र धनुषा जिल्लासँग सीमा जोडिएको सिन्धुलीको चुरे बजारमा होटल चलाइरहेका टेकबहादुर थापा भीमान चोक पुग्दा बसमा हामीले अनुमान गरेभन्दा बढि नै यात्रु चढिसकेका रहेछन्। चोकमा प्रहरीले छतमा चढ्न नदिने हुँदा बसभित्र खुट्टासमेत छिराउन नसकिने भीड रहेछ। त्यो हेरेर टोलाइरहेको बेला खलाँसीले कमला नदी पुगेपछि भित्र रहेका आधी मानिस छतमा चढ्ने हुँदा तल उभिन सकिने ठाउँ पाइने बताए। भिडमा त्यसरी च्यापिएर जाने कि नजाने भन्ने अन्यौलमा रहेको मलाई जंगले कमलाको बगरसम्म गएर हेरौं न त भनेपछि जाउँ न भन्ने लाग्यो र अहिले गाउँघरमा लोभलाग्दो यातायातको सुविधा पुर्याइरहेको ट्याम्पो चढेर त्यता लाग्यौं। चोकबाट झण्डै एक किलोमिटर पनि टाढा नरहेको कमला बगर हामी केही मिनेटमा पुगिहाल्यौं र झरेर बस पर्खिन थाल्यौं। 

दश मिनेटपछि छतभरी मानिस लिएर दायाँबायाँ ढल्कदै बस आउँदै गरेको देखियो। नजिक आइपुग्दा त छतमा त्यत्रा मानिस चढ्दा पनि भित्र खुट्टा अटाउने ठाउँ अझै बनेको रहेनछ। अवस्था देखेर छक्क परिरहेको बेला उही खलाशी र छतमा रहेका अरुले केही पर दोभान पुगेपछि बस खाली हुने तथा भित्र वा छत जता चढे पनि ठाउँ पाइने भन्न थाले। उता, छरछरेमा आउने वचन दिइसकिएको छ, यता चढ्नुपर्ने बसको हालत त्यस्तो छ—के गरौं भन्ने दोमन भइरहेको बेला जंगले फेरी जाउँ दाई भनेपछि जाने भइयो र अगाडीको ढोकानजिकको भर्याङ चढेर छत पुगियो। 

छतको देब्रे छेउमा दुवै खुट्टा तल झारेर बस्ने ठाउँ पाइयो। हामी तीन जनामा सबैभन्दा अघि टेकबहादुर, त्यसपछि जंग अनि म त्यसैगरी बस्यौं। मेरो देब्रेतिर सायद विदेशबाट भर्खरै आएको भाई हुनुपर्छ, कानमा इयरफोन लगाएर फोनमा काठमाडौंमा रहेकी कुनै केटीसँग कुरा गर्दै थियो। बसको निकै पछि बीचमा खाली रहेको भागमा उभिएर बियरको बोटल हातमा लिएको एउटा मानिस गीत गाउँदै हल्लिदै थियो। अरु मानिस हामी जसरी नै अब यात्रा अघि बढ्ने भयो भन्ने खुसीमा आफूबीच कुरा गर्दैथिए। 

बगरमा बनेको ट्रयाकमा अब बस बिस्तारै गुढ्न थाल्यो। बगरमा थुप्रै ट्रयाक थिए र तीनैमध्येबाट पानी फिजारिएको ठाउँमा पुग्ने ट्रयाक हुँदै गाडीले खोला तथ्र्याे। निकै धिमा गतिमा गुडिरहेको बस हामी चढेपछि दुई सय मिटर पनि अघि बढेको थिएन, खलाँशीले रोक्नु रोक्नु भन्दै ढोकामा जोडजोडले हातले हान्न थाल्यो। आफ्नै सुरमा पारी कतै हेरिरहेको मलाई उसले आत्तिएर कराउँदा र लगातार ढोकामा हानिरहँदा कुनै दुर्घटना हुनलागेको संकेत स्वभाविकरुपमा दियो। तर, धिमा गतिमा गुडिरहेको बसमा के हुँदैछ भन्ने पटक्कै अनुमान भएन। खलाशीको त्यत्रो हल्लाखल्लाका बावजूद ड्राइभरले बस रोकेन, उही गतिमा अघि बढिरह्यो। 

केही क्षणपछि नै अगाडी बस्ने केहीले बिजुली तार तार भनेको सुनियो। कानले त्यो सुनेपछि आखाँ उता घुमाउँदा बिजुलीको तार आफूतिर आउँदै गरेको देखिइहाल्यो। दिमागले के गर्ने, नगर्ने निर्णय गर्नै भ्याएन। शायद त्यस्तो अवस्थामा कुनै निर्णय गर्न दिमागलाई सम्भव हुन्न। यस विषयमा जान्नेहरुले बताउँलान्, अन्तरचेतनाले त्यस्तो बेलामा निर्णय गर्छ र उसको निर्देशनलाई शरिरले तत्काल कार्यान्वयन गर्छ। अथवा भनौं, दिमागले नै निर्णय गरेर शरिरलाई निर्देशन दिन्छ, जुन हामीले त्यसको गति धेरै छिटो भएकाले सबै प्रक्रिया महशुस गर्न सक्दैनौं। 

त्यो बेला पनि त्यस्तै केही भयो, मेरो टाउको र शरिर अकस्मात उत्तानोतिर ढल्कियो। मेरो आँखाले देखिरहेको छ, बिजुलीको तार मेरो नाकको डाँडीबाट झण्डै एक इन्च माथिबाट पछि सरिरहेको छ। बस गुडिरहेकाले तार पछि सरिरहे जस्तो लाग्ने यो प्रक्रिया एक सेकेण्डलाई दश भाग लगाउँदा झण्डै एक भाग समयमा सकियो। त्यसपछि मेरो शरिरले सायद तल हामफाल्न निर्देश पायो, तल हेर्दैनहेरी हामफाँले। भुईमा पुगेपछि थाहा भयो, खुट्टा टेक्न नभ्याएर म लडेछु। तत्काल उठें, मानिसहरु धमाधम माथीबाट हामफालीरहेछन्।   

मैले केही होस् नपाउँदै केही मानिसहरु तान तान भन्दै कराउन थाले। बसतिर ध्यान दिएर हेर्दा दुई जना मानिस तारमा झुण्डिएका रहेछन्, त्यसबीच बस रोकिएकाले उनीहरुको शरिरको माथ्लो भागमा तारले छोएको थियो भने अर्काे भाग बसको छतले अड्याएको थियो। केही क्षणमा उनीहरुलाई तल झारियो। दुवै बेहोस र शरिर करेण्टले डढेको अवस्थामा थिए। झण्डै एक हजार घरलाई विजुली वितरण गर्न कमला पारी लगिएको बिजुलीको नाङ्गो तार थियो, त्यो।  अनि, ती तारमा झुण्डिएकाचाहिँ एक जना मेरै देब्रे छेउमा बसेर एयरफोन लगाई फोनमा कुरा गरिरहेका युवा थिए भने अर्काे बियर हातमा लिएर उभिएर नाँच्दै गाउँदै गरिरहेका मानिस। उनीहरु अरु नै तिर मस्त भएकाले बिजुलीको नाङ्गो तारले बसलाई छुँदैगरेको हल्लाखल्ला सुन्न नसकेर त्यस्तो अवस्थामा पुगेका थिए। 

त्यसपछि केही बसको ड्राइभरलाई कुटपिट गर्न सुरिएर उसको सीटतिर लागे। जे हुनु भइसकेको थियो, ड्राइभरलाई कुटेर हुने केही थिएन। त्यसैले, सबैभन्दा पहिले म पनि त्यतै लागें र ड्राइभरलाई कुट्न होइन, घाइते बचाउनतिर लाग्नुपर्छ भनेर सम्झाएँ। अनि, मोबाइलबाट वडा अध्यक्ष देवराज पौडेललाई फोन गरेर छोटकरीमा विवरण खुलाएँ। उहाँले तत्काल प्रहरी र एम्बुलेन्सलाई खबर गरिदिएकाले पाँचदेखि सात मिनेटबीचमा दुवै आइपुगे। ती दुई घाइतेलाई एम्बुलेन्स चडाएर पठाइयो भने ड्राइभरलाई प्रहरीले लग्यो। 

त्यत्रो ठूलो दुर्घटना हुनुको खास कारण के रहेछ भने, बस त्यहाँ नियमित चल्ने भएपनि ड्राइभर नयाँ रहेछ र बगरका अनेक ट्रयाकमध्ये कताबाट लैजानुपर्छ भन्ने उसलाई थाहा रहेनछ। खलाँशीले पनि उसलाई सही ट्रयाक बताउन बिर्सिएछ। र, ठूलो दुर्घटनाबाट झण्डै ८० जना यात्रु बँच्नुको मुख्य कारणचाहिँ कुनै ठूलो प्राणीले छुनासाथ लाइन काटिने बिजुली प्रणाली त्यहाँ रहेछ। त्यसैले, उनीहरु दुई जनालाई तारले छुनासाथ बिजुली लाइन आफैं काटिएछ। त्यस्तो प्रणाली हुदैनथ्यो भने, हामी सबै बिजुलीले डढ्ने थियौं। 

एम्बुलेन्सले घाइते लागिसकेपछि हामी त्यहाँ एकै छिन नबसी भीमान चोकतिर लाग्यौं। केही बेर हिडेपछि मात्र थाहा भयो, मेरो पाइण्ट र ज्याकेट च्यातिएको रहेछ। पाइण्ट बगरमा बजारिदा र ज्याकेट माथिबाट झर्दा दरालिएर च्यातिएको हुनुपर्छ। जंगचाहिँ दाँत मक्कियो भन्दै थिए, तारबाट बँच्न उनी घोप्टो पर्दा सायद ढाडमा थोरै छोयो कि, त्यसको अशर हुनुपर्छ भन्ने हाम्रो शंका रह्यो। टेकबहादुरलाई चाहिँ केही भएको थिएन। 

घटना थाहा पाएर दौडिएका मानिसहरु बाटोमा धेरै भेटियो, सोध्नेलाई संक्षिप्त उत्तर दिँदै हामी हिड्यौं। चोक आइपुग्नासाथ सबैलाई विवरण दिएर आफूलाई अरु पीडा दिनुभन्दा कतै एकान्त जाउँ भन्ने लागेर टेम्पोमा चढ्यौं र टेकबहादुरको चुरेमा रहेको होटल पुग्यौं। त्यहाँ पुगेपछि मेरो दुवै घुँडा ताछिएको र देब्रेतिरको कम्मरमुनि पछाडी हड्डी ठोक्किएको थाहा भयो। जंगकोचाहिँ दाँतको सानो टुक्रा झरेको रहेछ। 

मृत्यु वास्तविकता भएपनि मानिसका सबै प्रयत्न त्यसबाट छुटकारा पाउन केन्द्रित रहने भएकाले हामी निकै आत्तिएका थियौं। किनभने, वास्तवमै मृत्यु हाम्रो एक इन्च नजिक आइपगेको थियो। त्यहाँ आएपछि थाहा भयो, ती दुई घाइतेलाई सिन्धुलीमा उपचार हुन नसक्ने भनिएपछि काठमाडौं लगिसकिएको थियो। थोरै हेलचेक्र्याई वा ढिलाईले हाम्रो अवस्था पनि त्यही हुनसक्थ्यो भन्ने सोचेर हामी अरु आत्तियौं। अर्काेतिर, धन्न वाँचियो भन्ने भन्ने छँदैथियो। जुन सोचले मनलाई केही आनन्दित बनायो। केही घण्टापछि हाम्रो सोच झण्डै मृत्युले भेटेको अत्यासभन्दा बाँचेको खुसीतर्फ लाग्न थाल्यो। नजिकै आएको मृत्युबाट बँच्न सकेकोमा त्यो बेलुका हामी बसेको कोठामा अरु कहिल्यैभन्दा बढि चियर्सको आवाज घन्कियो। 

प्रकाशित मिति: : 2020-01-13 02:32:03

प्रतिकृया दिनुहोस्